पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका तीन उल्झन
व्यावसायिक उडान गर्ने समय नजिकिंदै गर्दा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलकाे चुनौतीका रूपमा रहेका ल्यान्डफिल साइट, रिठ्ठेपानी डाँडा र प्याराग्लाइडिङको समस्या सुल्झिन सकेकाे छैन।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले व्यावसायिक उडान शुरू गर्न अब डेढ महीना बाँकी छ। अंग्रेजी नयाँ वर्ष अर्थात् १ जनवरी २०२३ (पुस १७ गते)बाट व्यावसायिक उडान थाल्ने घोषणा गरिएको छ।
त्यसका लागि विमानस्थलले आन्तरिक तयारी पूरा भइसकेको जनाएको छ। तर, ल्यान्डफिल साइट स्थानान्तरण, रिठ्ठेपानी डाँडा कटान र प्याराग्लाइडिङको समस्या समाधान भएको छैन।
विमानस्थल नजिकै रहेको ल्यान्डफिल साइटका कारण त्यस क्षेत्रमा भइरहने चराहरूको गतिविधिले विमानस्थलको उडानमा असर पर्ने प्राविधिकहरूले बताउँदै आएका छन्। त्यस्तै, रिठ्ठेपानी डाँडा ४० मिटर काटेर ठूलो जहाज अवतरणका लागि सहज बनाउनुपर्नेछ भने पोखराको पहिचान जस्तै बनेको प्याराग्लाइडिङ बन्द गर्नुपर्ने चुनौती छ।
‘क्यालिब्रेशन’ उडानको तयारी
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको प्रक्रिया अन्तर्गत ‘क्यालिब्रेशन’ उडान (यान्त्रिक उडान परीक्षण)को तयारी हुँदै छ। यसका लागि एरो थाई कम्पनीको जहाज नेपाल आइसकेको छ। मंसीर ५ देखि १२ गतेसम्म क्यालिब्रेशन उडानका लागि आवश्यक व्यवस्थापन भइरहेको आयोजना प्रमुख विनेश मुनंकर्मीले बताए। “प्राविधिक टोलीले त्यो क्षेत्रको अवलोकन गर्ने, सम्याउने, जुन जुन उपकरण जडान भएका छन्, तिनलाई सम्बन्धित विज्ञले हेर्ने काम भइरहेको छ,” मुनंकर्मीले भने।
त्यस्तै, परीक्षणको अन्तिम तयारीका लागि विमानस्थलको एप्रोन, रन–वे लगायत प्राविधिक र भौतिक पक्षमा व्यवस्थापनको काम भइरहेको उनले बताए।
ल्यान्डफिल साइटले समस्या
अहिले पोखरा महानगरपालिका–१४ स्थित चाउथेको सेती किनारमा ल्यान्डफिल साइट रहेको छ। जुन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलोमिटर मात्र पर छ। त्यो गिद्ध लगायत चराचुरुङ्गीको वासस्थान नै बनेको छ।
क्यालिब्रेशन उडानको तयारीका लागि मंसीर २ मा विमानस्थललाई पानीको फोहोराले सफा गर्दा पनि पानी पिउन गिद्ध आइरहेका थिए। उडान हुने स्थलमा दर्जनौं गिद्ध उडिरहेका छन्। यसले विमानस्थलको उडानलाई प्रभाव पार्ने विज्ञहरूले औंल्याउँदै आएका छन्।
विमानस्थल आयोजना प्रमुख मुनंकर्मीले ल्यान्डफिल साइटको व्यवस्थापनका लागि पोखरा महानगरलाई आग्रह गर्दै आएको भए पनि विकल्प ननिस्केको बताए। “म आएको नै पाँच वर्ष भयो। त्योभन्दा पहिल्यैबाट महानगरलाई ल्यान्डफिलको विकल्प खोज्न आग्रह गरिएको थियो,” मुनंकर्मीले भने, “विकल्पका लागि ठाउँ देखाइएको छ, हामी पनि सहभागी भएर सुझाव दिंदै आएका छौं, तर समाधान भएको छैन।”
नयाँ ल्यान्डफिल साइटका लागि पोखरा वडा नं. १६ र २० बीचमा पर्ने क्षेत्र छनोट गरिएको थियो। स्थानीय बासिन्दाले विरोध गरेपछि पोखरा–३३ मा बनाउने छलफल चलेको थियो। त्यहाँ पनि स्थानीय बासिन्दाले विरोध गर्दा ल्यान्डफिल साइटको टुङ्गो लाग्न सकेको छैन।
पोखरा महानगरका मेयर धनराज आचार्यले ल्यान्डफिल साइटको विकल्प अझै नभेटिएको बताए। ल्यान्डफिल साइटका लागि अध्ययन भइरहेको उनको भनाइ छ।
चराको गतिविधि कम गर्न मंसीर ५ गतेबाट महानगरलाई ल्यान्डफिल साइटमा फोहोर नफाल्न आग्रह गरिएको बताए। महानगरले केही दिन म्याद थप्न आग्रह गरेको बताए। अहिले क्यालिब्रेशन उडानका लागि महानगरसँग समन्वय गरी ल्यान्डफिल साइट छोप्ने तयारी भइरहेको उनको भनाइ छ। त्यस्तै, महानगरका मेयर आचार्यले क्यालिब्रेशन उडानका लागि ल्यान्डफिल साइट सार्न नपर्ने र केही समयका लागि अस्थायी रूपमा अन्यत्र फोहोर व्यवस्थापन गरिने बताए।
