सोलुखुम्बुमा मतदान अधिकृत मृत भेटिए
सोलुखुम्बुमा मतदान गराउन खटिएका एक जना मतदान अधिकृत मृत भेटिएका छन्।
प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि नेचासल्यान गाउँपालिका–४ नेचाबेतघारीस्थित फुर्के सामुदायिक वन मतदान केन्द्रमा खटिएका मतदान अधिकृत ५६ वर्षीय बिल्टु राय सुतेकै ठाउँमा मृत भेटिएका हुन्। अन्य कर्मचारीले उठाउन जाँदा राय शनिबार बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
राय शुक्रबार सकुशल सुतेका थिए। उनी निर्वाचन सामग्री र अन्य कर्मचारी सहित मंसीर १ गते मतदान केन्द्र पुगेका थिए।
मतदान अधिकृत रायको मृत्यु भएपछि सहायक मतदान अधिकृत मार्फत वा अर्को मतदान अधिकृतको व्यवस्था गर्ने विषयमा छलफल भइरहेको जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुका जिल्ला निर्वाचन अधिकारी रामनारायण शाहले बताए।
“सहायक मतदान अधिकृतलाई नै मतदान अधिकृतको काम गर्न भनेका छौं। तर, सक्दिनँ भनिरहनुभएको छ,” शाहले भने, “सके उहाँले नै मतदान अधिकृतको काम गर्नुहुन्छ, नसक्ने अवस्थामा अर्को मतदान अधिकृतको व्यवस्था गर्नेछौं।”
घटनाको विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको छ। यसका लागि प्रहरी टोली खटाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।