नेपालले जित्यो एकदिवसीय शृङ्खला
नेपालले यूएईसँगको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला जितेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको तेस्रो एकदिवसीय खेलमा यूएईलाई ६ विकेटले हराउँदै नेपालले शृङ्खला जितेको हो। तीन खेलको शृङ्खलामा नेपालले दुई खेल जित्यो। पहिलो खेल भने यूएईले जितेको थियो।
शुक्रबार यूएईले दिएको १७७ रनको लक्ष्य नेपालले ४०.१ ओभरमा चार विकेट गुमाएर पूरा गरेको छ। नेपालका लागि आशिफ शेखले ८८, ज्ञानेन्द्र मल्लले ६४ रन, रोहित पौडेलले १० र अर्जुन साउँदले नौ रन बनाए।
यूएईका लागि हजरत बिलाल र आयान अफ्जल खानले एक-एक विकेट लिए।
यसअघि टस हारेर ब्याटिङ गरेको यूएईले राम्रो शुरूआत गर्न सकेन। नौ विकेटको क्षतिमा १७६ रन मात्रै बनाउन सक्यो।
यूएईका लागि आयान अफ्जल खानले अर्धशतक प्रहार गरे। उनले अन्तिम विकेटका लागि हजरत बिलालसँग ८३ रनको साझेदारी गरे।
यो अन्तिम विकेटका लागि भएको चौथो ठूलो साझेदारी हो। बिलालले २० रन बनाए।
त्यस्तै, नेपालका लागि गुल्सन झा, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले दुई-दुई तथा सोमपाल कामी र ललित राजवंशीले एक-एक विकेट लिए।