प्रारम्भिक रुझानले देखाएका तीन सङ्केत
माओवादी र एकीकृत समाजवादीले लिएका कम्तीमा २५ वटा सीटमा कांग्रेसको उम्मेदवार हुन्थ्यो भने एमालेसँग कडा टक्कर हुने पक्का थियो।
प्रतिनिधि सभा सदस्यतर्फका १६५ मध्ये २०-२५ वटा क्षेत्रको गणना शुरू भएको छ। यति आँकडाकै भरमा मत परिणामको विश्लेषण गर्नु छिटो हुन्छ। तर, केही सङ्केत देखिएका छन्।
पहिलो, राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ मतदाताको ‘सेमी लहर’ देखियो। अहिले नै यो पार्टीले कति सीट जित्छ भन्न सकिंदैन। यो नेताहरूप्रतिको वितृष्णाको परिणाम हो।
दाेस्राे, नेकपा (एमाले)लाई जति झट्का लाग्छ भन्ने अनुमान थियो, त्यति नलाग्ने देखियो। प्रारम्भिक रुझानको एउटा महत्त्वपूर्ण पक्ष यो पनि हो। पार्टी विभाजन र गठबन्धनले एमालेलाई धेरै धक्का नलाग्ने सङ्केत देखियो।
तेस्राे, गठबन्धनको मत पर्याप्त ‘ट्रान्सफर’ भएन। यो कुरा त मैले शुरूदेखि नै भन्दै आएको थिएँ। मेरो विचारमा यो पटक गुमाउने नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी लगायतले हो।
माओवादी र एकीकृत समाजवादीले प्रत्यक्षमा आफ्नै हैसियतभन्दा धेरै भाग खोज्नुको परिणाम हो यो। उनीहरूले लिएका कम्तीमा २५ वटा सीटमा कांग्रेसको उम्मेदवार हुन्थ्यो भने एमालेसँग कडा टक्कर हुने पक्का थियो। यसरी हेर्दा यी दुई वटा पार्टीले १२–१३ सीट एमालेलाई उपहार दिने सङ्केत देखियो।
यस पटक मत कम खसेकाे छ। नेताहरूको अनुहार सम्झेरै मतदाताहरू मतदान गर्न गएनन् जस्तो लाग्छ।