२०१५ पछि सबैभन्दा कम मतदान, कुन चुनावमा कति मत खस्यो?
प्रजातन्त्र पुनःस्थापना भएयताका सात वटा चुनावमध्ये यस पटक सबैभन्दा कम मत खसेको छ।
आज सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा ६१ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ। केही स्थानको पूर्ण विवरण आउन बाँकी रहेकाले केही प्रतिशत बढ्ने आशा गरिएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको भनाइ छ। “प्रारम्भिक विवरण अनुसार, ६१ प्रतिशत मत खसेको छ, अपेक्षाभन्दा कम मतदान भयो,” थपलियाले भने।
जनआन्दोलनपछि २०४८ वैशाख २९ गते आम निर्वाचन भएको थियो। एक करोड ११ लाख ९१ हजार ७७७ मतदाता रहेकोमा ६५.१५ प्रतिशत मतदान भएको निर्वाचन आयोगको तथ्याङ्क छ।
त्यसपछि २०५१ कात्तिक २९ गते मध्यावधि निर्वाचन भएको थियो। त्यसमा एक करोड २३ लाख २७ हजार ३२९ मतदाता रहेकामा ६१.८६ प्रतिशत मतदान भएको थियो।
पाँच वर्षपछि २०५६ मा दुई चरणमा मतदान भएको थियो। आयोगका अनुसार, वैशाख २० गते र जेठ ३ गते भएको मतदानमा एक करोड ३५ लाख १८ हजार ८३९ मतदाता थिए भने ६५.७९ प्रतिशत मतदान भएको थियो।
राजा ज्ञानेन्द्र शाहले सत्ता हातमा लिएपछिको समयमा आम निर्वाचन हुन सकेन। २०६२-६३ को जनआन्दोलनपछि २०६४ चैत २८ गते संविधानसभाको निर्वाचन भएको थियो। त्यति वेला एक करोड ७६ लाख ११ हजार ८३२ मतदाता रहेकोमा ६१.७० प्रतिशत मतदान भएको थियो।
त्यसको ६ वर्षपछि २०७० मंसीर ४ गते दोस्रो पटक संविधानसभाको निर्वाचन भएको थियो। एक करोड २१ लाख ४७ हजार ८६५ मतदातामध्ये ७८.७४ प्रतिशतले मतदान गरेका थिए।
संविधानसभाबाट नयाँ संविधान बनेपछि २०७४ सालमा दुई चरणमा आम निर्वाचन भएको थियो। मंसीर १० र २१ गते भएको निर्वाचनमा एक करोड ५४ लाख २७ हजार ९३८ मतदातामध्ये ६८.६७ प्रतिशतले मतदान गरेका थिए।
यसअघि गत वैशाख ३० गते स्थानीय तहको निर्वाचन भएको थियो। यसमा एक करोड ७७ लाख ३३ हजार ७२३ मतदातामध्ये ६५.०७ प्रतिशतले मतदान गरेको आयोगको तथ्याङ्क छ।
नेपालमा भएको पहिलो निर्वाचनमा मात्रै अहिलेभन्दा कम मतदान भएको थियो। आयोगको तथ्याङ्क अनुसार, २०१५ फागुन ७ गतेदेखि चैत २८ गतेसम्म विभिन्न चरणमा मतदान भएको थियो। त्यति वेला ४३ लाख ४६ हजार ४६८ मतदाता थिए भने ४२.१९ प्रतिशत मतदान भएको थियो।