वनस्पति क्षेत्रका धरोहर समरबहादुर मल्ल
वनस्पतिको क्षेत्रमा सुपरिचित समरबहादुर मल्लले नेपाली वनस्पतिको खोज, अध्ययन, अनुसन्धान तथा अभिलेखीकरण गरी विश्वमा चिनाउन महत्त्वपूर्ण योगदान पुर्याएका छन्।
वनस्पतिशास्त्रीका रूपमा सुपरिचित समरबहादुर मल्लको स्वरमा केही गीत रेकर्ड भएका छन्। उनले उस्तादहरूबाट सङ्गीतको ज्ञान लिएका थिए।
उनले आफू नपढेको भए गायक हुन्थें होला भनेको मल्लका छोरा सञ्जीव सुनाउँछन्। “बुबा वेला वेला भन्नुहुन्थ्यो, यदि मैले पढ्न नसकेको भए गायक हुन्थें होला‚” उनी भन्छन्‚ “हजुरबुबाले घरमै उस्तादहरू झिकाएर बुबाहरूलाई सङ्गीतको तालीम पनि दिनुभएको थियो।”
मल्ल लेखक तथा साहित्यकारको सङ्गतले गीत-सङ्गीतमा लागेका थिए। उनले रेडियो नेपाल स्थापना भएको दिन २००७ चैत २० मा युगकवि सिद्धिचरण श्रेष्ठको ‘हिमगिरि मण्डित सुगन्ध शोभित’ बोलको गीत गाएका थिए। रेडियो नेपालमै केही गीत रेकर्ड गराएका थिए।
जागीरे भएपछि उनी गीत-सङ्गीतबाट टाढिए। साङ्गीतिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै तीन वर्षअघि नातिकाजी स्मृति समाजले उनलाई ‘नातिकाजी राष्ट्रिय विशिष्ट स्रष्टा सम्मान’ प्रदान गरेको थियो।
युवावस्थामा उनी गायनका साथै फूटबल र क्रिकेटमा सक्रिय थिए। आफ्नो पालाको राम्रो फूटबल खेलाडी उनी काठमाडौं खेल मण्डल, एनआरटी क्लबबाट खेल्थे। उनले खेल्ने क्लबबाटै तत्कालीन अधिराजकुमार बसुन्धरा र हिमालयविक्रम शाह पनि खेल्थे।
मल्ल राणाकालका बौद्धिक र सम्पन्न परिवारका सदस्य हुन्। उनी ऐतिहासिक साहित्यिक पत्रिका शारदाका सम्पादक ऋद्धिबहादुर मल्लका भतिजा हुन्। मल्लका बुबा सिद्धिबहादुर जोर गणेश प्रेस चलाउँथे। जहाँ शारदा पत्रिका छापिन्थ्यो।
मल्लका भाइहरू गोविन्दबहादुर मल्ल गोठाले र विजय मल्ल नेपालका स्थापित साहित्यकार हुन्। उनका दाजुहरू फत्तेबहादुर चिकित्सक थिए भने शारदाबहादुरले बिट्रिशकालमै कलकत्ताबाट अंग्रेजीमा एमए गरेका थिए। “उहाँ सबै भाइहरूलाई अंग्रेजी पढाउनुहुन्थ्यो,” शारदाबहादुरबारे सञ्जीव भन्छन्, “दाइले पढाएको अंग्रेजीले गर्दा वेल्समा पीएचडी गर्दा पनि अंग्रेजीको समस्या भएन भनिरहनुहुन्थ्यो, बुबा।”
१९९७ असोज २ मा जन्मिएका मल्लको विद्यालय शिक्षा ठमेलको जुद्धोदय पब्लिक स्कूलमा भएको थियो। क्याम्पसको पढाइ भने उनले त्रिचन्द्र क्याम्पसबाट पूरा गरे। त्यसपछि उच्च शिक्षाका लागि भारत पुगे। उनले २०१४ सालमा पटना विश्वविद्यालयबाट वनस्पतिशास्त्रमा एमएस्सी गरे। विद्यावारिधि भने बेलायतको वेल्स विश्वविद्यालयबाट २०२१ सालमा गरेका हुन्।
एमएस्सी सकेर नेपाल फर्किएपछि केही समय उनले काठमाडौंको त्रिचन्द्र कलेजमा पढाए। २०१६ सालमा वनस्पति विभागमा प्रवेश गरेका उनले २०२९ देखि २०४७ सालसम्म विभागको महानिर्देशकको जिम्मेवारी सम्हालेका थिए।
कृषि विभागका पूर्व महानिर्देशक तथा बागवानीविद् शिवबहादुर नेपाली प्रधान वनस्पति सर्वेक्षणमा मल्लको ठूलो योगदान रहेको बताउँछन्। प्रधान भन्छन्, “उहाँले गरेको जस्तो सर्भे पछिल्लो दिनमा हुन सकेको छैन। बोटानिकल सर्भेमा उहाँको ठूलो योगदान छ।”
स्थापनाकालदेखि नै वनस्पति विभागमा आबद्ध मल्लको ललितपुरको गोदावरीस्थित राष्ट्रिय वनस्पति उद्यान निर्माणमा महत्त्वपूर्ण भूमिका रहेको प्रधान बताउँछन्। उनी भन्छन्, “वनस्पतिको खोज, अध्ययन, अनुसन्धान तथा अभिलेखीकरणमा मल्लको महत्त्वपूर्ण योगदान छ।”
