‘मेरो शव महिलाले पनि बोक्नू’
नेपाली साहित्यमा शिरीषको फूल फुलाएर ढकमक्क पार्ने र अनिँदो पहाडलाई झकझकाएर ब्युँताउने जब्बर हठी अनि अविश्रान्त, अविचलित जुझारु लेखिकाको अवसान कुन स्थितिमा भयो?
२०४६ सालको आन्दोलनको पूर्वसन्ध्यादेखि नै पारिजातको धपेडी बढेको थियो। उनी साहित्य लेखनभन्दा राजनीतिक दलको नभएर वैचारिक राजनीतिका गतिविधिमा बढी आकृष्ट हुन पुगिन्। लेखनप्रति उनको एकाग्रता कता हरायो, कता! उनी सधैं सक्रिय थिइन्। उनी प्रलेसमा संलग्न भइन्, प्रतिभा समूहमा सक्रिय भइन्, सिम्मा नाटक लिएर नेपाल र भारत पुग्ने टोलीमा सामेल भइन्।
मानव अधिकारवादी संगठनमा पुगिन्। पछिल्लो समयमा गैरसरकारी संघसंस्था जुन उनको संलग्नतामा खुलेको थियो, त्यसमा उनको सक्रिय सहभागिता थियो। अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा समेत उनी बढी संलग्न हुन थालेकी थिइन्।
यी सबका कारण उनलाई मानसिक मात्र नभई शारीरिक थकान बढी दियो। उसै पनि अस्वस्थ पारिजातलाई यी गतिविधिले पार्नुसम्म हत्तु पारिदिए। तर, यसैमा पारिजात रमाउन थालिन्। मान्छे जे कुरामा रमाउँछ, उसले त्यसैलाई प्राथमिकतामा राख्छ।
पारिजातको प्राथमिकतामा अखबारी लेखन पर्यो; गैरसरकारी संघसंस्थाहरूका गतिविधि, मीटिङ, सेमिनार आदि परे। विभिन्न संघसंस्थाका कार्यक्रम, उद्घाटन, भाषण र छलफलमा पनि उनी सहभागी भइन्। यसले पारिजातको गम्भीर लेखनलाई प्राथमिकतामा पर्नै दिएन। उनको स्वास्थ्यमा पनि प्रतिकूल असर पर्न थाल्यो। तर, विभिन्न सेमिनारमा भाग लिएर त्यसको कक्टेल डिनरप्रियताले उनलाई तात्कालिक आनन्द र सन्तोष दिए पनि शरीरले थाम्न सक्ने कुरो थिएन। विभिन्न जेलमा यात्रा गर्नु, त्यो पनि काठमाडौंभित्र मात्र होइन, काठमाडौं बाहिर पनि, त्यो पारिजातको शरीरले थेग्न सक्ने कुरा थिएन, सकेन पनि।
उनको तत्कालीन परिस्थतिबारे पछि रायनले लेखे-
फेरि दिदी प्राज्ञिक सङ्घर्षतिर सक्रिय भएर लाग्नुभयो। कहिले सिंहदरबारको प्रधानमन्त्रीको कोठाका मिटिङमा, कहिले आफ्नै कोठाको मिटिङमा। कहिले सडक आन्दोलनमा त कहिले जुलुस लिएर सिंहदरबारको गेटमा धर्ना दिनेमा सक्रियतासाथ जोश र उत्साहका साथ लाग्नुभयो। यहीबीचमा अखिल नेपाल राष्ट्रिय महिला मञ्च, बन्दी सहायता नियोग संस्था स्थापना गर्नुभयो। संस्थापक अध्यक्ष भएर सक्रिय पनि हुनुभयो। यसबाहेक अन्य सङ्घसंस्था आदि जसले जहाँ बोलाए पनि सरिक हुनुहुन्थ्यो। यसकारण स्वास्थ्यले गर्दा साधारण रोगले पनि दिदीलाई सिरियस पाथ्र्याे। (रायनः ‘सम्झनाको दहभित्र बल्छी हान्दा’, पारिजात स्मृतिग्रन्थः २०५१, पृष्ठ १२१)
दिदीको स्वास्थ्य कामचलाउ मात्र थियो। राम्रो भइसकेको थिएन। फेरि आफ्नो काममा दिदी जुट्न थालिहाल्नुभयो। भद्रगोल, सेन्ट्रल जेल, नख्खु जानु, बन्दी भेट्नु। उनीहरूका समस्या सुल्झाउनु, जिल्लाको जेलमा मिटिङ गर्न जानु। मानव अधिकार सम्बन्धी समस्यासँग जुध्नुले शरीरलाई उक्सिन दिएन। त्यसमाथि पनि यहीबीचमा उहाँलाई काठमाडौं भित्र्याउन सूत्रधारका रूपमा उभिन पुगेका दाजु कुमार र उहाँकी श्रीमतीकी दिदीकी भाउजू केही समयको अन्तरालमा खस्नुले उहाँको भित्री मनमा निकै ठूलो चोट परेको थियो। विभिन्न कुराले गर्दा दिदीको स्वास्थ्य चाहिँ सुध्रन सकेन। (रायनः ‘सम्झनाको दहभित्र बल्छी हान्दा’, पारिजात स्मृतिग्रन्थः २०५१, पृष्ठ १२१-२२)
