बूकर विमर्श
दक्षिणएशियाका छिमेकी राष्ट्रहरूले बूकर पुरस्कार भित्र्याइरहँदा नेपाली लेखक र हाम्रा मौलिक विषयले पनि यस्तो अन्तर्राष्ट्रिय पहिचान बनाउन सक्ने सम्भावना चुल्याएको छ।
साहित्यिक जगत्मा पुरस्कारले कृति, कृतिकारको चिनारी फैलाएर पाठक जमातमा तरङ्ग पैदा गर्दैै चर्चा व्यापक बनाउँछ। यस वर्षका दुई बूकर पुरस्कार दक्षिणएशियामा भित्रिएपछि विशेष चर्चा हुने नै भयो। अन्तर्राष्ट्रिय बूकर पुरस्कार भारतीय लेखक गीताञ्जलि श्रीको रेत समाधि (सन् २०१८) को अंग्रेजी अनुवाद टुम अफ स्यान्डले पायो। अनूदित कृतिलाई दिइने पुरस्कार लेखक र अनुवादकबीच बाँडिने नियम अनुसार लेखक गीताञ्जलि र अनुवादक डेजी रकवेललाई संयुक्त रूपमा दिइयो।
यस्तै, बूकर पुरस्कार द सेभेन मुन्स अव माली अल्मेइडा उपन्यासका निम्ति श्रीलंकाली लेखक शेहान करुनातिलकाले पायो। दक्षिणएशिया र त्यसमा पनि हाम्रै छिमेकको सर्जकले बूकर प्राप्तिले धेरैलाई उत्साहित बनाएको छ।
रुसी दार्शनिक मिखाइल बाख्तिनको विचारमा उपन्यास यस्तो बृहत्तर विधा हो जसले साहित्यका अन्य विधालाई आफूमा समाहित गर्छ, तर आफ्ना मौलिकता कायम राख्दै। त्यसैले होला साहित्यका थुप्रै विधा भए पनि विश्वबजारमा उपन्यासकै चर्चा बढी छ। बूकर बाहेक पनि आख्यान जगत्का अरू धेरै स्थापित र आकर्षक पुरस्कार छन्।
अरबी आख्यानका लागि त्यस क्षेत्रमा अन्तर्राष्ट्रिय पुरस्कार छ। महिला उपन्यासकारहरूका लागि एउटा छुट्टै पुरस्कार छ। अमेरिकी पुलिट्जर पुरस्कारमा उपन्यासको अलग विधा समावेश छ। साहित्यका सबै विधामध्येबाट छानिने नोबेल पुरस्कारमा पनि उल्लेख्य संख्यामा उपन्यासकारहरू विजयी बनेका छन्। तर, पुरस्कारको यो भीडमा पछिल्ला वर्षहरूमा बूकरबारे विमर्श अलि बढी सुनिन्छ।
पुरस्कारमाथि प्रश्न
क्रिकेट, फूटबल आदि खेलमा सट्टेबाजी तथा ‘म्याच फिक्सिङ’ को विषय नौलो होइन। खेल दुनियाँका झ्ेली गतिविधि देखेसुनेकालाई साहित्यिक पुरस्कार बूकरमा पनि बाजीको व्यापार हुने गरेको तथ्य पत्यार नलाग्न सक्छ। हाल ५० हजार पाउन्ड राशिको बूकर पनि निष्पक्ष नरहेको कतिपयको मान्यता छ। बूकरसँग सम्बद्व कतिपयका नजरमा पर्दाभित्र अनेक नाटक मञ्चन हुन्छन् र विजेता चयन उपन्यासको ओजका आधारमा मात्र गरिँदैन।
कुनै वर्ष बूकर पुरस्कारको निर्णायक मण्डलमा समेत रहेकी स्कटल्यान्डकी लेखक ए.एल. केनेडी यस पुरस्कारको निष्पक्षतामा कत्ति पनि विश्वास गर्दिनन्। बूकरबारे तीतो पोख्दै उनी भन्छिन्, “यो पुरस्कार चर्चित लेखक भएको आधारमा, कुन लेखकको कोसँग शारीरिक सम्पर्क छ भन्ने अन्तरङ्ग निकटताको आधारमा, कसले कसलाई लागूपदार्थ पुर्याइरहेको छ त्यो हिमचिमको आधारमा वा को कसको श्रीमान् वा श्रीमती हो भन्ने पारिवारिक सम्बन्धको आधारमा वा कसको पालो पहिल्यै तोकिएको छ त्यसैको आधारमा दिइन्छ।”
