छोराकाे तस्वीर बोकेर आफूलाई भोट माग्दै रेशम चाैधरीका बुबा
स्वतन्त्र उम्मेदवारी दिएको भए पनि लालवीर चौधरी छोरा रेशम चौधरीको तस्वीर बोकेर चुनावी प्रचार गरिरहेका छन्।
टीकापुर घटनामा जेल सजाय भोगिरहेका रेशमलाल चौधरीले नागरिक उन्मुक्ति पार्टीको तर्फबाट बर्दिया-२ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवारी दिएका थिए। तर, निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गर्यो।
यही क्षेत्रबाट उनका बुबा लालवीर चौधरीले पनि उम्मेदवारी दिएका थिए। २०७४ सालको निर्वाचनमा सुदूरपश्चिम प्रदेश सभा सदस्यका लागि नेकपा (एमाले)को तर्फबाट कैलाली १ ‘क’बाट उम्मेदवार रहेका लालवीरले यस पटक भने स्वतन्त्र उम्मेदवारी दिए। सुदूरपश्चिमको कैलाली छाडेर लुम्बिनी प्रदेशको बर्दिया रोजे।
उनले उम्मेदवारी दिने वेलासम्म कसैले वास्ता गरेका थिएन। जब रेशमको उम्मेदवारी खारेज भयो, त्यसपछि भने लालवीर चर्चामा छन्। उनलाई नागरिक उन्मुक्ति पार्टीले समर्थन गरेको छ। “हामीले रेशमको विकल्पका रूपमा उहाँका बुबा लालवीरलाई अघि सारेका हौं,” उन्मुक्ति पार्टीका प्रवक्ता दामोदर पण्डित भन्छन्, “हाम्रो पार्टीका नेता तथा कार्यकर्ता उहाँलाई जिताउन पूर्ण रूपमा खटिएका छन्।”
बर्दिया-२ मा सत्तारूढ गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का सुरेश पन्थ र नेकपा (एमाले) बाट पंकजसिंह राठौर प्रतिस्पर्धामा छन्। त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका विनय रावल, नेपाल मजदूर किसान पार्टीका धर्मराज जैसी आचार्य, लोकतान्त्रिक समाजवादी पार्टीका अनिरुध्या आर्य र राष्ट्रिय स्वतन्त्र पार्टीका ओमप्रकाश बसौला उम्मेदवार छन्। यस्तै, रामप्रसाद आचार्य स्वतन्त्र उम्मेदवार छन्।
२०७४ सालको निर्वाचनमा वाम गठबन्धनको सहयोगमा माओवादीका सन्तबहादुर थारू निर्वाचित भएका थिए। थारूले ५० हजार ५५५ मत पाएका थिए भने प्रतिस्पर्धी नेपाली कांग्रेसका गोपाल दहितले ३६ हजार ७३५ मत पाएका थिए।
भर्खरै स्थापना भएको उन्मुक्ति पार्टीको जनआधार हेर्न गत वैशाख ३० मा सम्पन्न स्थानीय चुनावलाई लिन सकिन्छ। उन्मुक्ति पार्टीले उम्मेदवारी दिएका बर्दियाका तीन स्थानीय तहमा पनि राम्रो मत पाएको थिएन। गुलरिया नगरपालिकामा ५११, गेरुवा गाउँपालिकामा १६६ र राजापुर नगरपालिका एक हजार ३४८ मत मात्रै पाएको थियो।
बर्दियाका ठाकुरबाबा नगरपालिका, बढैयाताल गाउँपालिका, बारबर्दिया नगरपालिका, बाँसगढी नगरपालिका र मधुवन नगरपालिकामा उन्मुक्ति पार्टीले उम्मेदवारी नै दिएको थिएन। जिल्लाका आठ स्थानीय तहमध्ये कांग्रेसले पाँच, एमालेले दुई र माओवादीले एक स्थानीय तह प्रमुखमा जितेका थिए।
तर, उनी ६ महीनाको अघिको अवस्थालाई अहिलेसँग तुलना गर्न नहुने तर्क गर्छन्। “अहिलेको माहोल अर्कै छ, स्थानीय चुनावका वेला अर्कै थियो,” उनी भन्छन्, “उन्मुक्ति पार्टीले समर्थन गरेपछि सजिलै जित्छु जस्तो लागेको छ।”
उनी कैलाली र बर्दियाका लागि नयाँ अनुहार होइनन्। सामाजिक अगुवाका रूपमा परिचित उनी पछिल्लो समय पूर्व सांसद रेशमको बुबाका रूपमा परिचित छन्। “म बर्दियाका लागि नयाँ अनुहार होइन, यहाँको मतदाताको साथ र सहयोग पाइरहेको छु। नयाँ ऊर्जा मिलेको छ,” उनी भन्छन्।
राजनीतिक अधिकार र न्यायका लागि आवाज उठाएकै कारण राज्यले रेशमलाई जेल बस्न बाध्य पारेको उनको भनाइ छ। “छोराको न्याय र सुरक्षाका लागि मेरो उम्मेदवारी हो,” उनी भन्छन्।
त्यसैले चुनावी प्रचारका क्रममा छोराकै तस्वीर बोकेर हिंडिरहेको उनी बताउँछन्। उनका चुनावी र्याली र सभामा रेशमको तस्वीर सहितको ब्यानर हुने गरेको छ। जसमा उनले आफ्नो चुनाव चिह्न ‘नल’ पनि राखेका छन्।
उनको प्रचारमा हिंड्ने टोलीले भने ढकिया बोकेको हुन्छ। ढकिया नागरिक उन्मुक्ति पार्टीको चुनाव चिह्न हो।
आफ्नो प्रमुख अजेन्डा नै न्याय रहेको उनी बताउँछन्। “रेशम सहितका जेलमा रहेका सबैको रिहाइ र टीकापुर घटनामा पीडितलाई न्याय दिलाउन उम्मेदवार बनेको हुँ,” उनी भन्छन्।