२०४९ फागुनमा पारिजात वीर अस्पताल भर्ना भइन्। उनको उपचारका लागि सरकार र विविध निकायमा हारगुहार गर्दा पनि कतैबाट सहयोग जुट्न सकेन। प्रगतिशील लेखकहरूका तर्फबाट प्राज्ञिक संघर्ष समितिको नेतृत्व गरेकी उनलाई गैरवामपन्थी सरकार र एकेडेमीले चासो दिएन। बरू प्रलेसका तर्फबाट खगेन्द्र सङ्ग्रौला लगायत लेखक, कविहरूको प्रयासले चन्दा उठाइयो। र, उठेको १० हजार नगद पारिजातलाई अस्पतालको बेडमा खगेन्द्र सङ्ग्रौला हस्ते हस्तान्तरण गरियो-
दिदी वीर अस्पतालमा भर्ना भइन्। उनको उपचारमा सघाउ पुर्याउन प्रलेसले चन्दा अभियान चलायो। १० हजार रुपियाँ उठ्यो र सङ्घको महासचिवका नाताले दिदीलाई पैसा हातलागि गर्न म अस्पताल पुगें। उनी बसिरहेकी थिइन्। साथमा झ्यालनिर बसेकी थिइन्, सत्यभामा माथेमा। (खगेन्द्र सङ्ग्रौलाः ‘सम्झनामा पारिजात दिदी’, आफ्नै आँखाको लयमा, फाइनप्रिन्ट आइएनसी, प्रथम संस्करणः २०६८, वैशाख, पृष्ठ १३४)
...
सङ्ग्रौलाजी, कहाँबाट आयो यो पैसा?
यो प्रलेसले उठाएको हो?
यहाँ कति छ?
१० हजार?
१० हजार।
दिदीका आँखामा आशा र कृतज्ञताको सघन भाव झल्क्यो। निकै भावुक भएर उनले भनिन्- “जनताका कलाकारलाई सघाउने को छ र? त्यै प्रगतिशील लेखक सङ्घ न हो।” उनी भावविभोर भइन्। उनका आँखामा आँसु रसाएको दृश्य जीवनमा मैले पहिलो पटक देखें। अनि तत्कालै उनको मुद्रा परिवर्तन भयो। यसो हेर्छु, अनुहार हर्षले गद्गद छ। सुकेका र बाङ्गिएका हाडे औंलाले उनले रुपियाँको मुठो समातिन् र सत्यभामालाई त्यो मुद्राको तस्बिर खिच्न लगाइन्। (खगेन्द्र सङ्ग्रौलाः ‘सम्झनामा पारिजात दिदी’, आफ्नै आँखाको लयमा, फाइनप्रिन्ट आइएनसी, प्रथम संस्करणः २०६८, वैशाख, पृष्ठ १३४)
केही दिन अस्पताल बसेपछि पारिजात घर फर्किइन्। उनी झनै गलेकी थिइन्। जीवनदेखि थाकेको अनुभव गरिरहेकी थिइन्। यो अस्पताल जानुअघि नै केही महीनादेखि उनले बतासिएका कुरा गर्न थालेकी थिइन्। विभिन्न साहित्यकारलाई फोन गरेर बहकिएका र सिलसिलाहीन कुरा गर्न थालेकी थिइन्। उनमा राजनीतिले दिएको निराशाउपर असन्तुष्टि थियो। आफ्नै प्रगतिशील साथीहरूले आफूलाई गलत बुझेकामा पनि आक्रोश थियो।
यसपल्टको अस्पताल बसाइपछि अलिकति मृत्युको पूर्वाभासले पारिजातको मनमा घर बनाएको हो कि भन्ने रायनलाई लाग्यो। एक दिन पारिजातले भनिन्, “राजु, तिमीले मेरो जीवनमा लाएको गुन कसरी तिर्ने होला? ऋण बोकेर जान्छु जस्तो छ। मसँग त्यो गुनको बदला दिने समय छैन जस्तो छ।”
यो कुरा सुनेपछि रायनले आत्मीय रिस देखाउँदै भनेका थिए, “हैन, के नचाहिँदो कुरा गरेको? किन बत्ताएर कुरा गरेको? के अरू कुरा छैन र, यस्तो कुरा गरेको?”
