अपेक्षाभन्दा कम मतदान भयो: निर्वाचन आयोग
प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा अपेक्षाभन्दा कम मतदान भएको निर्वाचन आयोगले जनाएको छ।
देशभर मतदान सम्पन्न भएपछि मंसीर ४ गते राति ७ः५० बजे पत्रकारका सम्मेलन गरी निर्वाचनबारे जानकारी दिएको हो। पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भने, “अपेक्षाभन्दा कम मतदान भयो।”
प्रारम्भिक विवरण अनुसार, ६१ प्रतिशत मतदान भएको थपलियाले बताए। केही स्थानको विवरण आउन बाँकी रहेकाले केही प्रतिशत बढ्ने विश्वास रहेको उनको भनाइ छ। आयोगले ७० प्रतिशत मत खस्ने अपेक्षा गरेको थियो।
केही स्थानमा बाहेक देशभर शान्तिपूर्ण रूपमा मतदान भएको आयोगले जनाएको छ। बाजुरा लगायत १५ मतदानस्थलमा मतदान स्थगन भएको जनाउँदै त्यहाँ पुनः मतदान हुने उनले बताए।
“मतदान स्थगन भएका स्थानमा पुनः मतदानका लागि दुई दिनभित्र निर्णय गरिसक्न निर्वाचन अधिकृतहरूलाई निर्देशन दिइसकेका छौं,” थपलियाले भने।