चितवन-२ मा कृष्णभक्त पोखरेलको अग्रता, रवि लामिछाने तेस्रोमा
चितवन-२ मा नेकपा (एमाले)का उम्मेदवार कृष्णभक्त पोखरेलले अग्रता लिइरहेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने तेस्रोमा छन्।
मंगलबार मध्याह्न १२ बजेसम्मको मतगणना अनुसार, एमाले उम्मेदवार पोखरेलले तीन हजार ६२३ मत पाएका छन्। उनलाई नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले पछ्याइरहेका छन्। श्रेष्ठले तीन हजार २१६ मत पाएका छन्।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तेस्रोमा छन्। उनले दुई हजार ९७८ मत पाएका छन्।
अहिलेसम्म चितवन-२ मा पर्ने इच्छाकामना गाउँपालिकाको मतगणना सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। यो गाउँपालिकामा खसेको १० हजार ४६८ मत गणना भएको छ।
चितवनका प्रमुख बजार, सदरमुकाम तथा पहाडी भूभागसम्म पर्ने यो क्षेत्रमा इच्छाकामना गाउँपालिकासँगै कालिका नगरपालिका र भरतपुर महानगरका वडा नंं १, २, ३, ४, ५, ७, १०, ११, १२ र २९ यो क्षेत्रमा पर्छन्।
अब कालिका नगरपालिका र भरतपुर महानगर क्षेत्रको मतगणना हुनेछ। स्थानीय निर्वाचनमा कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकामा एमालेले जितेको थियो भने भरतपुर महानगरमा माओवादीले जितेको थियो।