रायनका यस्ता कुरा सुनेपछि पारिजात चूप लागेकी थिइन्। उनी धेरै कुरा भन्न चाहन्थिन्। तर, रायनले त्यसो भनेपछि उनी थप केही भन्नुको साटो चूप लागिन्। त्यस दिन उनी अरू दिनभन्दा बढी भावुक भएकी थिइन्।
२०५० कात्तिक ३ को बिहान रायनलाई पारिजातको घरबाट बोलावट आयो। रायन कुद्दै, फाल हाल्दै पारिजातको कोठामा पुगे। पारिजात खाटमा बसिरहेकी थिइन्। के भो भनी उनले सोधे।
पारिजातले भनिन्, “औषधि खाँदा घाँटीमा छोएर गए जस्तो अनुभव भयो। त्यसले घाँटी कोतर्दै लगे जस्तो लाग्यो। दम पनि बढिरहेछ। के गर्ने?”
रायनको दिमागले तुरुन्त ठम्यायो, पारिजातको स्थिति ठीक छैन। उनले तत्काल ट्याक्सी मगाए र हतारहतार ट्याक्सीमा राखे। ट्याक्सीमा गइरहँदा पनि पारिजातलाई असजिलो भइरहेको थियो। वीर अस्पताल पुग्ने बित्तिकै उनले पारिजातलाई बोकेर भित्र लगे। अनि उनलाई तत्काल अक्सिजन दिइयो। तर, उनलाई अक्सिजनले होलो अनुभव भएन। पारिजातले आत्तिँदै भनिन्, “अक्सिजनले त खै छोएन। रिलीफ नै भएन।”
यसरी उनले पहिलोपल्ट आफ्नो अवस्था नाजुक भएको महसूस गरिन्। पहिले पहिले अक्सिजन लगाउने बित्तिकै रिलीफ महसूस हुन्थ्यो।
पारिजातलाई रायन र सुकन्याले अडेस लाउन लाएर पालैपालो राखे। पारिजातलाई झन् चाप्दै ल्यायो। जस्तोसुकै वेलामा र अघिल्लो पल्टसम्म अस्पताल आउँदा नआत्तिने, हरेस नखाने पारिजातले यस पटक एकदमै हरेस खाइन्। उनले रायनलाई भनिन्, “राजु, अब म तिमीलाई धेरै दुःख दिन्नँ। पछाडि एकदम दुखिरहेछ, हातले अलिकति मसारिदेऊ।”
पारिजात छोटो छोटो दम लिँदै थिइन्। उनको अनुहारमा चिटचिट पसिना आउन थालेको थियो। अनि हारगुहार गरेर डाक्टर बोलाउने काम भयो। डाक्टर ल्याएपछि उनको स्वास्थ्य स्थितिले माग गरे अनुसार उनलाई आईसीयूको कोठामा सारियो। उपचारको क्रम शुरू भयो। तर, पारिजातको स्थिति क्रमशः बिग्रिन थाल्यो। आईसीयूमा सारेपछि पारिजातको मनोबल झन् एकदमै घट्यो। जीवनभर कसैसँग नहार्ने उनी अब आफैंसँग हारेको महसूस गर्दै थिइन्।
अचानक पारिजातले रायनलाई साउतीको स्वरमा भनिन्, “राजु, मलाई थाहा छ, म मरें भने तिमी आफूलाई सम्हाल्न सक्छौ। तर, सुकनले मेरो मृत्यु सहन सक्तिन होला। तिमीले सुकनलाई सम्हाल्नू है।”
पारिजातको यो चिन्ताजनक अवस्थालाई ख्याल गर्दै सांसद कमल चौलागाईं र लीलामणि पोखरेल श्री ५ को सरकारलाई दबाब दिन दौडिए, विदेशमा लगेर भए पनि पारिजातलाई उपचार गराउन। नागरिकता नभए पनि पासपोर्ट बनाउन तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले निर्देशन दिए। पासपोर्ट बन्यो। तर, हस्ताक्षर गर्ने स्थितिमा थिइनन् पारिजात। अन्ततः ल्याप्चे लगाएर उनलाई पासपोर्ट हस्तान्तरण गरियो। र, ब्यांकक लैजान सकिन्छ कि भन्ने झिनो आशा रह्यो। तर, पारिजातको अवस्था झन् झन् नाजुक बन्दै गयो।
