‘सरकारले सुकुम्बासी बनायो’
१२ वैशाख २०७२ को भूकम्पमा ठूलै जनधनको क्षति व्यहोरेका भक्तपुरको सिकारीटारका भूकम्पपीडितले सरकारले आफूहरुलाई सुकुम्बासी बनाएको बताएका छन्।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) भक्तपुरले आयोजना गरेको ‘भूकम्पपीडितका लागि राहत तथा पुनःनिर्माणको सवाल’ विषयक सार्वजनिक सुनुवाई कार्यक्रममा भूकम्पपीडितले यस्तो गुनासो गरेका हुन् ।
सूर्यविनायक नगरपालिका– ४ सिकारीटारका श्यामकुमार खड्काले अनुदानका नाममा पहिलाे किस्ता वापत ५० हजार दिएर तोकेको मापदण्डमा घर बनाउन नसकेकाे बताए । स्थानीय सबै मोहीको तल्सीङका नाममा जग्गा भएकोले घर बनाउन समस्या भएकाे उनकाे भनाइ छ ।
“त्यो रकमले घर भत्काउनै पुगेन, जमीन नबेची घर बनाउनै नसक्ने भइयो,” उनले भने “जग्गा बेचौँ, घर बनाउने ठाउँ छैन, घर बनाउ पैसा छैन, हामीलाई प्राधिकरणले सुकुम्बासी बनायो ।”
अर्का स्थानीयवासी रवीन्द्र हाकजु श्रेष्ठले अनुदानको रु ५० हजारले त्यही घर टालटुल र मर्मत गर्न मै सकिएको बताए । “आफ्नो रैकर जग्गा हुने पनि सरकारले कित्ताकाट रोकेकाले बिक्री गरेर घर बनाउन पाएका छैनन्,” उनले भने “आफ्नै जग्गा बिक्री गरेर घर बनाउनसमेत सरकारले रोक्यो, यो कस्तो न्याय हो ।”
अहिलेसम्म रेडक्रसले दिएको पालमुनि नै बस्दै आएको बताउने स्थानीयबासी सिर्जना हाकुजु श्रेष्ठले घर बनाउनै नसक्ने गरीब भूकम्पपीडितलाई सरकारले सहज राहत दिनुपर्ने माग गरिन् ।
स्थानीयबासीले घर बनाउन नसकेर पीडित बनेको भूकम्पपीडितलाई रु ५० हजार पनि फिर्ता गर्नुपर्छ भनेर तर्साएको बताएका छन् ।
कार्यक्रममा सूर्यविनायक नगरपालिका– ४ का वडाध्यक्ष उत्तम थापाले नगरपालिकाको नक्साको मापदण्ड र अनिवार्य सडक हुनैपर्ने नियमका कारण धेरै भूकम्पपीडितले घर बनाउन नपाएको बताए ।
वडाले सिफारिश गरेर पठाएकालाई पनि नगरपालिकाले फर्काइदिनाले घर बन्न नसकेको उनको भनाइ छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना एकाइ कार्यान्वयन अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार इञ्जिनीयर हेरम्ब अधिकारीले प्राधिकरणको मापदण्डभन्दा स्थानीय तहले बनाएको मापदण्डले भूकम्पपीडितलाई समस्या आएको बताउनुभयो ।