अञ्जनाको ‘कांठ’ दर्शन
‘बुझ्ने सांसद-मन्त्री भएन भने कांठको वैभवपूर्ण सभ्यता थप ध्यस्त हुन्छ’
यो निर्वाचनमा तपाई हार्नु र जित्नुले के अर्थ राख्छ?
चुनावी संवादका क्रममा अञ्जना विशंखेलाई यो एउटा प्रश्न थियो। उनको सटिक जवाफ थियो, “दुवैले उत्तिकै महत्त्व राख्छ।”
यसलाई उनले थप ब्याख्या गरिन्। “हारले हामीजस्ता राजनीतिलाई व्यापार नबनाएका, शक्तिको रुपमा प्रयोग गर्न नखोजी नैतिकताभित्र बसेर राजनीति गर्नुपर्छ भन्नेहरुलाई संसदीय प्रणालीमा कहाँ चुनौती रहेछ भन्ने थाहा हुन्छ। र, चुनौती पार गर्न पार्टीभित्र योजना बनाउने विचार–दृष्टिकोण दिन्छ,” अञ्जनाले थपिन्, “जीतले चाहिं एउटा समुदाय, एउटा क्षेत्र, एउटा वर्गले पनि शक्ति प्राप्त गरेको रहेछ भन्ने प्रमाणित हुन्छ।”
यो प्रश्न किन पनि सोधिएको थियो भने उनी दलित समुदायबाट प्रत्यक्ष निर्वाचन लडिरहेकी छन्। नेकपा (माओवादी केन्द्र) को स्थायी समिति सदस्य उनी लामो राजनीतिक वैचारिक आन्दोलन तय गरेर यहाँसम्म आइपुगेकी हुन्। उनको उम्मेदवारी मात्र पनि एउटा आन्दोलन हो।
अहिले उनी उम्मेदवार रहेको काठमाडौं–१० कुनै समय मदन भण्डारी, साहना प्रधानले जीत हासिल गरेको क्षेत्र हो। र, उनकै पार्टी अध्यक्ष पुष्पकमल दाहालले पहिले जीत र पछि हार बेहोरेको क्षेत्र हो।
२०७४ सालको निर्वाचनमा वाम गठबन्धनलाई पराजित गर्दै नेपाली कांग्रेसबाट सांसद बनेका राजेन्द्रकुमार केसी यसपाली पनि यो क्षेत्रबाट उम्मेदवार छन्। देशव्यापी भइरहेको सत्तारुढ दलको गठबन्धन खुस्किएको काठमाडौं–१० मा हँसिया हथौडा उठाएर सूर्य र रुखसँग मुकाविला गर्ने आँट कसरी जुटाइन त अञ्जनाले? “यो शक्ति मलाई एक्लो राजनीतिक यात्रा नै दिलाएको हो। तीन दशकभन्दा लामो वैचारिक र राजनीतिक आन्दोलनले दिएको हो,” उनको प्रतिउत्तर थियो।
यस्तै निर्णयले अञ्जनालाई यहाँसम्म ल्याइपुर्याएको हो। उनी शिक्षण पेसा छाडेर राजनीतिमा लागिन्। आफुमाथि अन्याय भएको थाहा पाएपछि लेखक आहुतीसँगको बैवाहिक सम्बन्ध तोडिन्। र, अहिले पनि एक्लै चुनाव लड्ने निर्णयमा पुगिन्। “अहिलेको निर्णयबाट म निकै खुशी छु। संसारमा सबैभन्दा खुशी त्यो हुन्छ, जसले मन भित्रैदेखिको इच्छाअनुसारको निर्णय र आँट गर्न सक्छ। र, ऊ त्यसमा कहीँ धरमराउँदैन भने सफल पनि हुन्छ,” उनी भन्छिन्।
यस्ता निर्णय लिने आँट उनको जीवन भोगाइले पनि प्राप्त भएको हो। “जीवनका अधिकांश ठूला निर्णयमा कसैको सहयोग लिएको छैन। राजनीतिमा होलटाइमर बन्ने आँटले नेता बन्ने तहसम्म पुर्यायो। म आत्मनिर्भर बन्छु, एक्लै जीवन विताउन सक्छु भन्ने निर्णयले स्वतन्त्रता दियो,” उनी थप्छिन्, “चितवन, मकवानपुर हुँदै २०६४ मा पार्टी सेक्रेटरी भएर मधेश पस्दा मैले महिला मुक्तिको लागि मात्र होइन कि सिंगो समुदायका लागि आन्दोलन गर्न अझै बाँकी छ भन्ने अनुभूति दिलायो।”
