मतदान स्थगित नगर्न निर्वाचन आयोगको निर्देशन
निर्वाचन आयोगले मतदान स्थगित नगर्न देशभरका निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ।
देशका केही स्थानमा सामान्य विवादका कारण मतदान स्थगित भएको समाचार आएपछि आयोगले सचेत गराएको हो। मतदान केन्द्रमा भएको सामान्य विवादमा मतदान स्थगित नगर्न र विवाद साम्य भएपछि सुचारु गर्न आयोगले निर्देशन दिएको छ।
त्यस्तै, आयोगले साँझ ५ बजेसम्म मतदान स्थगित भएको सूचना टाँस नगर्न आयोगले भनेको छ। आयोगले भनेको छ, ‘मतदान केन्द्रमा भएको सामान्य विवादको कारण केही समय स्थगन भएको मतदान कार्य सुचारु गर्ने र साँझ ५ बजेसम्म स्थगित भएको सूचना टाँस नगर्न निर्वाचन आयोगले सबै मतदान अधिकृतहरूलाई निर्देशन दिएको छ।’
यससँगै आयोगले मतदान स्थगित गर्नुपर्ने अवस्थामा आएमा केन्द्रबाट सहमति लिन भनेको छ। आयोगको निर्देशनमा भनिएको छ, ‘स्थगित गर्नै पर्ने भए निर्वाचन आयोगको पूर्व सहमति लिनुपर्नेछ।’
आज बिहान ७ बजेदेखि देशभरका मतदान केन्द्रमा मतदान भइरहेको छ। केही मतदान केन्द्रमा सामान्य विवाद भएको छ। आयोगले आज साँझ ५ बजेसम्म मतदान गर्ने समय तोकेको छ।
देशभर प्रत्यक्षतर्फ प्रतिनिधि सभाका १६५ सीट र प्रदेश सभाका ३३० सीटमा मतदान हुँदै छ। त्यस्तै, समानुपातिकतर्फ प्रतिनिधि सभाका ११० र प्रदेश सभाका २२० सदस्य निर्वाचित हुनेछन्।
प्रत्यक्षतर्फ १६५ सीटका लागि देशभरबाट दुई हजार ४१२ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। त्यस्तै, प्रदेश सभाका लागि तीन हजार २२४ उम्मेदवार छन्।
देशभर एक करोड ७९ लाख ८८ हजार ५७० हजार मतदाता छन्। जसमा पुरुष ९१ लाख ४० हजार ८०६, महिला ८८ लाख ४७ हजार ५७९ र अन्य १८५ जना छन्।
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि निर्वाचन आयोगले १० हजार ८९२ वटा मतदानस्थल र २२ हजार २२७ मतदान केन्द्र तय गरेको छ।