गुराँस नचिन्ने विज्ञ
हल्का गुराँस जस्तो देखिने ‘डिप्लार्चे मल्टिफ्लोरा’ लाई अस्ट्रेलियाली वनस्पतिविद्ले पर्याप्त आधार र पूर्ण अध्ययन नतीजा विना नै गुराँस जातिमा गरेको स्थानान्तरण र नामकरण सर्वथा गलत हो।
संसारभर गुराँस (रोडोडेन्ड्रन)का एक हजारभन्दा बढी प्रजाति छन्। नेपालमा पाइने ३२ प्रजातिका गुराँसमध्ये एक बाहेक सबै प्रजाति बेलायतका वनस्पतिविद्ले पत्ता लगाएका हुन्। सन् १८४८ मा नेपाल आएका बेलायतका वनस्पतिशास्त्री एवम् खोजकर्ता जोसेफ डाल्टन हूकरले नेपालमा पाइने गुराँसमध्ये १८ प्रजाति पत्ता लगाएका थिए। तर, तिनको धेरैजसो नमूना भारतबाट सङ्कलन गरिएका थिए।
नेपालमा हालै गुराँसको नयाँ प्रजाति ‘रोडोडेन्ड्रन चेम्बरलेनी’ थपिएको जानकारी क्रमशः २०२०, २०२१ र २०२२ मा प्रकाशित तीन पुस्तक फ्लावरिङ प्लान्टस् अफ प्रोभिन्स नं. १ (इस्ट नेपाल) [प्रकाशकः प्रदेश १ सरकार], अ ह्यान्डबूक अफ द फ्लावरिङ प्लान्टस् अफ नेपाल [प्रकाशक: वनस्पति विभाग/राष्ट्रिय हर्बेरियम तथा वनस्पति प्रयोगशाला] र प्लान्टस् अफ नेपाल [प्रकाशक: हेरिटेज पब्लिशर एन्ड डिस्ट्रिब्युटर] मा उल्लेख छ। नेपालमा रोडोडेन्ड्रन चेम्बरलेनी पाइने जानकारी रोयल बोटानिक गार्डेन्स क्यु लन्डनको वेबसाइट प्लान्टस् अफ द वर्ल्ड अनलाइनमा पनि समावेश छ।
तर, रोडोडेन्ड्रन चेम्बरलेनी भनिएको वनस्पति गुराँस जातिको होइन। यो त गुराँस परिवार इसिकेसी अन्तर्गतको 'डिप्लार्चे मल्टिफ्लोरा' हो, जुन अलि अलि गुराँस जस्तो देखिन्छ। डिप्लार्चे मल्टिफ्लोरालाई लहडबाजी रूपमा गुराँस जातिमा स्थानान्तरणको प्रसङ्ग अस्ट्रेलियाका वनस्पतिविद् लिन्ड्ली एलन क्रावेनसँग जोडिन्छ। अपूरो अध्ययन नतीजालाई आधार बनाएका उनले त्यसप्रति आफूलाई शङ्का हुँदाहुँदै गलत स्थानान्तरण गरे। डिप्लार्चे मल्टिफ्लोरालाई रोडोडेन्ड्रन चेम्बरलेनी नामकरण गर्नु सर्वथा गलत थियो, र त्यो स्थानान्तरण धुर्त्याइँपूर्वक गरिएको यो पंक्तिकारको ठम्याइ छ। विडम्बना के भने, क्रावेनको त्यो कामलाई वनस्पतिको अनुसन्धान तथा प्रकाशनको क्षेत्रमा विश्वप्रख्यात रोयल बोटानिक गार्डेन्स क्युले सदर गरिदियो।
रोडोडेन्ड्रन चेम्बरलेनी गुराँसको प्रजाति होइन भन्ने प्रष्ट्याउनु यो लेखको उद्देश्य हो।
अध्ययन इतिहास
यो वनस्पतिको नमूना सर्वप्रथम सन् १८४९ मा जोसेफ डाल्टन हूकरले भारतबाट सङ्कलन गरेका थिए। वैज्ञानिक अनुसन्धानपछि हूकर र उनका साथी थोमस थोम्सनले यसको नाम डिप्लार्चे मल्टिफ्लोरा राखे। त्यो जानकारी सन् १८५४ मा हूकर्स जर्नल अफ बोटानी एन्ड क्यु गार्डेन मिस्सेलानीको भाग ६ मा प्रकाशित लेख ‘अन मादेनिया एन्ड डिप्लार्चे, न्यु जनरा अफ हिमालयन प्लान्टस्’ मा उल्लेख छ। उक्त जर्नलका सम्पादक विलियम ज्याक्सन हूकर जोसेफ डाल्टन हूकरका बुबा हुन्। त्यति वेला विलियम ज्याक्सन हुकर रोयल बोटानिक गार्डेन्स क्युका निर्देशक थिए।
