अर्जेन्टिनाका समर्थकले गुमाए लाखौं डलर
कतार विश्वकपमा पहिलो पटक मैदानमा उत्रेको अर्जेन्टिनाले साउदी अरबसँग पराजय बेहोरेपछि मोटो रकमको बाजी लगाएका एक अस्ट्रेलियाली समर्थकले नराम्रो घाटा बेहोरेका छन्।
बेलायतको डेलीमेलमा प्रकाशित समाचार अनुसार, अस्ट्रेलियाका ती समर्थकले अर्जेन्टिनाको पक्षमा एक लाख ६० हजार डलर बाजी लगाएका थिए। यदि उनले बाजी जितेका भए एक लाख ८० हजार ८०० डलर फिर्ता पाउने थिए। तर, त्यसो हुन पाएन, किनभने अर्जेन्टिना दोस्रो हाफमा दुई गोलले पछाडि पर्यो र हार बेहोर्न पुग्यो।
अर्का समर्थक जसले अर्जेन्टिनाले साउदी अरबलाई जित्छ भनेर बाजी लगाएका थिए, तिनले पनि एक लाख डलर गुमाएका छन्।
अस्ट्रेलियामा खेलका पक्ष–विपक्षमा बाजी लगाउन पाइने कानूनी व्यवस्था छ। त्यहाँ यस सम्बन्धी कारोबार गर्ने कम्पनीहरू सरकारको कानूनी दायराभित्र रहेका हुन्छन्।
दक्षिण अमेरिकी फूटबलको उपाधि जितेको अर्जेन्टिनाका स्टार खेलाडी लियोनेल मेसीको यो अन्तिम विश्वकप हुनेछ। आफ्नो अन्तिम विश्वकप प्रतियोगितामा सहभागी भइरहेका विश्व चर्चित खेलाडी मेसी उपाधि जित्न व्याकुल छन्। तर, आजको खेल परिणामले उनलाई निराश बनाएको छ।
दुई पटक विश्वकपको उपाधि जितेको अर्जेन्टिनाले नकआउट चरणमा पुग्न आफ्नो समूहमा रहेका मेक्सिको, पोल्यान्ड र साउदी अरबसँग भिड्नुपर्ने थियो। आज साउदीसँगको प्रतिस्पर्धालाई सबैभन्दा सजिलो मानिएको थियो।