‘म नहुँदा जिल्ला नेतृत्वविहीन भएपछि सर्लाही फर्केको हुँ’
‘प्रतिनिधि सभामा सर्लाही-१ मा नेपाली कांग्रेस र सर्लाही-२ मा लोसपाले पाउने सहमति भएको थियो। माथिबाट उम्मेदवार लादियो। सहमति विपरीत माओवादी र कांग्रेसबाट उम्मेदवारहरू लादिए।’
सत्तारूढ गठबन्धनसँग तालमेल गरेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका वरिष्ठ नेता राजेन्द्र महतो सर्लाही-२ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार छन्। उनीसँगै सत्तारूढ गठबन्धनमै रहेको नेकपा (माओवादी केन्द्र)को चुनाव चिह्नबाट नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादव पनि उम्मेदवार छन्।
यो क्षेत्रमा चुनावी प्रतिस्पर्धा रोचक बनेको छ। चुनाव प्रचारप्रसारको अन्तिम समयमा घरदैलोमा व्यस्त लोसपा उम्मेदवार महतोसँग हिमालखबरको उम्मेदवार संवादमा वीरेन्द्र रमणले गरेको संवादः
यसअघि धनुषाबाट उम्मेदवार हुनुभएको थियो। यस पटक किन छोड्नुभयो?
सर्लाहीको जनताले जिज्ञासा राखेपछि, विकासप्रति चासो लिएपछि, सर्लाही नेतृत्वविहीन भएपछि, सर्लाहीका जनताले माग गरेपछि आफनो गृहजिल्ला फर्किनुपरेको हो। सर्लाहीका लागि विकास आउनुपर्यो भनेर जनताको दबाब परेपछि धनुषा छोडेर यता आएको हुँ। मेरो इच्छाले आएको होइन, जनताकै चाहनामा आएको हुँ।
सर्लाहीका जनताले विश्वास गरेका छन् त?
सर्लाहीका जनताको माग अनुसार, गृहजिल्ला आएको छु। मेरो रुचिले आएको होइन। त्यस कारण सर्लाहीका जनताले जिताउँछन्ँ भन्नेमा विश्वस्त छु।
के कस्ता अजेन्डा बोकेर मतदाताको घरदैलोमा गइरहनुभएको छ?
मुख्य अजेन्डा विकास र अधिकार नै हो। सर्लाहीको विकास शून्य अवस्थामा झरिसकेको छ। अन्य जिल्लाभन्दा सर्लाही विकासमा निकै पछाडि परेको छ। विगत १० वर्षमा यहाँ कुनै पनि विकास निर्माणका काम हुन सकेका छैनन्।
त्यसमा पनि सर्लाही-२ को झनै दुरवस्था छ। जनता निकै निराश छन्। यहाँबाट निर्वाचित जनप्रतिनिधिले विकासलाई शून्य बनाए। यसैलाई मुख्य अजेन्डा बनाएको छु।
त्यस्तै, अधिकार तथा पहिचानको मुद्दा त छँदै छ। त्यो जहाँ गए पनि विकास सँगसँगै लगिरहेको छु।
सत्तारूढ गठबन्धनले समर्थन गर्ने भन्ने थियो। अहिले त गठबन्धनभित्र तालमेल मिलेन। यसले चुनावमा प्रभाव पार्दैन?
केही प्रभाव पार्दैन। गठबन्धनभित्र प्रतिनिधि सभामा मित्रवत् प्रतिस्पर्धा गर्ने सहमति भएको थियो। तर, प्रदेश सभामा केही ठाउँमा बेइमानी भएको छ। प्रतिनिधि सभामा सर्लाही-१ मा नेपाली कांग्रेस र सर्लाही-२ मा लोसपाले पाउने सहमति भएको थियो। माथिबाट उम्मेदवार लादियो। सहमति विपरीत माओवादी र कांग्रेसबाट उम्मेदवारहरू लादिए।
त्यसको भए तपाईंले जित्नुहुन्छ? त्यसका आधार के छन्?
जितको आधार जनता हुन्। जनताको चाहना र भावना अनुसार उम्मेदवार भएको छु, त्यसैले जनता नै जितको आधार हुन्। जनताले परिवर्तन चाहेका छन्। त्यो परिवर्तन अनुसार नै सर्लाही आएको छु। त्यस कारण जनताले आफ्नो मताधिकारको प्रयोग गर्दै जिताउँछन्।
जनतालाई विकासको चाहना कसले पूरा गर्न सक्छ भन्ने थाहा छ। लगातार २५ वर्षदेखि सांसद रहेका महेन्द्र यादवले केही पनि गर्नुभएन। एउटा पनि उल्लेखनीय काम भएको छैन। उहाँले सर्लाहीको दुरवस्था बनाइदिनुभयो भनी जनताले व्यापक रूपमा परिवर्तनको आवाज उठाइरहेका छन्। उहाँप्रति जनतामा आक्रोश छ।
मधेशमा जातिगत आधारमा मत जान्छ भन्छन् नि?
केही प्रभाव पार्दैन। जनता अब चेतनशील भइसकेका छन्। जनतामा विकासको चाहना बढी छ। कुन उम्मेदवारले विकासको चाहना पूरा गर्छ, त्यही आधारमा मत दिने गर्छन्।
मधेशका लागि लड्ने, संसद्मा आवाज उठाउने विगतका इतिहास पनि जनताले याद गरिराखेका छन्। गाउँ गाउँमा जाँदा मैले संसद्मा निर्वाह गरेको भूमिकाको जनताले प्रशंसा गरिरहेका छन्। मेरो त्यही कार्य सम्झेर मतदान गर्नेछन्।
त्यसो भए जित्नुहुन्छ त?
जित्छु नि। जनताको चाहना हो। जहाँ गए पनि मैले विकास र अधिकारको कुरा गरिरहेको छु। मलाई जनताले जिताउँछन्। म जित्नेमा विश्वस्त छु।
थप सामग्री: