करीब ६१ प्रतिशत मत खस्यो: आयोग
प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा करीब ६१ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ।
प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा आयोगले अपेक्षा गरेभन्दा कम मत खसेको आयोगको विश्लेषण छ। निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले हिमालखबरसँग भने, “अहिलेसम्म प्राप्त रिपोर्ट हेर्दा ६१ प्रतिशतको हाराहारीमा मत खसेको देखिन्छ, पूरा विवरण भोलि बिहान मात्रै आउँछ।”
आयोगले यसअघि ७० प्रतिशत मत खस्ने प्रक्षेपण गरेको थियो।
२०७४ सालमा दुई चरणमा आम निर्वाचन भएको थियो। मंसीर १० र २१ गते भएको निर्वाचनमा एक करोड ५४ लाख २७ हजार ९३८ मतदातामध्ये ६८.६७ प्रतिशतले मतदान गरेका थिए।
गत वैशाख ३० गते स्थानीय तहको निर्वाचनमा ६५.०७ प्रतिशतले मतदान गरेको आयोगको तथ्याङ्क छ।
देशभर एक करोड ७९ लाख ८८ हजार ५७० हजार मतदाता थिए। जसमा पुरुष ९१ लाख ४० हजार ८०६, महिला ८८ लाख ४७ हजार ५७९ र अन्य १८५ जना थिए।