त्यस्तै नेपालको फ्लोरा लेखनको शुरूआत गर्ने श्रेय उनैलाई जान्छ। नेपालमा पहिलोपल्ट वनस्पतिहरूको नमूना सङ्कलन गरेकाले उनी पहिलो वनस्पति सङ्कलकका रूपमा पनि परिचित छन्। उनले अर्का वनस्पतिविद् समनबहादुर राजभण्डारीसँग मिलेर काठमाडौं उपत्यकाबाट ३२८ प्रजातिका वनस्पतिको पहिलो पटक नमूना सङ्कलन गरी राष्ट्रिय हर्बेरियम तथा वनस्पति प्रयोगशालामा राखेका थिए।
विभागको महानिर्देशक रहेका वेला फ्लोरा अफ नेपाल लेखनका लागि विभिन्न स्थानको वानस्पतिक सर्वेक्षणलाई तीव्रता दिनुका साथै विभिन्न स्थानको फ्लोराबारे पनि उनले लेखेका थिए। मल्ल फ्लोरा अफ काठमान्डू भ्याली, फ्लोरा अफ रानीकुञ्ज, फ्लोरा अफ फूलचोकी, फ्लोरा अफ नागार्जुनका मुख्य लेखक हुन्। नेपाली कृषक लक्षित जडीबुटीहरूको खेतीबारे पनि उनको पुस्तक प्रकाशित छ।
उनले वनस्पतिको क्रोमोजोम अध्ययन र त्यसको नक्शा बनाउने कामको शुरूआत गर्नुका साथै नेपालमा रहेका वनस्पतिको नक्शाङ्कन कार्यमा पनि योगदान दिएका छन्। उनका कैयौं अनुसन्धानमूलक लेख राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित छन्।
यस्तै‚ नेपाललाई ‘कन्भेन्सन अन इन्टरन्याशनल ट्रे इन इन्डेन्जर्ड स्पेसिज अफ वाइल्ड फाउना एन्ड फ्लोरा (साईटीस)’ को सदस्यता दिलाउन मल्लको महत्त्वपूर्ण भूमिका छ।
उनी महानिर्देशक भएको धेरैपछि सोही पदमा पुगेका वनस्पतिविद् हरिकृष्ण सैंजू मल्ललाई एउटा हकी व्यक्तिका रूपमा स्मरण गर्छन्। १९ वर्ष महानिर्देशकको जिम्मेवारी सम्हालेका मल्लको पालामा नेपालको वनस्पतिको क्षेत्रमा धेरै काम भएको सैंजू बताउँछन्। उनकै पालामा देशका विभिन्न स्थानमा वनस्पति विभाग मातहतका कार्यालय खुले। ती कार्यालयबाट नेपालका वनस्पतिको रसायन अध्ययन र प्राकृतिक सम्पदाको पहिचानको काम अघि बढेको सैंजूको भनाइ छ।
“उहाँ कर्मचारीको वृत्तिविकासमा पनि उत्तिकै गम्भीर हुनुहुन्थ्यो भने कर्मचारीलाई विदेश अध्ययनका लागि प्रोत्साहन गर्ने र त्यसको चाँजोपाँजो मिलाउने पनि गर्नुहुन्थ्यो,” सैंजू भन्छन्, “उहाँ वनस्पति विभागको मात्र होइन, नेपालको समग्र वन सेवाको खम्बा सरह हुनुहुन्थ्यो। उहाँको कुरालाई काट्ने आँट हतपती कसैको पनि हुँदैनथ्यो।”
मल्लकै पालामा नेपालमा वनस्पति अध्ययनका लागि बेलायत, अमेरिका र जापानका निकायसँग सहकार्य भएको थियो। साथै, विदेशी विज्ञ झिकाएर स्थानीय विज्ञलाई तालीम तथा अभिमुखीकरण गराउने काम पनि भएको थियो। औद्योगिक विकासका लागि राष्ट्रसंघीय औद्योगिक विकास संगठन (युनिडो) बाट नेपालका लागि अनुसन्धान र प्रशोधनका औजार झिकाउन पनि मल्लको योगदान थियो।
यससँगै उनलाई विभिन्न परिकार पकाउने शौख थियो। “विभिन्न खानेकुरामा हाम्रो शरीरलाई चाहिने न्युट्रियन्ट हुने हुँदा खानामा विविधता हुनुपर्छ भन्नुहुन्थ्यो,” उनका छोरा सञ्जीव सम्झिन्छन्, “सकेसम्म मुला, काँक्रो जस्तो काँचो कुरालाई पनि खानामा समावेश गर्नुपर्छ भनेर जोड दिनुहुन्थ्यो।”
वनस्पतिविद् मल्लको २०७७ मंसीर ४ गते ९० वर्षको उमेरमा निधन भएको थियो। भौतिक रुपमा नभए पनि उनले गरेका कामले वनस्पतिसँगै बाचिरहेका छन्।
मल्लकै नामबाट वनस्पतिको नामकरण समेत गरिएको छ। इम्पाटियन्स मल्लेई (इम्पाटियन्स प्रइनी), चमेसियम मल्लेनम, पक्किसनियम मल्लेई, सेक्सिफ्रागा मल्लेई र क्यारेक्स मल्लेई नामका वनस्पति उनकै नामबाट नामकरण गरिएका छन्।