जर्नलको उक्त लेखमा हूकर र थोम्सनले भारतीय हर्बेरियमको परीक्षण क्रममा मादेनिया र डिप्लार्चे जाति अत्यन्त भिन्न लागेको र तिनको विशेष संरचनाका कारण विश्वसामु चिनाउन प्रेरित गरेको लेखेका छन्। लेखमा हूकर र थोमसले मादेनिया हिमालइका पत्ता लगाएको विवरण छ। तर, मादेनिया हिमालइका गुराँस परिवारको नभई गुलाफ परिवार अन्तर्गत पैयुँ जातिको वनस्पति भएको जानकारी सन् २०१० मा प्रकाशन भयो। यसले ‘प्रुनस हिमालयना’ नाम पाएको छ। इलाममा सङ्कलित नमूना बेलायत र जापानमा संग्रह गरिएका छन्।
हूकरले डिप्लार्चे मल्टिफ्लोरा र यसको अर्को एक प्रजाति डिप्लार्चे पोसीफ्लोरा क्रमशः सिक्किमको लाचेन उपत्यका (जनवरी १८४९) र दोस्रो अगस्ट १८४८ मा दार्जीलिङ सेरोफेरोमा सङ्कलन गरेका थिए। हूकरपछि भारतमा यी दुई प्रजाति क्रमशः सन् १९०९, १९२४ र १९५० मा सङ्कलन गरिएको अभिलेख छ। त्यसपछि एकैचोटि यिनका नमूना डेबब्रटा मइती र सेन्टुकुमार डेले सन् २०१३ र २०१५ मा सिक्किममा फेला पारे। त्यो जानकारी प्लियुनी जर्नलको भाग ९ अङ्क २ (सन् २०१५)मा प्रकाशित छ। भारतमा ५०/६० वर्षपछि मात्र फेला पारिएका कारण यो वनस्पतिलाई भारतमा पुनर्खोज गरिएको भनिएको छ।
नेपालमा डिप्लार्चे मल्टिफ्लोराको नमूना पहिलो पटक बेलायतका जेडीए स्टेन्टनले सन् १९६५–१९६८ को अवधिमा सङ्कलन गरेका थिए। त्यसपछि नेपाल सरकारका प्रतिनिधि एमएन सुवेदी सहित जापानका वनस्पति खोज–अनुसन्धानकर्ताको टोलीले संखुवासभाको खोङ्माबाट सन् १९८८ मा नमूना सङ्कलन गरेका थिए। थप संखुवासभाबाट सङ्कलन गरिएको केही नमूना राष्ट्रिय हर्बेरियम तथा वनस्पति प्रयोगशाला, गोदावरी ललितपुरमा संगृहीत छ। रोयल बोटानिक गार्डेन इडिनबराको वेबसाइटमा नेपालबाट सन् १९९० र १९९७ सङ्कलन गरिएका तीन वटा नमूना संगृहीत छन्। उक्त वेबसाइटमा सन् १९२० मा म्यानमारबाट सङ्कलित नमूना पनि संगृहीत छ। डिप्लार्चे मल्टिफ्लोरा एन इनुमेरेसन अफ द फ्लावरिङ प्लान्टस् अफ नेपाल को भाग ३ (सन् १९८२) र एन्नोटेटेड चेकलिस्ट अफ द फ्लावरिङ प्लान्टस् अफ नेपाल (सन् २०००) पुस्तकमा पनि समावेश छ। यस्तै, क्याटलग अफ नेप्लिज फ्लावरिङ प्लान्टस्को खण्ड ३ (सन् २०१२)मा यसबारे उल्लेख छ।
