नेपाल र यूएईबीचको खेलमा सट्टेबाजी, ५० जना पक्राउ
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई)बीचको खेलमा सट्टेबाजी लगाएको आरोपमा ५० जनालाई नियन्त्रणमा लिएको छ।
नेपाल र यूएईको खेल भइरहेको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानबाटै उनीहरूले ‘लाइभ बेटिङ’ गरेको प्रहरीको भनाइ छ। नेपाल र यूएईबीच कात्तिक २६ गतेदेखि एकदिवसीय क्रिकेट शृङ्खला चलिरहेको छ।
यसमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। “हामी अनुसन्धानकै क्रममा छौं,” सीआईबीका निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) उत्तमराज सुवेदीले हिमालखबरसँग भने, “यहाँबाट खेलको लाइभ दृश्य वा सूचना सट्टेबाज चलाउनेलाई पठाएको हाम्रो आशङ्का छ। बरामद मोबाइलबाट यसको पुष्ट्याइँ गर्दै छौं।”
उनका अनुसार, पक्राउ परेकाहरूले नै पनि सट्टेबाज चलाएको हुन सक्ने आशङ्का छ। पक्राउ परेकाहरूको मोबाइलको प्राविधिक जाँच भइरहेको र जाँचपछि सबै कुरा खुल्ने उनले बताए।
नेपाल र यूएईबीको पहिलो खेलदेखि नै सट्टेबाजी चलाएको आशङ्कामा प्रहरीले उनीहरूमाथि निगरानी गरिरहेको थियो।