सन् १९७२ का बूकर विजेता जोन वर्गरले त सम्मान समारोहमा पुरस्कारको प्रवृत्तिबारे त आलोचना गरे नै, यसका संस्थापक बूकर मकनललाई विशेष निशाना पनि बनाए। क्यारेबियन देशहरूको गरीबीका कारक तिनै व्यापारी बूकर भएको उनको आरोप थियो।
चिनी, रक्सी, खानी लगायत अनेक क्षेत्रमा लगानी गरेका व्यवसायी मकनलले बूकर पुरस्कारको स्थापना सन् १९६८ मा गरेका थिए। पाँच हजार पाउन्ड रकमबाट शुरू भएको यो पुरस्कार बेलायती वा यसका उपनिवेश रहेका देशका लेखकलाई दिइने प्रावधान रह्यो। बीचमा म्यान ग्रूपको लगानी रहँदा सन् २००२ देखि २०१९ सम्म पुरस्कारको नाम म्यान बूकर राखिएको थियो।
म्यान ग्रूप त्यही व्यापारिक कम्पनी हो, जसको बेलायती उपनिवेश क्यारिबियन राष्ट्र गुयनामा राम्रा-नराम्रा सबै क्षेत्रमा एकछत्र लगानी थियो। म्यान ग्रूपले हात झ्किेर यसमा अहिले नयाँ लगानीकर्ता रहे पनि पुरस्कार पहिले झ्ैं बूकर नामबाटै दिइँदै छ।
बूकर र बेलायती विरासत अन्तर्सम्बन्धित छन्। भौतिक उपनिवेश नरहेको अहिलेको अवस्थामा बूकर पुुुुरस्कारलाई बेलायती सांस्कृतिक उपनिवेशको विस्तार पनि मान्न सकिन्छ। यो पुरस्कार शुरूदेखि लामो अवधिसम्म बेलायती उपनिवेशकालको धङधङी प्रकट गर्ने उपन्यासहरूलाई नै दिइयो। पछिल्ला केही दशकमा बेलायती उपनिवेश विरोधी लेखनले समेत स्थान पाएको देखिन्छ।
अफ्रिकी पहिचानलाई अंग्रेजीमै लेखेर जोसेफ कोन्राडहरूले बनाएको भाष्यलाई चुनौती दिने चिनुवा अचेवे पनि बूकरका लागि एक पटक मनोनयनमा परेका थिए। बूकरमा पहिलो अफ्रिकी लेखकको मनोनयन थियो त्यो। तर, बूकर पाउने पहिलो अफ्रिकी सन् १९९१ मा वेन ओक्री बने। धेरै पछि सन् २००७ को अन्तर्राष्ट्रिय बूकर भने अचेवेलाई दिइयो।
सन् २०१५ यताको बूकर सूचीमा त अफ्रिकी मूलका लेखकहरूकै वर्चस्व देखिन्छ। मार्लोन जेम्स, पल विटी, डग्लस स्टुवार्ट, बर्नान्डिन एभारिस्टो, ड्यामोन गाल्गटको उपस्थितिले श्वेत साम्राज्य विरुद्वको प्रतिरोधी आवाज गुन्जिएको छ। अचेवे र ओक्रीले उठाएको प्रतिरोधी आवाज मूलधार बन्दै बहसले नयाँ स्वरूप पाएको छ।
लामो अन्तरालपछि बूकर विजेतामा यस वर्ष दक्षिणएशियाबाट श्रीलंकाली शेहान थपिएका छन्। तर, ५३ वर्षको बूकर इतिहासमा एशियाको उपस्थिति उत्साहजनक छैन। सलमान रुश्दी र माइकल ओन्डाट्जेको अहिले एशियाली सम्बन्ध नभएकाले उनीहरूको चयनलाई पूरै एशियाली प्रतिनिधित्व भन्न पनि नसकिएला।
