मध्याह्नसम्म ३२ प्रतिशत मतदान
प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि आइतबार मध्याह्नसम्म ३२ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ।
निर्वाचन आयोगले पत्रकार सम्मेलन गरी मध्याह्न १२:४५ बजेसम्म ३२ प्रतिशत मतदान भएको जानकारी दिएको हो। “चिसोले होला, बिहान अलि कम मतदान भएको छ, ११ बजेपछि मतदाता आउने क्रम बढेको छ,” आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने।
आज दिउँसोपछि मतदानको प्रतिशत बढ्ने आशा गरिएको उनको भनाइ छ। “अब दिउँसोबाट मतदान बढ्ने अन्दाज गर्न सकिन्छ,” उनले भने।
देशभर केही स्थानमा छिटपुट विवाद भएपछि शान्तिपूर्ण रूपमा मतदान भइरहेको आयोगले जनाएको छ। “सात–आठ ठाउँमा विवाद भएर मतदान रोकिएको थियो। केही स्थानमा शुरू भइसकेको छ, केही ठाउँमा मतदान शुरू गर्न छलफल भइरहेको छ,” उनले भने।
अहिलेसम्म सुर्खेतका दुई ठाउँ, पाल्पाका दुई ठाउँ, झापा, कास्की र पर्वतका एक–एक ठाउँमा विवाद देखिएको र मतदान पुनः शुरू भइसकेको प्रवक्ता पौडेलले बताए।
उनका अनुसार, बाजुरामा मात्र समस्या देखिएको छ। त्यहाँ पनि विवाद देखिएका सात ठाउँमध्ये दुई ठाउँमा पुनः मतदान शुरू भइसकेको उनले बताए। बाँकी ठाउँमा मतदान शुरू गर्न छलफल भइरहेको छ।