१५ मतदान केन्द्रमा रोकियो मतदान
प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि भइरहेको निर्वाचनका क्रममा १५ स्थानमा मतदान रोकिएको छ।
निर्वाचन आयोगका अनुसार, विभिन्न कारणले विवाद उत्पन्न हुँदा अपराह्न साढे ३ बजेसम्म १५ मतदान केन्द्रमा मतदान रोकिएको छ। पुनः मतदान शुरू गर्न छलफल भइरहेको आयोगले जनाएको छ।
यसअघि मतदान रोकिएका केही स्थानमा भने सुचारु भइसकेको छ। आयोगका अनुसार, आइतबार मध्याह्नसम्म सुर्खेतका दुई र पाल्पाका दुई-दुई ठाउँ, झापा, कास्की र पर्वतका एक-एक ठाउँमा विवाद हुँदा मतदान रोकिएको थियो। त्यहाँ भने अहिले मतदान सुचारु भइसकेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।
आज बिहान ७ बजेदेखि देशभरका २२ हजार २२७ मतदान केन्द्रमा मतदान शुरू भएको थियो। साँझ ५ बजेसम्म मतदान गर्ने समय तोकिएको छ।