यी दुई बूकर विजेता बाहेक यसअघि बूकर पाउनेमा अरुन्धती रोय (सन् १९९७, द गड अफ स्मल थिङ्स) र अरबिन्द अडिगा (२००८, द ह्वाइट टाइगर) थिए। राष्ट्रिय-अन्तर्राष्ट्रिय अनेक विषयमा आलोचनात्मक टिप्पणी गर्ने अरुन्धतीलाई बूकर पुरस्कारको विवादास्पद लगानीबारे कहिल्यै पढ्न, सुन्न पाइएको छैन।
मौलिक विषयको दाबेदारी
हरेक वर्ष आयोजना हुने भारतको जयपुर साहित्य महोत्सव संसारभरका लेखकका लागि साहित्यिक तीर्थस्थल बनिसकेको छ। विश्वकै ख्यातनामा लेखकहरू आउने यस महोत्सवले भारतीय साहित्यको बजार विस्तारमा राम्रै भूमिका खेलेको छ। यसको अप्रत्यक्ष लाभ हामी जस्ता सीमावर्ती देशको साहित्यलाई पनि पुग्नेछ। दक्षिणएशियाली आख्यानका लागि दिइने डीएससी पुरस्कार एक वर्ष (२०७६ साल) त पोखरामा आयोजित नेपाल साहित्य महोत्सवमा अर्पण गरिएको थियो।
महोत्सवको हालसम्म नवौं संस्करण भइसक्दा यसमा केही नाम चलेका एशियाली लेखकहरू जोडिइसकेका छन्। मोहम्मद हानिफ, रामचन्द्र गुहा, शशी थरुर, नेड बौमेन, बर्खा दत्त, विनोद मेहता, शोभा डे, उदय प्रकाश, फराह गननवी, वसरत पीर आदि लेखककोे उपस्थितिले नेपालको साहित्यिक गतिविधिको चर्चा थोरै भए पनि सीमापारि समेत फैलिएको छ। यस वर्षको महोत्सवमा बूकर विजेता शेहानको उपस्थितिले अरू विशेष महत्र्व राख्नेछ।
हामीकहाँ वेलाबखत नेपाली साहित्यको अन्तर्राष्ट्रियकरणको पनि बहस हुन्छ। नेपाली लेखन कमजोर नभएको, बरु स्तरीय अनुवाद हुन नसकेको विश्लेषण गरिन्छ। नेपाली अनुवादले संख्या र गुणस्तर दुवै हिसाबमा बिस्तारै फड्को मार्दै छ। पछिल्लो समय आज रमिता छ, कर्नाली ब्लुज, फातसुङका अंग्रेजी अनुवादले सम्भावनाका ढोका खोलेका छन्।
छुदेन काविमो लिखित फातसुङको अनुवादसङ अफ द सोइल (अनुवादक अजित बराल) त यस वर्षको जेसिबी पुरस्कारका लागि समेत मनोनयनमा परेको छ। भारतीय लेखकका अनूदित उपन्यासलाई दिइने प्रतिष्ठित यो पुरस्कारका लागि गीताञ्जलि श्रीको रेत समाधिसँगै फातसुङ सामेल हुनु खुशी र गर्व दुवै हो हाम्रा निम्ति।
अंग्रेजी भाषामा दखल राख्ने नेपाली युवा पुस्ताको साहित्यतर्फ चाख पछिल्लो समय बढ्दै छ। नेपाली परिवेश, संस्कृति, इतिहासप्रति संवेदनशील युवा लेखकहरू लेखनमा मौलिक विषय खोज्न तल्लीन छन्। अनुवादको बजार र पहलकदमी बढिरहेको सन्दर्भमा नेपाली नयाँ-पुराना किताबहरू अनुवाद हुने रफ्तार अब बढ्नेछ।
यी सबै परिदृश्यले बूकर लगायतका अन्तर्राष्ट्रिय पुरस्कारका लागि नेपाली लेखक र हाम्रा मौलिक विषय पनि दाबेदार छन् र विश्व साहित्यको परखमा पर्नेछन् भन्ने सम्भावना बढाएको छ। विविधता समकालीन साहित्यको चाहना हो र बूकर जस्ता पुरस्कार संस्थाले अहिलेसम्म नसमेटिएका हाम्रा भूगोलका कथा पनि खोज्ला।
(खनिया अंग्रेजी साहित्यका विद्यार्थी हुन्। हिमालको २०७९ मंसीर अंकबाट।)