'९० प्रतिशत मतदातालाई प्रत्यक्ष भेटें'
‘राजनीतिमा विचार र अभियान मुख्य कुरा हो। सबैजना यसमा नटिक्न सक्छन।’
सामाजिक अभियानबाट राजनीतिमा लागेका पुकार बम विवेकशील राजनीतिक दलमा स्थापना कालदेखि सक्रिय थिए। उनी २०७० सालको संविधानसभा निर्वाचनमा कुकुर चुनाव चिह्न लिएर लडेका थिए। २०७४ को चुनावमा काठमाडौं ८ मा उम्मेदवारी दिएका उनी चार हजार ४१४ मत सहित तेस्रो स्थानमा आएका थिए।
विवेशील र साझा पार्टी एकीकरण भएर बनेको विवेकशील साझा पार्टीबाट राजनीति गरिरहेका उनी पार्टीका तत्कालिन संयोजक रवीन्द्र मिश्रको गलत कदमको कारण वैकल्पिक राजनीतिको सपना बिथोलिएको बताउँछन्। उनले प्रतिनिधि सभा सदस्यमा काठमाडौँ-१ बाट उम्मेदवारी दिएका छन्। हिमालखबरको प्रस्तुति उम्मेदवार संवादमा बमसँग सागर बुढाथोकीले गरेको संवाद
मत माग्न जाँदा नागरिकहरुको मनस्थिति कस्तो पाउनु भएको छ?
निर्वाचनदेखि निर्वाचनसम्ममा लोकतन्त्रलाई सीमित गरेर जनताका खास मुद्दा ओझेलमा पारिएकोमा धेरै मानिस असन्तुष्ट छन्। हामीलाई पनि जितेर जाने शुभकामना साथसाथै नबिग्रने खबरदारी पनि गरिरहेका छन्। एक हिसाबले भन्ने हो भने छोराछोरी नबिग्रोस भन्ने बाआमाको जुन स्नेह हुन्छ, त्यही खालको माया र स्नेह पाएका छौँ। मतदाता ठूला भनिएका पुराना दलहरुको सिन्डिकेटबाट आजित छन्। परिवर्तन खोजेका छन्। काठमाडौं क्षेत्र नं १ मा त झन् १५ वर्ष सांसद भएका प्रकाशमानजीलाई विदाई गर्दै अब पुकार बम नै हो भन्ने मनस्थिती पाएको छु।
यहाँ यसअघि पनि दुई पटक चुनाव लड्नु भएको थियो। त्यतिबेलाको माहोल र अहिलेमा के फरक पाउनु भएको छ?
म क्षेत्र नं १ कै मतदाता हुँ। अघिल्लो पटक मेरो सिनियरका हिसाबले हाल मेरै क्षेत्रबाट उठेका एक जना नेताले मलाई अर्कै निर्वाचन क्षेत्र रोज्न बाध्य बनाउनुभयो। मलाई अघिल्ला चुनावहरुमा एक जना समाजमा केही गरुँ भन्ने युवाको रुपमा केही मतदाताले मात्र रुचाएका थिए भने अहिले प्रकाशमानको विकल्प पुकार बम नै हो भन्ने स्थापित भैसकेको रहेछ।
हामीले दुई चुनाव हारेर पनि मतदाता माझ गरेको काम सुशुप्त रुप्मा स्थापित रहेछ। पहिले जस्तो परिचय दिइराख्नु परेन यसपाली मैले मतदातालाई भेटेर एजेण्डा नै भने। यसपाली ६ महीना अगाडि नै उम्मेदवारी घोषणा गर्दा पनि सजिलो भयो। लगभग ९० प्रतिशत मतदाता भेटेको छु। बाँकी १० प्रतिशतसम्म पनि मिडियाबाट पुगे। आफ्नै क्षेत्रमा ठूला भनिएका पार्टीका ठूला भनिएका नेतासँग यसपटक साँच्चै चुनाव लडेको महशुस भएको छ।
यहाँको राजनीतिक यात्रा सामाजिक अभियानबाट शुरू भएको देखिन्छ। यहाँसँगै सडक संघर्ष गरेर वैकल्पिक राजनीति गरेका साथीहरू अहिले धेरै ठाउँ छरिएका छन्। वैकल्पिक पार्टी स्थापना गर्ने तपाईंहरूको अभियान कसरी असफल भयो?
राजनीतिमा असफल भएको छैन। संगठनका हिसाबले दलको नेताले नै लत्तो छोडे। म त लागे राजा बोक्नु भनेर हिँडेपछि पछि समस्या आयो। तर वैकल्पिक राजनीति अहिलेको पुस्ताले देखेको राजनीतिक सपना हो। त्यसलाई हामी एक हिसावले विवेकशील नेपालीको तर्फबाट शुरु गर्यौं। चुनाव लगत्तै त्यसलाई झन सशक्त हिसावले सङ्गठित गर्छौ। अहिले छोटोमा भन्दा वैकल्पिक राजनीतिको स्कोप बलियो छ। त्यसलाई क्यास गर्नसक्ने बलियो र जिम्मेवार दल निर्माण हामी गर्नेछौँ।
चुनावपछि राष्ट्रिय स्वतन्त्र पार्टी छाड्छु भन्न खोज्नु भएको हो?
