लोकतन्त्र जोगाउने जिम्मेवारी
हामीले मतदानलाई अधिकारभन्दा बढी शक्ति ठानेर विवेकपूर्वक अहिलेभन्दा योग्य र दक्ष शासक चुन्नु छ, जसको हामी हकदार छौं। अनि मात्र निर्वाचन साँचो अर्थमा लोकतन्त्रको पर्व बन्नेछ।
लोकतन्त्र सङ्कटमा छ!
मुलुक प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको सँघारमा रहेका वेला कतिलाई यस्तो भनाइ असान्दर्भिक र गलत लाग्न सक्छ। किनकि, आवधिक निर्वाचन नै लोकतन्त्रको प्राण हो। अधिनायकवादी शासन व्यवस्थामा यस्तो निर्वाचनको कल्पनासम्म गर्न सकिन्न। तर, अहिले तिनैले लोकतन्त्रमा खतरा देखिरहेका छन्, जसले मुलुकमा लोकतन्त्र स्थापनार्थ संघर्ष र बलिदान गरेका छन्, जो आफू लोकतन्त्रकै असल पहरेदार भएको दाबी गर्छन्। जस्तो, कीर्तिपुरमा आयोजित चुनावी सभामा प्रधानमन्त्री शेरबहादुर देउवाले बताए अनुसार, यो निर्वाचनमा सत्ताधारी गठबन्धनका दलहरू पराजित भए संविधान रहँदैन, लोकतन्त्र जोगिंदैन।
प्रमुख विपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई सुन्ने हो भने ‘कुनै निश्चित राजनीतिक विचार नभई कुत्सित स्वार्थहरूका कारण बनेको’ उक्त गठबन्धनले जिते देश नसोचेको दुर्घटनामा होमिन्छ, लोकतन्त्रमै सङ्कट उत्पन्न हुन्छ। उता, लोकतान्त्रिक पद्धतिलाई ‘राजनीतिक प्रयोग’ मात्र ठान्नेहरूले समेत लोकतन्त्रप्रति चिन्ता दर्शाइरहेको विरोधाभास पनि नदेखिएको होइन।
के हाम्रो लोकतन्त्र साँच्चै सङ्कटमा छ त?
लोकतन्त्रलाई एउटा कोरा प्रक्रिया मात्र बुझ्ने हो भने सहजै भन्न सकिन्छ- बिल्कुलै छैन। किनकि, भर्खरै स्थानीय तहको निर्वाचन भएको छ, अब प्रतिनिधि सभा र प्रदेश सभाको हुँदै छ। न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका जीवितै छन्। नागरिकले संवैधानिक र कानूनी हकअधिकार उपभोग गरिरहेकै छन्। तर, के २०४६ सालको राजनीतिक परिवर्तनयताका हाम्रा सरकार, निर्वाचित जनप्रतिनिधिहरूले लोकतान्त्रिक पद्धति उन्नत बनाउँदै लगेका छन्? सरकारहरूले देश र नागरिकप्रतिको दायित्व वहन अनि सुशासन कायम गर्न सकेका छन्? सार्वजनिक संस्थाहरूले सेवा प्रवाह सुधार्दै आफूलाई नागरिकको भरोसाको केन्द्र बनाएका छन्? राजनीतिक दलहरू आन्तरिक लोकतन्त्रको अभ्यासमा खरो उत्रिरहेका छन्?