यसअघि समानुपातिक सांसद बनेर संसद्मा टेबुल ठोकेकी उनले स्वास्थ्य समितिको प्रमुख भएर कर्मचारीतन्त्र, सत्तामा पुरुष र महिला, प्रत्यक्ष र समानुपातिक सांसदबीचको गहिरो भेद देखिन्। यस पटकको निर्णयले कहाँ पुर्याउला यकिन छैन। यसपाली निर्वाचनमा होमिन प्रेरित गर्ने निर्णय भने ‘काठ’ले भोगेको उत्पीडन, बरालिएको र विध्वशंको शिकार भएको यो क्षेत्रबाट पिरोलिएर पनि हो।
“अहिलेसम्म काठ क्षेत्रले ‘पोलिटिकल क्यारेक्टर’ नै विकास गर्न सकेन। राजेन्द्र केसी पनि राजनीतिज्ञ होइनन्, व्यापारी हुन्,” अञ्जना काठ क्षेत्रबारे आफ्नो धारणा राख्न शुरु गर्छिन्, “आज काठको आत्मनिर्भर अर्थतन्त्र, ऐतिहासिक, सास्कृतिक र प्राकृतिक वैभव निरन्तर ध्वस्त हुँदैछ। काठसँग आज बढीमा बेच्न तयार पारिएको चार आना जग्गा छ। योजनावद्ध ढंगले राज्यको नीतिमा हस्तक्षेप गर्न सकेनौं भने यो सम्पदा, संस्कृति, भाषा सबै विलाएर जान्छ।”
काठमाडौंको मुख्य शहरी क्षेत्र मानिने न्यूरोड, असनभन्दा ६ किलोमिटर वरपरको ठाउँलाई ‘काठ’ क्षेत्र भनेर चिनिन्छ। र, अञ्जना जन्मिएको चन्द्रागिरिको बोसिगाउँ पनि काठ नै हो। बञ्जर दलित बस्तीमा जन्मिएकी अञ्जना शहर र गाउँको विरोधाभासपूर्ण जीवनशैली र जातीय उत्पीडन भोग्दै हुर्किइन्। “तत्कालीन काठ समाज गाउँ र शहर दुवै बुझेको, तर दुवै संस्कृतिलाई पूर्णतया अपनाउन नसक्ने विरोधाभाषपूर्ण समाज हो। न गाउँबाट फुत्किन सक्छ, न त शहरको मनोविज्ञानलाई नै भुल्न सक्छ,” उनी भन्छिन्, “यसो हुँदा व्यक्तिगत र समाज विकास नै अवरोध हुन्छ।”
यो तर्कको पछाडि उनको आफ्नै विश्लेषण छ।
महिलाको तुलनामा पुरुष अलि पढे-लेखेका र जागिरे हुन्थे। किनकि, महिला घर व्यवहार, घाँस दाउरामै ब्यस्त हुनुपथ्र्यो। पुरुष बजार जान्थे भने महिला जंगलतिर। “शहरका महिला–पुरुष नै पढेलेखेका हुन्छन्, किनकि उनीहरुले खेतिपातीमा त्यति ध्यान दिनुपर्दैन,” उनी थप्छिन्, “पढ्ने महिला पनि विशुद्ध पढ्न पाउँदैनन्, उनीहरुले पढाइभन्दा बढी ध्यान घरलाई दिनुपर्छ।”
यो २० वर्षअघिको कुरा हो। उनको बुझाइमा अहिलेको काठ भनेको महिला र पुरुषबीच विभेद कम हुँदै गएको, चेतनाको विकास हुँदै गरेको, शहर र गाउँबीचको भेद साँघुरिदै गएको समाज हो। तैपनि, चिन्तन र स्वभाव भने अझै फेरिन नसकेको उनको भनाइ छ।
काठ सभ्यताको विनासको श्रृंखला
हरेक पुस–माघको स्कूल बिदामा अञ्जना फुपूसँगै बसेर तानमा ढाका बुनिरहेकी हुन्थिन्। तयारी ढाका बोकेर अभिभावकसँगै असन इन्द्रचोकमा बेच्न पुग्थिन् र बेलुकी आफूलाई मन पर्ने सामान किनेर घर फर्किन्थिन्। हरेक घरमा तान हुन्थे र ढाकाका फरिया, पड्का आदी तयार हुन्थे। महिला तरकारी र खाद्यान्न बोकेर शहरतिर बेच्न हिडेको लर्को देख्थिन्।
उनको गाउँदेखि कलंकीसम्म खेतको विशाल फाँट थियो। खेल्नका लागि प्रशस्त सार्वजनिक चौर थिए। मन्दिर, देवालय, पाटी,पौवा मात्र होइन, विशाल सार्वजनिक जमिन थियो। प्रशस्त मात्र कलकल पानी बगिरहेको हुन्थ्यो। तर, आज काठ कंक्रिटका भवनले भरिएको छ।
