किन कम खस्यो मत, के भन्छन् विश्लेषक?
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा विगतको तुलनामा कम मत खस्ने देखिएको छ।
दलीय गठबन्धन, नेताहरूप्रतिको वितृष्णा, स्थानीय चुनावको तुलनामा कम उम्मेदवार हुनु जस्ता कारणले मत कम खसेको विश्लेषकहरू बताउँछन्। मंसीर ४ को मतदान लगत्तै विश्लेषकद्वय नीलाम्बर आचार्य र इन्द्र अधिकारी तथा वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसका प्राध्यापक ललन द्विवेदी र अधिकारकर्मी सुशील प्याकुरेलसँग लिएको संक्षिप्त प्रतिक्रिया जस्ताको तस्तैः
नीलाम्बर आचार्य, विश्लेषक
यस पटक सोचेभन्दा कम मत खस्यो। स्थानीय चुनावमा भन्दा मतदाता नै देशमा कम उपस्थित भएका हुन सक्छन्। स्थानीय चुनावमा उम्मेदवारले मतदाता आकर्षित गरेका थिए।
प्रतिनिधि सभा र प्रदेश सभामा उम्मेदवारले मतदाता आकर्षित गरेको देखिएन। जे गरे पनि पहिलाकै पार्टी हो भन्ने सोचाइले गर्दा पनि मतदान केन्द्रसम्म धेरै जना नगएको हुन सक्छ।
निर्वाचनमा उत्साहको कमी हुनु चाहिं ठूला पार्टीलाई विरोध गर्ने प्रवृत्ति पनि कमजोर हुनु हो। किनभने, प्रतिबद्ध मतदाता त जसरी पनि जान्छन्। यसका खास कारण के हुन् भन्ने मत परिणामले पनि देखाउँछ।
इन्द्र अधिकारी, विश्लेषक
मैले नुवाकोटबाट मतदान गरें। दलहरूले अपेक्षा पूरा गरेनन् भनेर कम भोट खसेको हो कि जस्तो लाग्यो। पार्टीले भित्रैबाट विकल्प खोज्नेछ भन्ने मतदाताको अपेक्षा थियो। मतदातामा नैराश्य देखियो।
स्वतन्त्रबाट समाधान हुन्छ भन्ने विश्वास छैन। तर, पार्टीले नयाँ अनुहार नदिंदा कम मत खसेको हुन सक्छ। मतदान केन्द्र पनि टाढा भए।
घरमा प्रायः महिला र ज्येष्ठ नागरिक छन्। उनीहरूलाई राजनीतिमा धेरै चासो नहुन सक्छ। महिला मतदाता घरको कामधन्दा सकेर मात्रै जान पाउँछन्।
अर्को कुरा, शहरबाट भोट हाल्न धेरै मान्छे गाउँ फर्किएनन्। फर्किएका पनि मतदान केन्द्रसम्म गएको देखिएन। गठबन्धनले गर्दा पनि अलमल परेको देखियो। माओवादीले छोराछोरी, आफन्त मारेका मतदातामा किन भोट दिने भनेको पनि सुनियो। समग्रतामा निर्वाचनले साधारण मान्छेलाई आकर्षित गरेको देखिएन।
ललन द्विवेदी, प्राध्यापक
पर्सा-३ मा मतदान गरें। यस पटकको चुनाव महँगो हुने देखियो। बेथितिका दृश्य पनि देखिए। शहरबाट गाउँ फर्केर भोट दिने उत्साह देखिएन। नेताहरूका विगतका क्रियाकलापबाट जनता सन्तुष्ट देखिएनन्।
मेरो क्षेत्रमा स्वतन्त्र र नयाँ उम्मेदवारको उत्साह देखिएन। मधेशी दल पहिलेभन्दा पनि खस्किन्छन्। जनमत पार्टीको सम्भावना बलियो देखियो। सत्ता गठबन्धनले सरकार बनाउँछ जस्तो लाग्छ। मधेशमा पुरानै दलको बोलवाला बढी छ।
सुशील प्याकुरेल, अधिकारकर्मी
मैले दोलखाको मतदान अवलोकन गरें। निर्वाचनअघि पनि म दोलखा गएको थिएँ। त्यहाँको मतदान पहिले नै घट्ला जस्तो लागेको थियो। यो कुरा निर्वाचन आयोगका साथीहरूलाई पनि भनेको थिएँ।
भोट घट्नुको एउटा कारण गठबन्धन पनि हो। स्थानीय चुनावमा दलहरूले गठबन्धन गर्दा एक पटकलाई भैगो त भनेर पनि मत दिए। तर, जहिल्यै नेताले भनेकै मान्छेलाई भोट दिनुपर्ने? आफ्नो पार्टीलाई भोट दिन नपाउने? भन्ने सोच देखियो।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले बीसौं वर्ष गठबन्धन जान्छ भन्दै हिंडे। यसले पनि वितृष्णा जगाएको हुनुपर्छ। २०७४ मा नेकपाले बहुमत पायो। तर, तीन वर्षभन्दा बढी चल्न सकेन। स्थिरताका लागि बहुमत दिंदा पनि पार्टी फुटाउँछन् भन्ने सोच देखियो।