दाङका तीनै क्षेत्रमा सत्ता गठबन्धन अगाडि, पछि पछि एमाले
दाङका तीनवटै निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवारहरूले अग्रता कायम गरेका छन्।
क्षेत्र नं १ मा सत्तारूढ नेपाली नेकपा (एकीकृत समाजवादी)का सचिव मेटमणि चौधरी शुरुआती अवस्थादेखि नै अगाडि छन्। कुल पाँच हजार ७८२ मत गणना हुँदा शहरी विकास मन्त्री समेत रहेका चौधरीले दुई हजार २४० मत प्राप्त गरेका छन्। उनलाई नेकपा (एमाले)की शान्ता चौधरीले एक हजार ४५९ मत सहित पछ्याइरहेकी छन्। त्यसै गरी राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठकले एक हजार १८५ र नागरिक उन्मुक्ति पार्टीका सुरेन्द्र चौधरीले ४९० मत प्राप्त गरेका छन्।
क्षेत्र नं २ मा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा (माओवादी केन्द्र)की रेखा शर्माले एमालेका उम्मेदवार शंकर पोखरेललाई फराकिलो मतले पछाडि पार्दै अग्रता कायम गरेकी छन्। कुल १६ हजार २९ मत गणना गर्दा शर्माले ६ हजार ५६० मत र एमाले महासचिव समेत रहेका पोखरेलले पाँच हजार २०८ मत ल्याएका छन्। त्यस्तै‚ राष्ट्रिय स्वतन्त्र पार्टीका विशाल अधिकारी दुई हजार ५६८ मत ल्याएर तेस्रो स्थानमा छन्।
त्यस्तै‚ क्षेत्र नं ३ मा सत्तारूढ गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका दीपक गिरीले दुई हजार ८८८ मत ल्याएर अग्रता कायम गरेका छन्। गिरीलाई एमालेकी कोमल वलीले दुई हजार ३२५ मत ल्याएर पछ्याइरहेकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदी एक हजार १५५ मत ल्याएर तेस्रो स्थानमा छन्।