“सीप भएका काठका महिला आत्मनिर्भर थिए। अब त कृषि अर्थतन्त्र पनि सखाप भएर गयो, उत्पादन ध्वस्त,” अञ्जना भन्छिन्, “यो २०–३० वर्षको बीचमा अधिकांश सार्वजनिक ठाउँ माफियाले सिध्याइसके, त्यसलाई हामीले संरक्षण गर्न सकेनौं। अब जागिर खान नसक्ने मानिस विदेश जाने, बाहिरी मानिसले भरिने र काठका मानिस सुकुम्बासी बन्नतिर उन्मुख छ।”
आफ्नो क्षेत्रमा योजनाबद्ध विकास नभएकोमा अञ्जनालाई पनि पिरोल्छ। “कृषि आत्मनिर्भर अर्थतन्त्रलाई जोगाउने र उन्नत ढंगले बसोवास गराउने मेरो अभियान छ,” उनी भन्छिन्, “यहाँ पुरातात्विक लेखोट छन्। पर्यावरणलाई व्यवस्थित गर्दै पुरातात्विक सम्पदालाई संरक्षण र प्राकृतिक स्रोत साधनलाई दोहन मात्र नगरिदिने हो भने पनि यो क्षेत्र पर्यटकीय हब बन्छ।”
अञ्जनाले यसो किन भनेकी छिन् भने उनलाई थाहा यहाँ पहिले छाला र छालाको जुत्ता उत्पादन हुन्थे। अहिले पनि २२ वटा जुत्ता कारखाना त छन्, तर चाइनाबाट ल्याएको जुत्ता टाँस्ने मात्र काम हुन्छ। कपडा सिलाउनेदेखि कपाल काट्नेसम्म नेवार समुदायमै थियो।
“दक्षिणकालीमा मात्र ३२ वटा गुम्बा छन्। दक्षिणकाली सिंगै राणाकालीन आँखा परेको रणनीतिक क्षेत्र हो। पहिलो जलविद्युत् चन्द्रज्वति त्यहीँ बन्यो, पहिलो नीजि आवासीय स्कूल सपनाको बगैचा राणाहरुले त्यहीँ खुलाएका हुन्,” उनी उत्साहित हुँदै काठको महिमा सुनाउँछिन्, “चन्द्रागिरिदेखि दक्षिणकालीसम्म धार्मिक र पर्यटकीय हिसावले पनि ऐतिहासिक ठाउँ हो। कीर्तिपुरको त महिमा नै अर्को छ। त्यो राजनीतिक ढंगले सचेत, विद्रोही र सम्पदाले भरिपूर्ण ठाउँ हो। बागभैरवको डाँडामा भयो भने त्यतै हराइन्छ।”
निर्वाचनमा काठकै मानिस निर्वाचित नहुने र चुनिएपछि आफ्नो थातथलो भुलेका कारण यो क्षेत्रको आशातित विकास हुन नसकेको अञ्जनाको बुझाइ छ। उनी भन्छिन्, “यो राजनीतिक रुपमा अचेत ठाउँ होइन, वामको राम्रो जनाधार भएको् ठाउँ हो। तर, माथिल्लो तहमा पहुँच राख्न सक्ने नेतृत्व पनि यो ठाउँले जन्माउन सकेन,” काठलाई बुझ्नेहरु अहिलेसम्म सांसद मन्त्री हुन नसकेको बताउँदै उनी भन्छिन्, “यो क्षेत्र बुझेको मान्छे नेतृत्वमा आएन भने काठ क्षेत्र अब काठ रहदैन।”
अञ्जनाको संघर्ष
अञ्जनाले पढ्ने मौका पाइन्। बोसिगाउँ दलित बस्तीबाट एसएलसी उत्तीर्ण गर्ने पहिलो थिइन् अञ्जना।
पाँच कक्षापछि आमाबुवाले उनलाई कालिमाटीको ज्ञानोदय स्कूलमा भर्ना गराए। त्यहाँ पढ्न जाने उनी र अर्को एक जना नेवार समुदायकी किशोरी मात्र थिए। “त्यतिवेला मैले निकै त्रासदीपूर्ण जीवन बिताएको छु। त्यो सम्झिँदा अहिले पनि आङ जिरिंग हुन्छ,” अञ्जना स्मृतिमा पस्छिन्, “स्कूलबाट छुट्टी भएर घर नपुग्दासम्म ज्यान जोगिन्छ कि जोगिदैन भन्ने त्रास हुन्थ्यो। त्यो वेला केटाहरुले गर्ने व्यवहार अहिलेका केटीहरु सायदै खप्नुपर्छ।”
