एनसेलका नयाँ तीन प्रिपेड योजना
एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकका लागि नयाँ प्रिपेड योजना सञ्चालनमा ल्याएको छ।
यसअन्तर्गत सजिलो, सहयात्री र सही यो प्लान गरी तीन वटा योजना ल्याएको हो। ग्राहकले सजिलोका लागि ९७ रुपैयाँ, सहयात्रीका लागि ९८ रुपैयाँ र सही यो प्लान ९९ रुपैयाँमा खरीद गर्न सक्नेछन्। यी प्याक मंसीर ४ गतेदेखि सञ्चालनमा आएका छन्।
सिम कार्ड खरीद गर्दा ग्राहकले स्वचालित रूपमा सजिलो प्लान प्राप्त गर्छन्। यसमा रु. १० मेन ब्यालेन्स, ६० एमबी डेटा, ४० मिनेट अन नेट कल र सात दिनको समयसीमा रहेको २० वटा अन नेट एसएमएस रहेको हुन्छ। यो प्याक लिने ग्राहकले अन नेट भ्वाइस कल अन्तर्गत कर सहित रु.१.६२ प्रति मिनेटमा कल र कुनै पनि नेटवर्कमा एसएमएस कर बाहेक रु.१ मा पठाउन सक्छन्।
वैदेशिक रोजगारीमा जाने योजनामा रहेका व्यक्ति तथा परिवारका सदस्यका लागि सहयात्री योजना रहेको छ। यो योजना अन्तर्गत ग्राहकले रु.१० मेन ब्यालेन्स, १०० एमबी डेटा, सात दिनको समयसीमा रहेको १० वटा अन नेट एसएमएस प्राप्त गर्न सक्छन्। यसका साथै सहयात्री प्लान लिने ग्राहकले भारतमा पहिलो तीन मिनेटको कलपछि १० प्रतिशत छुटमा कल गर्ने सुविधा प्राप्त गर्छन्।
युवा वर्गलाई लक्षित सही यो प्लान अन्तर्गत ग्राहकले इन्स्टाग्राम प्रयोग गर्न ३० दिन समयसीमा रहेको १ जीबी डेटा, १० मिनेट मेन ब्यालेन्स, १०० एमबी डेटा, १० मिनेट अन नेट कल र सात दिनको समयसीमा रहेको १० वटा अन नेट एसएमएस प्राप्त गर्न सक्छन्।
यी सबै प्याकमा पहिलो रिचार्ज अफर पनि रहेको छ। यो योजना अन्तर्गत सिम कार्ड सुचारु भएको अर्को दिनको मध्यरातिसम्म रु.२०० र सोभन्दा माथि रिचार्ज गर्ने ग्राहकले रिचार्जमा १० प्रतिशत बोनस प्राप्त गर्न सक्छन्। बोनस रकम ३ दिनका लागि मान्य रहन्छ।