४ गते साँझपखसम्म डाक्टरहरूले अबको केही घण्टा मात्र पारिजातको जीवन बाँकी रहने जनाउ दिइसकेका थिए। उनी ठूलो पीडा खपिरहेकी थिइन्। अस्पतालमा सुकन्या, हरिगोविन्द लुइँटेल, खगेन्द्र सङ्ग्रौला, सत्यभामा, आनन्ददेव भट्ट आदि आलोपालो पारिजातलाई कुरिरहेका थिए। डा. अरुणा उप्रेती पनि मनमनै ‘हे भगवान्! पारिजातलाई छिट्टै मुक्ति देऊ’ भनी कामना गरेर गइसकेकी थिइन्। उनलाई पारिजातको पीडाले झन् पीडा दिएको थियो। पारिजात छिटै बिदा हुँदै छिन् भन्ने अड्कल भइसकेको थियो। आनन्ददेव भट्टले पनि पारिजातको क्षीण रहेको चेतनामा उनको योगदानको भाषण दिएर गइसकेका थिए।
वैशाख ४ ले रातको १२ बजे बिदा लियो र अँध्यारोमै ५ को दिन उदायो। पारिजात भीषण पीडामा छटपटाइरहेकी थिइन्। उनको चेतना लगभग समाप्त भइसकेको थियो। जब घडीको सुई बिहानको ४ मा पुग्यो, पारिजातको जीवनको सुई भने टक्क थामियो। नेपाली साहित्यमा शिरीषको फूल फुलाएर ढकमक्क पार्ने र अनिँदो पहाडलाई झकझकाएर ब्युँताउने जब्बर हठी अनि अविश्रान्त, अविचलित जुझारु लेखिकाको अवसानले त्यहाँ कुरुवा बसेकाहरू साँक्कसुँक्क गर्न लागे।
कोही सुकन्यालाई खबर दिन थाले। कोही रेडियो नेपाल, गोरखापत्र, रासस लगायतमा सूचना प्रवाहका लागि दौडिए। अनि रेडियो नेपालको बिहानको सात बजेको समाचारले सुप्रसिद्ध लेखिका पारिजातको निधन भएको खबर सुनायो।
पारिजात २०४६ सालपछि गठित नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठानसँग रुष्ट थिइन्। कुनै टुङ्गोमा नपुगी विसर्जित प्राज्ञिक संघर्ष समितिकी नेत्री थिइन्। संघर्ष समितिका माग पूरा नभएकाले प्रज्ञा-प्रतिष्ठानका कुनै पनि गतिविधिमा भाग नलिने तथा त्यसका कुनै प्रकाशनमा रचना समेत नदिने कठोर निर्णय गरिसकेकी थिइन्। उनले आफ्नो देहान्तपछि शव एकेडेमीमा नलैजानू भन्ने इच्छा व्यक्त गरेको हुँदा उनको शवलाई टुँडिखेलको खुलामञ्चमा राखिएको थियो।
अपराह्नसम्म साहित्यकारहरू खासै आएका थिएनन्। प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र उनकी सुपुत्री सुजाता कोइराला अपराह्न फूलका गुच्छा लिएर श्रद्धाञ्जली अर्पण गर्न आएका थिए। अनि त्यहाँ उपस्थित निर्मल लामासँग केही बेर भलाकुसारी गरेर फर्किएका थिए।
