केही ठाउँमा मतगणना शुरू‚ केहीमा तयारी
आइतबार सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतगणना शुरू गरिएको छ। दुर्गम र यातायातको सुविधा नभएको स्थानको भने आज मतपेटिका सङ्कलन गरिने निर्वाचन आयोगले जनाएको छ।
आयोगका अनुसार‚ काठमाडौं क्षेत्र नं ७‚ ललितपुर क्षेत्र नं ३ र २‚ भक्तपुर क्षेत्र नं २‚ झापा क्षेत्र नं २‚ कास्की क्षेत्र नं २ तथा चितवन क्षेत्र नं २ मा मतगणना भइरहेको छ। अन्य क्षेत्रमा पनि गणनाको तयारी भइरहेको छ।
देशभर प्रत्यक्षतर्फ प्रतिनिधि सभाका १६५ सीट र प्रदेश सभाका ३३० सीटमा मतदान भएको हो। त्यस्तै, समानुपातिकतर्फ प्रतिनिधि सभाका ११० र प्रदेश सभाका २२० सदस्यका लागि मतदान भएको हो। १५ मतदानस्थलमा भने मतदान स्थगन भएको छ।
निर्वाचनमा ६१ प्रतिशत मतदान भएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिएका छन्। केही स्थानको विवरण आउन बाँकी रहेकाले केही प्रतिशत बढ्ने विश्वास रहेको आयोगको छ। आयोगले ७० प्रतिशत मत खस्ने अपेक्षा गरेको थियो।