बाजुरामा गोली चल्यो, प्रहरी सहित सात घाइते, दुई गम्भीर
बाजुराको त्रिवेणी नगरपालिका–७ स्थित दम्था मतदानस्थलमा झडप हुँदा गोली चलेको छ। झपडमा प्रहरी सहित सात जना घाइते भएका छन् भने दुई जनाको अवस्था गम्भीर रहेको छ।
जिल्ला प्रहरी कार्यालय, बाजुराका अनुसार, मतदान सकिने वेला तीन–चार सय जनाको समूहमा आएका स्थानीयले प्रहरी र निर्वाचन कर्मचारीमाथि आक्रमण गरेका थिए। स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको थियो।
स्थानीयले ढुङ्गामुढा गरेपछि प्रतिरक्षाका लागि प्रहरीले गोली चलाउनुपरेको प्रहरीले जनाएको छ।
नेपाल प्रहरीका सहायक प्रवक्ता एवं एसएसपी दानबहादुर कार्कीका अनुसार, स्थिति नियन्त्रणमा लिने प्रयास भइरहेको छ। “प्रहरी र कर्मचारीले मतपेटिका सुरक्षित राखेक छन्,” कार्कीले भने।
उनका अनुसार, स्थानीयको आक्रमणमा प्रहरी सहित सात जना गम्भीर घाइते छन्। उनीहरूमध्ये पाँच जनालाई उपचारका लागि हेलिकोप्टरबाट सुर्खेत लगिएको कार्कीले बताए।
गम्भीर घाइते एक जना प्रहरी र एक स्थानीयको अवस्थाबारे थप जानकारी आउन नसकेको प्रहरीले जनाएको छ। स्थिति नियन्त्रणमा लिन थप सुरक्षाकर्मी परिचालन गरिएको सहायक प्रवक्ता कार्कीले बताए।