मधेशका मन्त्रीहरूकै अवस्था नाजुक
प्रदेश सभा निर्वाचनमा उम्मेदवार रहेका मधेश प्रदेशका बहालवाला मन्त्रीहरूको अवस्था नाजुक देखिएको छ।
मतगणना भइरहँदा जनता समाजवादी पार्टी (जसपा)बाट प्रदेश सरकारका मन्त्री रहेका उनीहरूले प्रतिस्पर्धी उम्मेदवारभन्दा कम मत ल्याइरहेका छन्।
सप्तरी-३ (क)मा जसपाबाट उम्मेदवार रहेका मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्र साह जनमत पार्टीका उम्मेदवार सतीश सिंहभन्दा सात हजार १८७ मतले पछाडि छन्। सिंहले १३ हजार १८५ मत प्राप्त गर्दा साहले पाँच हजार ९९८ मत मात्र प्राप्त गरेका छन्। साह यस क्षेत्रमा शुरूदेखि नै पछाडि छन्।
त्यसै गरी सिरहा-२ (क)मा जसपाबाट उम्मेदवार रहेका मधेश प्रदेशका भूमि व्यवस्था‚ कृषि तथा सहकारी मन्त्री विजय यादव समेत पछाडि परेका छन्। यादवले ७२४ मत प्राप्त गर्दा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार जीवछकुमार यादव एक हजार ३०३ मत प्राप्त गरी अग्रस्थानमा छन्।
यस्तै, रौतहट १ (ख)मा जसपाबाट उम्मेदवार रहेका भूमि व्यवस्था‚ कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र यादव एक हजार ११७ मत प्राप्त गरी दोस्रो स्थानमा छन्। कांग्रेसका कृष्ण यादव एक हजार ८११ मत प्राप्त गरी पहिलो स्थानमा छन्।
मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले भने शुरूदेखि नै अग्रता लिएका छन्। सर्लाही-१ (ख) मा जसपाबाट उम्मेदवार रहेका उनले तीन हजार ८५२ मत प्राप्त गरेका छन्। सोही क्षेत्रमा नेपाली कांग्रेसका रामनारायण कुर्मीले दुई हजार ५६१ मत प्राप्त गरेका छन्।