अपराह्नपछि साहित्यकारहरूको जमात खुलामञ्च अगाडि आयो। त्यति वेला उनको शवको छेउमा अस्मिताकी सम्पादक सुसन मास्के, साहित्यकार गोविन्द गिरी प्रेरणा, उनकी पत्नी र एकाध अरू व्यक्ति थिए। खासमा शनिबारको दिन परेकाले खाना खाइवरि दिउँसोतिर मात्र साहित्यकारहरू गएका थिए। विशेष गरी प्रगतिशील साहित्यकार, कम्युनिष्ट विचारधारा र पारिजातका आत्मीयहरूको भेला थियो, मलामीका लागि। शव उठाउनुअघि संक्षिप्त श्रद्धाञ्जलीको कार्यक्रम भयो।
सरकारले पारिजातको उपचारमा बेवास्ता गरेकामा क्षोभ प्रकट गरिएको थियो। पारिजातलाई पासपोर्ट दिन समयमै कदम नउठाएकामा आक्रोश व्यक्त गर्दै पारिजातले ल्याप्चे लगाएको पासपोर्ट त्यहाँ प्रदर्शन गर्दै सरकारको तीखो आलोचना गरिएको थियो।
त्यसैबीच कसैले पारिजातको शवलाई महिलाहरूले नै किन काँध नदिने भनेर प्रस्ताव गरे। र, सुकन्याले मुन्टो हल्लाएपछि जागरुक महिलाहरू सरिता महर्जन, लक्ष्मी श्रेष्ठ, निर्मला गौतम लगायतले काँध दिए। तर, राष्ट्रिय नाचघरभन्दा पर भने लान सकेनन्। र, पुरुषहरूले नै पछि काँध दिए। उनको पार्थिव शरीरलाई म्हैपीस्थित निवासमा लगेर तामाङ जातिको परम्परागत कर्म गरेपछि पारिजातकै इच्छा अनुसार स्वयम्भूमा लगेर दागबत्ती दिइएको थियो। यसरी यस युगकै चर्चित साहित्यकार सुश्री पारिजात दार्जीलिङको लिङ्गिया चियाबगानमा जन्मिएर नेपाली साहित्य अनि समाजको उत्थान र जागरणमा आफ्नो जीवन बिताएर स्वयम्भूको माटोमा विलीन भइन्। यसलाई आहुतिले यसरी सम्झिए-
पारिजातको अन्त्येष्टिपछि मलामी कम भएको अनुभूति धेरैलाई भयो। त्यो रात खगेन्द्र सङ्ग्रौलाले शक्ति लम्साललाई फोन गरेर भनेछन्- “पारिजातको मलामी त यो गति भो, तपाईंको मलामी कति होलान्, शक्तिजी?” यो प्रश्नले आगो भएका शक्ति लम्सालले ‘जनादेश’ पत्रिकाको अफिसमा भन्थे- “मैले पनि कार्ल मार्क्सको मलामी छ जना थिए। सवाल मलामीको होइन, विचारको हो भन्दिएँ।” (आहुतिः ‘मैले भेटेका नौ बहिनी पारिजात’, पाण्डुलिपि, वर्ष १, अङ्क ७ः २०७१, कात्तिक-मंसीर, पृष्ठ १६)
अन्तिम इच्छाहरू
पारिजातका अन्तिम इच्छाहरूका विषयमा उनको देहान्तपछि निकै बहस भए। कतिले त्यसलाई मनगढन्ते हो पनि भने। तर, पारिजातले आफू सारसौंदो अवस्थामा छँदै पाँच वटा आफ्ना अन्तिम इच्छा प्रत्यक्ष भनेको हरिगोविन्द लुइँटेल बताउँछन्। ती यस प्रकार थिए-
- मरेपछि एकेडेमीमा नलैजानू
- आफ्नो अन्त्येष्टि स्वयम्भूमा गर्नू
- शवमा हरियो सल ओढाइदिनू
- सिरानीमा लेनिनको फोटो राखिदिनू
- सकिन्छ भने शरीरलाई महिलाले पनि बोक्नू
उनका यी पाँचै इच्छालाई खुलामञ्चमा अन्त्येष्टिका लागि शव उठाउनुअघि आयोजित संक्षिप्त शोकसभामा उद्घोषण गरिएको थियो।
(फाइनप्रिन्ट बूक्स प्रकाशक रहेको साहित्यकार पारिजातको जीवनी ‘सुश्री पारिजात’ यही मंसीरबाट बजारमा आउँदै छ। हिमालको २०७९ मंसीर अङ्कबाट।)