उनले एउटा घटना सुनाइन्। एक दिन उनी स्कूलबाट फर्किदा पानी परिरहेको थियो। अहिलेको सिप्रदी नजिकको मैदानमा केटाहरु फूटबल खेलिरहेका थिए। पानी भिज्दै हिड्दै थिइन्, पछाडिबाट केटाहरुले लखेट्न थाले। ज्यान जोगाउन यसरी दौडिन् कि गाउँमा पुगेर मात्र पछाडि फर्केर हेर्ने हिम्मत आयो। “उनीहरुले कहाँसम्म पछ्याए र कहाँबाट फर्किए, मलाई पत्तै भएन,” उनी भन्छिन्, हिंसा त कतिकति। जोखिम मोल्दै मुस्किल बचेर आएको हुँ।”
यद्यपि उनले विद्यालय जीवन टुकीको उज्यालोमै बिताइन्। झण्डै एक सय मिटर परको बस्तीमा बिजुली आएको पाँच वर्षसम्म पनि २० घरको सार्की बस्तीमा लाइन उक्लिएन। “त्यो बस्ती झकिझकाउ थियो भने हाम्रो बस्ती पूरै खण्डहर,” अञ्जना भन्छिन्, “त्यतिवेला महशुस भयो कि हाम्रो बस्तीमा नेताहरु रहेनछन्, बोलिदिने मान्छे रहेनछन्। सामाजिक र राजनीतिक पहुँच नहुँदा त विकास निर्माण पनि त नहुँदो रहेछ नी।”
बस्तीका मानिसले निरन्तर पीटाइ खानुपर्ने, ऋण तथा रक्सीको पैसाको विषयमा झगडा गर्ने सामान्य थियो। त्यो बस्तीबाट २०४८ सालमा एसएलसी उत्तीर्ण गरेकी थिइन्, अञ्जनाले। र, कलेज जान थालिन्, गाउँकै स्कूलमा शिक्षिका बनिन्।
उनको राजनीतिक जीवन त २०४६ सालको आन्दोलनअघिबाटै शुरु भएको थियो। “हामी कुन पार्टीको हो, थाहा थिएन, तर सचेततापूर्वक २०४६ सालको आन्दोलनमा नारा जुलुस गरेका थियौं,” उनी लख काट्छिन्, “सायद त्यतिवेलैबाट राजनीतिक चेतना विकास हुँदै आयो।”
त्यसपछि पार्टीमा जोडिइन्। समस्याको जड व्यवस्था हो भन्ने बुझिन्। र, राजनीतिमा पूर्णकालीन भएर लागिन्।
माओवादी महिला संगठनको सचिवालय सदस्य, जिल्ला कमिटी सदस्यहुँदै उनले पार्टीको नेता बनेर चितवन र मकवानपुरमा लामो समय बिताइन्। “हामी नितान्त सत्ता स्वार्थका निम्ति राजनीतिमा हिँडेका होइनौं, फरक ढंगबाट समाजका बेथिति हटाउन राजनीतिमा आएका हौं,” उनी भन्छिन्।
२०६४ मा अञ्जना माओवादीको 'सेक्रेटरी' भएर मधेश झरिन्। त्यतिवेला उनी एक्लो महिला 'सेक्रेटरी' थिइन्। त्यहाँ पनि झन् ठूलो उत्पीडन देखिन् उनले। काठमाडौं फर्केर पार्टी स्वास्थ्य विभागको प्रमुख भएर काम गरिन्। अन्तरिम व्यवस्थापिका संसद्को सदस्य बनेकी उनी २०७४ सालमा समानुमातिक सांसद बनिन्। यही समय उनले मसिनेमा रहेको दुर्गम तामाङ बस्तीमा होमस्टे शुरु गराइन्।
अञ्जनाले पार्टी नेतृत्वसँग पनि कुनै हिच्किचाहट प्रश्न गर्न सक्ने निडर र बोल्ड छवि बनाएकी छन्। उनी जहिल्यै सडकमै भेटिन्छिन्। र, अहिले पनि चुनावी अभियानका क्रममा सडकमै भेटिइन्। यतिवेला उनी चुनाव जित्नेमा आशावादी छिन्। “अहिले मेरो गाउँ, दलित समुदाय, काठ क्षेत्र मेरो लागि रक्षा कवच भएर उभिएको छ,” अञ्जना भन्छिन्, “प्रचण्ड हारेको ठाउँमा मैले विजयको झण्डा फहराउने अठोट लिएकी छु।”