हैन। उज्वल थापा दाई र मैले विवेकशील अभियान शुरु गर्दा हामीले भन्ने गर्थ्यौं( एक दिन सत्ता पक्षमा पनि विवेकशील हुनेछ, प्रतिपक्षमा पनि विवेकशील हुनेछ। हामीले विवेकशील अभियानको जगमा जे जति राजनीतिक संस्कार परिवर्तन गर्यौँ, त्यसको सांगठनिक स्वरुप बन्न सकेको छैन। पार्टीको विचार विरुद्ध नहिँड्नुस भनेकै भरमा विवेकशील साझाबाट कारवाही भएपछि मैले उम्मेदवारी दिएको थिएँ।
उम्मेदवारी दिएको धेरै पछि राष्ट्रिय स्वतन्त्र पार्टी खुलेको हो र म शिशिर खनाल, विराजभक्त श्रेष्ठ लगायत साथीहरुले चुनाव पछि वैकल्पिक र नयाँ राजनीतिको संवाहक एकीकृत शक्ति बनाउने गरी घन्टी चुनाव चिह्न लिने सहकार्य गरेका हौँ। यो निर्वाचनमा आउने उत्साहजनक प्रतिक्रियाले नयाँ, वैकल्पिक र स्वतन्त्रहरु एकै ठाउँ आउने माहोल बनाउनु पर्छ। त्यसमा मेरो पनि अगुवाई रहन्छ।
रवीन्द्र मिश्रजी केही समयअघि तपाईंसँगै बैकल्पिक राजनीतिमा हुनुहुन्थ्यो, उहाँसँग प्रतिस्पर्धा गर्दै गर्दा कत्तिको चुनौति महशुस गर्नुभएको छ?
रविन्द्रजीबाट त के चुनौती हुनु। मेरो चिन्तन अहिले त प्रकाशमानको विकल्पमा पुकार बम भनिरहेका नागरिकहरुको अपेक्षा संसदबाट कसरी पुरा गर्न सक्छु होला भन्नेमा छ। रवीन्द्रजीको प्रतिस्पर्धा प्रकाशमान र पुकार बमसँग हैन। सपना बोकेको पार्टी मारेर परिवर्तनको उल्टो हिँड्ने पार्टीमा पुगेपछि 'सेफल्याण्डिङ'का लागि मात्रै उहाँ चुनाव लड्नु भएको छ।
राजनीतिमा विचार र अभियान मुख्य कुरा हो। सबैजना यसमा नटिक्न सक्छन। हाम्रै देशको उदाहरण हेर्यो भने पनि विश्वेश्वरप्रसाद कोइरालाकै महामन्त्री तुलसी गिरीहरु र कम्युनिष्ट पार्टीकै महासचिव केशरजंग रायमाझी पञ्चायत प्रवेश गरे। तर त्यसले समग्र अभियानलाई त त्यसले आजको दिनमा हेर्दा खास फरक पारेन्। रवीन्द्रजी पनि थाक्नुभो र एक थान संसदको लागि आफुले भनेका सबै मूल्य मान्यता त्यागेर हिड्नु भो। यो त मतदातालाई धोका भयो जसले अघिल्लो पटक उहाँलाई मत दिए उहाँहरुले त ह्यारेसमेन्ट महशूस गर्नुभाकै छ। मतदाताले रवीन्द्रजीसँग यो पटक बदला लिनुहुन्छ।
पुराना दल र त्यसका नेताहरूले काम गरेनन् भनेर विरोध गर्नुहुन्छ। यहाँहरूले खोजेको काम कस्तो हो?
पुराना दलहरुले काम गरेनन भनेर आरोप लगाएको होइन, यो यथार्थ हो। आज १२ पास गर्दा बितिकै देशमा युवालार्इ बस्नै मन नलाग्ने, बसे पनि राम्रो भविष्य नहुने, नदेख्ने अथवा भोलि बसे पनी आफ्नो स्वास्थ्य समस्या आइपर्दा घर घडेरी बेच्नुपर्ने, भोलि छोराछोरी भएपनि उनीहरुले आजको प्रतिस्पर्धामा योग्य हुनसक्ने खालको शिक्षा नपाउने अवस्थाका लागि को जिम्मेवार? प्रकाशमानहरु की पुकार बमहरु? यो त उहाँहरुले मौका पाएर पनि नगरेर नभएको हो।
हामी यही बेथितिलाइ चिर्न आएका हौँ र हामी जनताका आवश्यकताका मुद्दा क्षा, स्वास्थ्य रोजगार आवास सुरक्षा आदि जस्ता बिषयलाई राजनीतिको केन्द्रमा राखेर निकास निकाल्न आएका हौँ। हामी नागरिकको जीवनस्तर सुधार्न आएका हौँ। अब आफै भन्नुहोस् न, संसदमा चाहिएको को हो? प्रकाशमानहरु की पुकार बमहरु?