ब्लुमिया जर्नलको भाग ५६ (सन् २०११) मा प्रकाशित अस्ट्रेलियाका वनस्पतिविद् क्रावेन लिखित ‘डिप्लार्चे एन्ड मेन्जिसिया ट्रान्सफर टु रोडोडेन्ड्रन’ लेखमा डिप्लार्चे र मेन्जिजियाबाट क्रमशः दुई र नौ वटा प्रजातिका गुराँसमा स्थानान्तरण गरिएको छ। तर, यो काम उनले आफ्नै अध्ययन नतीजाका आधारमा गरेका होइनन्। उनले द बोटानिकल रिभ्यू जर्नलको भाग ६८ (सन् २००२) मा प्रकाशित क्याथलीन क्रोन र अरूहरूको लेख ‘फाइलोजेनेटिक क्लासिफिकेशन अफ इरिकेसीः मोलेक्युलर एन्ड मर्फोलोजिकल इभिडेन्स’ मा भएका केही विवरणलाई स्रोत मानेका छन्।
क्रावेनको २०११ मा प्रकाशित लेखबारे चर्चा गरौं। उनले शुरूमा लेखेका छन्– रोडोडेन्ड्रन इनसर्टिआ सेडिज । इनसर्टिआ र सेडिज दुवै ल्याटिन शब्द हुन्, जसको अर्थ हुन्छ ‘अनिश्चित स्थानान्तरण’। उनले थप लेखेका छन्, ‘... गुराँस अन्तर्गत डिप्लार्चेको स्थिति अनिश्चित छ।’ यसरी लेख्नुको कारण माथि उल्लिखित क्रोन र अन्य लिखित लेखमा डिप्लार्चेको जीनबारे स्पष्ट किटान नगरिनु हो। क्रोनहरूको लेखमा दुई वटा जीन अध्ययन गरिंदा गुराँसको जीनसँग केही मात्रामा मिलेको उल्लेख छ, हुबहु मिलेको होइन। त्यसकै आधारमा क्रावेनले डिप्लार्चे मल्टिफोरालाई गुराँस हो भन्ने ठहर गरिदिए।
डिप्लार्चे मल्टिफ्लोरालाई गुराँस जातिमा सार्दा सामान्यतया नयाँ नाम ‘रोडोडेन्ड्रन मल्टिफ्लोरा’ राखिनुपर्थ्यो। तर, क्रावेनले सोही लेखमा ‘मेन्जिजिया मल्टिफ्लोरम्’ लाई ‘रोडोडेन्ड्रन मल्टिफ्लोरम्’ नामकरण गरेका कारण फेरि अर्को गुराँस प्रजातिको नाममा मल्टिफ्लोरा वा मल्टिफ्लोरम् राख्न मिल्दैनथ्यो। जसका कारण उनले डिप्लार्चे मल्टिफ्लोराको नयाँ नाम फ्लोरा अफ चाइना पुस्तकमा गुराँस र डिप्लार्चे जातिबारे लेख्ने एक लेखक डेविड फ्रयाङ्कलिन चेम्बरलेनको सम्मानमा ‘रोडोडेन्ड्रन चेम्बरलेनी’ राखे।
छुट्टै जाति
डिप्लार्चेको फूलमा स्टामेन (भाले प्रजनन अङ्ग) पुष्पपत्रसँग टाँसिएको हुन्छ। यस्तो संरचनालाई इपिपेटलस भनिन्छ। तर, गुराँस जातिको फूलमा इपिपेटलस हुँदैन। क्रावेनले रोडोडेन्ड्रन चेम्बरलेनीको इपिपेटलसलाई ‘अटापोमोर्फी’ भनेका छन्। ‘अटापोमोर्फी’ भन्नाले कुनै एक खास प्रजातिमा देखिन सक्ने संरचना जुन त्यही जातिको अन्य प्रजातिमा हुँदैन।
यस्तै, डिप्लार्चेको परागकण थैली (एन्थर)मा पराग कण (पोलेन ग्रेन) दुईतिर धर्सो आकृतिमा चिरिएर बाहिरिन्छ। तर, गुराँस जातिको पराग थैलीको टुप्पोमा दुई छिद्र हुन्छ र त्यहींबाट पराग कण बाहिरिन्छ । क्रावेनले कुनै गुराँस प्रजातिमा यस्तो हुन सक्छ भन्ने तर्क गरेका छन्। उनको यस्ता तर्क पूरै असान्दर्भिक छ। डेबब्रटा मइती र सेन्टुकुमार डेले क्रावेनले डिप्लार्चे मल्टिफ्लोरालाई रोडोडेन्ड्रन चेम्बरलेनी लेख्नु गलत थियो भनेका छन्। कुनै प्रजातिलाई भूलवश अर्कै प्रजाति नामकरण गरिए त्यस्ता नामलाई पर्यायवाची मानिन्छ। मइती र डेले रोडोडेन्ड्रन चेम्बरलेनीलाई डिप्लार्चे मल्टिफ्लोराको पर्यायवाची हो भनेर लेखेका छन्। जीव विज्ञानको नामकरण परम्परा अनुसार अब डिप्लार्चे मल्टिफ्लोराको समानार्थी शब्द हो, रोडोडेन्ड्रन चेम्बरलेनी।
