चुनावका दिन पनि गाडी चलाउने व्यवस्था गर्न निर्वाचन आयोगको निर्देशन
मतदानका दिन मंसीर ४ गते पनि यातायातका साधन सञ्चालन हुने व्यवस्था गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ।
प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि मंसीर ४ गते चुनाव हुँदै छ। निर्वाचन आयोगले बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्ने समय तोकेको छ।
आयोगले मतदानका दिन आवश्यक सेवाका लागि सञ्चालन हुने तथा सञ्चारकर्मी, पर्यवेक्षक र अनुगमनकर्ता लगायतका सवारी साधनका लागि अनुमति लिनुनपर्ने व्यवस्था गरिएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए। उनीहरूले परिचयपत्रका आधारमा सवारी साधन चलाउन पाउने आयोगले जनाएको छ।
आयोगले शनिबार पत्रकार सम्मेलनको आयोजना गरी मतदानलाई असर नपर्ने गरी अन्य सवारी साधन सञ्चालनको व्यवस्था गर्न पनि सबै प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको जनाएको छ। “आयोगबाट स्वीकृत मापदण्ड बमोजिम निर्वाचन स्वच्छता र स्वतन्त्रतामा प्रतिकूल असर नपर्ने गरी यातायातको व्यवस्थित सञ्चालन तथा सवारी आवागमनको उपयुक्त प्रबन्ध मिलाउन सम्बन्धित प्रमुख जिल्ला अधिकारी तथा अन्य तोकिएका अधिकारीहरूलाई निर्देशन दिइसकिएको छ,” प्रमुख निर्वाचन आयुक्त थपलियाले भने।
त्यस्तै, आयोगले मौन अवधिमा हुने निर्वाचन आचारसंहिता विपरीतका गतिविधि रोक्न विशेष टोली परिचालन गरिएको जनाएको छ। निर्वाचन अनुगमन टोली, निर्वाचनमा खटिएका कर्मचारी तथा सुरक्षाकर्मीले सूक्ष्म अनुगमन गरिरहेको थपलियाले बताए। यससँगै सञ्चार माध्यम र सामाजिक सञ्जालमा आएका सूचनालाई पनि आयोगले हेरिरहेको जनाएको छ।
आयोगले निर्वाचनमा भाग लिएर आफ्नो मताधिकार प्रयोग गर्न सबै मतदातालाई आग्रह गरेको छ।