रौतहटको मतदानस्थलमा हवाई फायर
रौतहटको गुजरा नगरपालिका-४ स्थित मतदानस्थलमा प्रहरीले हवाई फायर गरेको छ।
बिहानैदेखि मतदानस्थल बाहिर ठूलो संख्यामा स्थानीय बासिन्दा भेला भएका थिए। उनीहरू मतदानस्थलभित्र छिर्न खोजेपछि विवाद भएको थियो। विवाद बढ्दै जाँदा हुँलदङ्गाको स्थिति बनेको हो।
भीड नियन्त्रण गर्न प्रहरीले हवाई फायर गर्नुपरेको जिल्ला प्रहरी कार्यालय, रौतहटले जनाएको छ। अहिले स्थिति नियन्त्रणमा आइसकेको र मतदान जारी रहेको प्रहरीले जनाएको छ।
त्यस्तै, रौतहटकै गरुडा नगरपालिका ६ स्थित अमरपटी मतदानस्थलमा पनि सुरक्षाकर्मीले हवाई फायर गरेका छन्। स्थानीय बासिन्दाले मतदानस्थल बाहिर हुलहज्जत गरेपछि स्थिति नियन्त्रणमा लिन दुई राउन्ड हवाई फायर गर्नुपरेको प्रहरीले जनाएको छ।