मतदाता शिक्षा र मतदान केन्द्र व्यवस्थापनमा कमि: मानव अधिकार आयोग
राष्ट्रिय मानवअधिकार आयोगले मतदाता शिक्षाको प्रभावकारिता र मतदान केन्द्रको सुव्यवस्थापनमा कमी रहेको निष्कर्ष निकालेको छ।
आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको देशभर अनुगमन गरेको हो। त्यसमा मतदाता शिक्षा प्रभावकारी नभएको र मतदान केन्द्रको व्यवस्थापन राम्रो नदेखिएको जनाएको छ।
देशका केही जिल्लामा बम विस्फोट, झडप तोडफोड र विस्फोटक पदार्थ भेटिएको राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ। आयोगका अनुसार झापा, सुनसरी, पाँचथर, सुर्खेत, कैलाली लगायतका जिल्लामा बम विस्फोट भएको छ। त्यस्तै, कैलाली, कञ्चनपुर, मोरङ, दैलेख, डोटी अछाम लगायतका जिल्लामा मतदानस्थल नजिकै विस्फोटक पदार्थ भेटिएको छ।
हुम्ला, दार्चुला, बाजुरा, दोलखा, रौतहट, सिरहा र चितवन लगायतका जिल्लामा राजनीतिक दलका कार्यकर्ताबीच झडप हुँदा केही व्यक्ति घाइते भएको आयोगले जनाएको छ। यी जिल्लामा झडप नियन्त्रण गर्नको लागि सुरक्षाकर्मीद्वारा केही हवाई फायर समेत भएको थियो।
आयोगका अनुसार, कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ तारेबहार आधारभूत विद्यालय लुम्ले मतदान केन्द्रमा नेकपा बहुमतका एक कार्यकर्ताले मत खसाल्ने क्रममा मतपेटिका फुटाएका थिए। त्यस्तै, हुम्ला कारागारमा रहेका कैदीबन्दीलाई हत्कडी नखोली मतदान गराइएको आयोगले जनाएको छ।
जिल्ला प्रशासन कार्यालयबाट सवारी पास वितरणमा कडाइ गरेका कारण पाल्पा, रामेछाप, भोजपुर लगायतका जिल्लाका कतिपय मतदान केन्द्रमा चार, पाँच घण्टा पैदल हिंडेर मतदानको लागि जानुपर्ने र अशक्त, अपाङ्गता भएका मतदातालाई मतदानस्थलसम्म पुग्न र घर फर्कनको लागि समस्या भएको जनाएको छ। देशभरका धेरै मतदान केन्द्र अपाङ्गतामैत्री नभएको आयोगको निष्कर्ष छ।
दार्चुलाको व्यास गाउँपालिका १ छाङरु र तिङकर क्षेत्रका मतदाताले पाँच दिनको बाटो हिँडेर जिल्ला सदरमुकाम खलङ्गास्थित मोती महिला संघको मतदान केन्द्रबाट मतदान गरेको आयोगले जनाएको छ।
आयोगले म्यादी प्रहरी तथा देशभर २७ हजारको संख्यामा रहेका कैदीबन्दीमध्ये अधिकांशले मताधिकारको प्रयोग गर्न पाएनन्।