अब गुराँस परिवार अन्तर्गतका जातिको आनुवंशिक अनुक्रम अध्ययनतर्फ महत्त्वपूर्ण लेखको चर्चा गरौं। मोलेक्युलर फाइलोजेनेटिक्स एन्ड इभोलुशन जर्नलको भाग ५६ (सन् २०१०) मा प्रकाशित इमिली गिलेस्पी र क्याथलीन क्रोनको लेखमा गुराँस र डिप्लार्चे सहित अन्य केही जातिका ५/६ किसिमका आनुवंशिक अनुक्रम अध्ययन नतीजा समावेश छन्। लेखमा डिप्लार्चे मल्टिफ्लोराको आनुवंशिक अनुक्रम गुराँस जातिको आनुवंशिक अनुक्रमसँग नमिलेकाले डिप्लार्चेलाई गुराँसमा समेटिएको छैन, छुट्टै जातिको स्थान दिइएको छ। उक्त लेख छापिएको एक वर्षपछि अर्थात् सन् २०११ मा क्रावेनले डिप्लार्चे मल्टिफ्लोरालाई रोडोडेन्ड्रन चेम्बरलेनी नामकरण गरिदिए। अर्थात्, उनले एक वर्षअघिको लेखलाई पूर्ण रूपमा आँखा चिम्लिदिए।
गिलेस्पी र क्रोनको लेख प्रकाशन भएको मोलेक्युलर फाइलोजेनेटिक्स एन्ड इभोलुशन उच्च कोटिको जर्नल हो। यसको तुलनामा क्रावेनले डिप्लार्चेलाई गुराँस जातिमा स्थानान्तरण गरेको सम्बन्धी लेख प्रकाशित ब्लुमिया जर्नल निकै कम प्रचलनको हो। जर्नलको ‘इम्प्याक्ट फ्याक्टर’ हेर्दा ब्लुमियाको तुलनामा मोलेक्युलर फाइलोजेनेटिक्स एन्ड इभोलुशन चार गुणा बढी प्रसार हुने देखिन्छ। क्रावेनले गिलेस्पी र क्रोनको सन् २०१० मा प्रकाशित लेख उद्धृत नगर्नु बेइमानी हो। जबकि, क्रावेनले उनै क्रोनले सन् २००२ मा लेखेको लेखको आधारमा डिप्लार्चे मल्टिफ्लोरालाई रोडोडेन्ड्रन चेम्बरलेनी बनाएका हुन्।
यस्तै, ताइवानी जर्नल भोलम ६४ अङ्क १ (सन् २०१९)मा प्रकाशित शंखमाला मित्र र अरूहरू लिखित लेख ‘पोलेन हेटेरोमर्फिज्म इन डिप्लार्चे एन्ड इट्स ट्याक्सोनोमिक सिग्निफिकेसन्स्’ मा डिप्लार्चे मल्टिफ्लोराको परागकण गुराँस परिवारको जस्तो हुने तर गुराँसको भन्दा फरक भएको प्रष्ट्याइएको छ। यो लेखले पनि डिप्लार्चे मल्टिफ्लोरालाई गुराँस मानेको छैन।
एप्लिकेशन इन प्लान्ट साइन्स जर्नलमा प्रकाशित लेख ‘आइसोलेशन एन्ड क्यारेक्टराइजेशन अफ ट्वेन्टीसेभेन माइक्रोसेटालाइट मेकर्स फर द इन्डेमिक स्पेसिस् डिप्लार्चे मल्टिफ्लोरा’ (सन् २०१३) मा पूर्वी हिमालयमा चरिचरनका कारण यो प्रजातिको वनस्पति तीव्र रूपमा मासिंदै गएकाले यसको संरक्षण आवश्यक रहेको औंल्याइएको छ।
डिप्लार्चे मल्टिफ्लोरा
डिप्लार्चे मल्टिफ्लोराको पुष्पपत्रको आधाजति हिस्सा जोडिएको हुन्छ। जोडिएको आकृतिको अगाडि र पछाडिको आकार लगभग उत्तिकै चौडा हुन्छन्। जोडिएको ट्युब जस्तो आकृतिभित्र स्टामेन हुन्छ। बाहिरबाट राम्ररी नियालेर हेर्दा मात्र पराग थैली देखिन्छ। जबकि गुराँसमा स्टामेन नै बाहिर निस्किएको हुन्छ।