हाल विमानस्थलमा चरा भगाउन गाडी तैनाथ छ भने ‘डिभाइस’ समेत राखिने बताइएको छ। चराविद्हरूका अनुसार, चराचुरुङ्गीले आफ्नो वासस्थान सार्न ६ महीनाभन्दा बढी समय लगाउने गर्छन्।
काटिंदै रिठ्ठेपानी डाँडा
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ‘इन्जिनीयरिङ, प्रोक्युरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) कन्ट्र्याक्ट’ मा रिठ्ठेपानी डाँडाको विषय उल्लेख थिएन। विमानस्थल निर्माणको काम अघि बढेपछि मात्र अध्ययन गर्दै जाँदा पूर्वपट्टि रहेको रिठ्ठेपानी डाँडा उडानका लागि अवरोधका रूपमा देखा पर्यो।
अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि यो डाँडा ४० मिटरसम्म कटान गर्नुपर्ने प्राविधिकहरूले औंल्याए। यो डाँडा कटानको प्रक्रिया लामो समय अड्कियो। अहिले भने कटान थालिएको आयोजनाले जनाएको छ।
अहिले क्यालिब्रेशन उडानका लागि रिठ्ठेपानी डाँडा १४ मिटर काटिसकिएको आयोजना प्रमुख मुनंकर्मीले बताए। उनका अनुसार, कटानको काम जारी छ।
प्याराग्लाइडिङ पोखरामै राख्न सकरात्मक
विमानस्थल सञ्चालन भएपछि अन्तर्राष्ट्रिय उडानलाई पोखराको प्याराग्लाइडिङ अवरोध बन्ने देखिएको छ। प्याराग्लाइडिङ उडान क्षेत्र स्थानान्तरण गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले निर्देशन दिएको छ।
नेपाल हवाई खेलकूद संस्थाले भने प्याराग्लाइडिङलाई पोखरामा नै व्यवस्थित गर्नुपर्ने अडान लिएको छ। ‘प्याराग्लाइडिङलाई पोखरामै राख्ने विषयमा छलफल भइरहेको छ, सबै निकाय सकारात्मक देखिए पनि निर्णय हुन सकेको छैन,” संस्थाका अध्यक्ष सुनLल भट्टराईले भने।
क्यालिब्रेशनको उडानपछि यस विषयमा छलफल हुने उनले बताए। “अहिलेसम्म भएको अनौपचारिक छलफलमा विमानलाई ‘लेफ्ट टर्न’ मा सार्न प्रक्रिया अघि बढेको छ,” अध्यक्ष भट्टराईले भने, “जसले गर्दा हाम्रो ‘एअर स्पेस’ को क्षेत्र सराङकोटमा असर पर्दैन।”
अन्तर्राष्टिय विमानस्थलको सुरक्षित क्षेत्रमा प्याराग्लाइडिङ हुने सराङकोट पनि पर्छ। कहिलेकाहीं विमान अवतरण हुन नसक्दा वा उचाइ लिनुपर्दा सराङकोट क्षेत्र प्रयोगमा आउने विज्ञहरू बताउँछन्। जहाज दायाँतिर लाग्दा असर पर्ने देखिएकाले उड्डयन प्राधिकरणले प्याराग्लाइडिङ हटाउन निर्देशन दिएको थियो।
प्याराग्लाइडिङ हटाउन नहुने नेपाल हवाई खेलकूद संस्थाको अडान छ। “पोखराको पर्यटनका लागि महत्त्वपूर्ण गतिविधि बनेको प्याराग्लाइडिङलाई यहाँबाट विस्थापित गर्नु हुँदैन भन्ने हाम्रो धारणा हो,” अध्यक्ष भट्टराईले भने, “विमानस्थल र प्याराग्लाइडिङ दुवैलाई व्यवस्थित गरेर लैजानुपर्छ भन्नेमा जोड दिएका थियौं। सोही अनुसार सकारात्मक कुराकानी भइरहेको छ।”
कहाँ पुग्यो विमानस्थल निर्माण?
आयोजनाका अनुसार, विमानस्थलको ९८.५ प्रतिशत भौतिक काम पूरा भएको छ। अहिले प्राविधिक पक्षमा व्यवस्थापनको काम भइरहेको छ। “क्यालिब्रेशन उडान र त्यसपछि ‘डेमोस्ट्रेशन’ उडान भएसँगै विमानस्थलको काम पूरा हुनेछ,” आयोजना प्रमुख मुनंकर्मीले भने।
क्यालिब्रेशन उडान भएपछि विमानस्थल उडानका लागि तयार भए/नभएको यकीन हुने उनले बताए। त्यसैको प्रतिवेदनका आधारमा विमानस्थलमा वायुसेवा कम्पनी नियमित उडानका लागि तयार हुने मुनंकर्मीको भनाइ छ।
पोखराको चाउथेमा तीन हजार ८९९ रोपनी क्षेत्रफलमा २२ अर्ब लगानीमा निर्माण भएको अन्तर्राष्ट्रिय विमानस्थल अन्तिम चरणमा पुगेको छ। चिनियाँ कम्पनी सीएएमसी इन्जिनीयरिङले सन् २०१७ नोभेम्बरबाट निर्माण थालेको हो। अब नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको पर्खाइमा छ।