बालगृहबाट नौ बालबालिकाको उद्धार
केन्द्रीय बालकल्याण समितिले भक्तपुरको चाँगुनारायण–९ स्थित सौडोल महिला समाजले सञ्चालन गरेको बालगृहबाट नौ बालबालिकाको उद्धार गरिएको छ ।
बालबालिकालाई ‘आवासीय बालगृह सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड, २०६९’ विपरीत जोखिमपूर्ण अवस्थामा राखेको पाइएपछि चार बालक र पाँच बालिकाको उद्धार गरेको हो ।
ती बालबालिका ४ देखि १४ वर्ष उमेर समूहका रहेको समितिका प्रवक्ता रामबहादुर चन्दले जानकारी दिए ।
ती बालबालिकालाई हुम्लाबाट अध्ययनका लागि विभिन्न व्यक्तिमार्फत ल्याइएको थियो ।
बालबालिकालाई जोखिमपूर्ण अवस्थामा राखेको, उचित खानपान तथा आवासको प्रबन्ध नगरेको पाइएकाले हाल अल्पकालीन संरक्षणको व्यवस्था गरिएको समितिले जनाएको छ ।