हूकर र थोम्सनले डिप्लार्चेको परागकण पराग थैलीबाट बाहिर निस्कने प्रक्रिया गुराँस परिवार अन्तर्गतका अन्य जातिभन्दा फरक हुने लेखेका छन्। लेख अनुसार, यसमा १० वटा स्टामेन दुई वटा घेरामा हुन्छन्। बाहिरतिरको स्टामेन पुष्पपत्रको मध्य भागमा टाँसिएको हुन्छ भने भित्रपट्टिको स्टामेन केही मुनि हुन्छ र पुष्पपत्रमा टाँसिएको हुँदैन। उनीहरूको लेखमा फाइभ इपिपेटाला अल्टियस इन्सर्टा लेखिएको छ, जसको अर्थ पाँच वटा स्टामेन पुष्पपत्रमा गहिरिएर पसेको वा घुसाइएको भन्ने हुन्छ।
यस्तै, बाँकी पाँच वटा स्टामेन केही फरक ठाउँबाट गर्भाशयभन्दा मुनिबाट पलाउने उल्लेख छ। जोसेफ डाल्टन हूकरले सम्पादन गरेको फ्लोरा अफ ब्रिटिश इन्डिया (सन् १८८२), भाग ३ मा माथिल्ला पाँच वटा स्टामेन पुष्पपत्रमा घुसेको र बाँकी पाँच वटा गर्भाशय (ओभरी) भन्दा मुनिबाट पलाउने लेखिएको छ। फ्लोरा अफ भुटान, भाग २ खण्ड १ (सन् १९९१) अनुसार, पाँच वटा स्टामेन पुष्पपत्रमा टाँसिएको र बाँकी पाँच वटा स्टामेन गर्भाशयको फेद नजिकबाट पलाउँछ। तर, फ्लोरा अफ चाइना भाग १४ (सन् २००५)मा तलको पाँच वटा स्टामेन पुष्पपत्रमा टाँसिएको हुने लेखिएको छ, बाँँकी स्टामेनको चर्चा छैन। यो जानकारी अन्यसँग मेल खाँदैन।
फ्लावर्स अफ द से लाः अल्पाइन प्लान्टस् अफ नर्थवेस्ट अरुणाचल प्रदेश (सन् २०२०) पुस्तकमा डिप्लार्चे मल्टिफ्लोराको रङ्गीन तस्वीर समावेश छ। यसको फूल ढुङ्गेनी भिरालो पाखामा चार हजार मिटर उचाइबाट सङ्कलन गरिएको र यो जूनदेखि जुलाईसम्म फुल्ने लेखिएको छ। यस्तै, मइती र डेले डिप्लार्चे मल्टिफ्लोराको बोट २० सेन्टिमिटर अग्लोसम्म भेटेका थिए। उनीहरूले यसको करीब ५० वटा फूल अध्ययन गरेका थिए। कुनै फूलमा ६ वटा पुष्पपत्र थिए। सबै फूलमा स्टामेन दुई घेरामा थिए। बाहिरी घेराको स्टामेन पुष्पपत्रमा टाँसिएको र भित्री घेराको भने टाँसिएको थिएन।
क्रावेनले डिप्लार्चे मल्टिफ्लोरालाई रोडोडेन्ड्रन चेम्बरलेनी नामकरण गर्दा प्रस्तुत गरेको तर्क माथि उल्लेख गरिएका कुनै पनि विवरणसँग मिल्दैन। उनको तर्क कतैबाट पुष्टि हुँदैन। यसर्थ, डिप्लार्चे मल्टिफ्लोरालाई रोडोडेन्ड्रन चेम्बरलेनी नामकरण गरिनु निराधार हुँदै हो, हचुवाको त्यस्तो नामकरणलाई स्विकारिनु कच्चा काम र वनस्पति क्षेत्रकै विडम्बना हो। यसर्थ, जर्नलमा छापिएका कुरा पूरापूर सत्य हुन्छ भनी त्यहाँका सामग्री अन्धाधुन्ध अनुसरण गरिनु जोखिम पनि हुन सक्छ। नेपाल सम्बन्धी लेखिएका पुस्तकमा डिप्लार्चे मल्टिफ्लोरालाई गुराँस भनेर छापिनु यही अन्धानुसरणको उपज हो।
यो पनि