देशभर बिहानैदेखि मतदान शुरू
प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि आज बिहानैदेखि देशभर मतदान शुरू भएको छ।
देशका सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान शुरू भएको निर्वाचन आयोगले जनाएको छ। मतदान गर्न बिहानैदेखि मतदाता मतदान केन्द्र पुगेका छन्।
निर्वाचन आयोगले आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्ने समय तोकेको छ। देशभर प्रत्यक्षतर्फ प्रतिनिधि सभाका १६५ सीट र प्रदेश सभाका ३३० सीटमा मतदान हुँदै छ।
त्यस्तै, समानुपातिकतर्फ प्रतिनिधि सभाका ११० र प्रदेश सभाका २२० सदस्यका लागि मतदान शुरु भएको छ। एक जना मतदाताले प्रतिनिधि सभा र प्रदेश सभाका प्रत्यक्ष तथा समानुपातिक गरी चार मतपत्रमा मतदान गर्ने व्यवस्था गरिएको छ।
प्रत्यक्षतर्फ १६५ सीटका लागि देशभरबाट दुई हजार ४१२ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। त्यस्तै, प्रदेश सभाका लागि तीन हजार २२४ उम्मेदवार छन्।
देशभर एक करोड ७९ लाख ८८ हजार ५७० हजार मतदाता छन्। जसमा पुरुष ९१ लाख ४० हजार ८०६, महिला ८८ लाख ४७ हजार ५७९ र अन्य १८५ जना छन्।
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि निर्वाचन आयोगले १० हजार ८९२ वटा मतदानस्थल र २२ हजार २२७ मतदान केन्द्र तय गरेको छ।