आम नागरिकको मनोदशा विश्लेषण, विभिन्न सर्वेक्षण, आर्थिक-सामाजिक सूचक र सुशासनको दुरवस्था हेर्दा प्रष्ट भन्न सकिन्छ- हाम्रा सरकारहरू नागरिकका न्यूनतम अपेक्षा पूरा गर्न समेत असफल छन्। दलहरूले लोकतन्त्रलाई ‘दोहनतन्त्र’ मा परिणत गरेका छन्। सत्ताधारी दल होस् वा बाहिरी, नेतृत्वका अनेकन् स्वार्थ पूरा गर्न, आसेपासे पोस्न उनीहरूबीच अनौठो मिलाप देखिन्छ। एकअर्काका कृत्यबारे कसैगरी पनि मुख नखोल्ने एक किसिमको मौन सम्मति, जसलाई इटालियन शब्द ‘ओमर्टा’ ले सजिलोसँग बुझाउन मद्दत गर्छ।
विडम्बना के भने, अहिले दलहरू लोकतन्त्रमाथि सङ्कटको जस्तो चिन्ता प्रकट गरिरहेछन्, त्यसको कारक अरू कोही नभई उनीहरू स्वयं हुन्। अनि त्यो चिन्तामा नागरिकको पीडा होइन, उनीहरूकै सत्तास्वार्थ लुकेको छ। आफूले जित्दा मात्र लोकतन्त्र जोगिने नेताहरूको रटानले एउटै कुरा सावित गर्छ कि उनीहरूका लागि निर्वाचन लोकतन्त्रको ढुकढुकी होइन, केवल शक्ति हासिल गर्ने साधन हो।
मंसीर ४ को मतदानमा प्रत्येक मतदाताले यस्ता ‘राजनीतिक जुवाडे’हरूलाई चिन्नुपर्छ। आफूलाई लोकतान्त्रिक भन्ने तर व्यवहारमा अलोकतान्त्रिक, अधिनायकवादी र भ्रष्ट नेतालाई हराउनु छ। नेपाली समाज थप लोकतान्त्रिक र खुला हुुनुपर्ने समयमा राजतन्त्रको पक्षपोषण गर्ने, राजनीतिमा धार्मिक अतिवाद, उग्र राष्ट्रवाद जस्ता ध्रुवीकृत सोच/शैलीको वकालत गर्ने जोकोहीलाई पाठ सिकाउनु छ।
लोकतन्त्रलाई सत्ताको भर्याङ मात्र बनाउने, गठबन्धन र तालमेलका आडमा हिजोको हिंसात्मक राजनीतिको जवाफदेहीबाट उम्कन खोज्नेहरूलाई उनीहरूको राजनीतिक हैसियत बताइदिनुपर्नेछ। आफूलाई ‘स्वतन्त्र’ भन्नेहरूको राजनीतिक समझ र लोकतन्त्रप्रतिको प्रतिबद्धता मिहिन रूपमा परख गर्नुपर्नेछ।
के हामी आशा गर्न सक्छौं- निर्वाचनपछि मुलुकमा नयाँ राजनीतिक परिदृश्य निर्माण हुनेछ, दलहरू शुद्धीकरण अभियानमा लाग्नेछन्, देश दलीयकरण र भ्रष्टाचारको दलदलबाट मुक्त हुनेछ, संविधानको इमानदारीपूर्वक पालना हुनेछ ! यी आशाको तत्काल सम्बोधन किन पनि आवश्यक छ भने आम नेपालीजन दशकौंदेखि नबदलिएको आफ्नो नियतिबाट अवसादग्रस्त छन्। उनीहरू यस्तो आशाको किरण खोज्दै छन्, जसले देशमै केही राम्रो हुन सक्ने भविष्य देखाओस्, आधार बनाओस्।
यो मनोभाव वेलैमा मनन नगरिए नागरिकमा यस्तो विद्रोह वा अवज्ञाको आन्दोलन उठ्न सक्छ, जसको सबैभन्दा बढी लाभ दक्षिणपन्थी लोकरिझ्याइँवादी शक्तिहरूले लिनेछन् र मुलुक अलोकतान्त्रिक शासकको लहडको शिकार हुन सक्नेछ। पछिल्लो दशकमा विश्वका कतिपय ठूला देशमै यस्तो दृश्य देखिसकिएको छ। आश्चर्य- तीमध्ये अधिकांश देशमा लोकतान्त्रिक निर्वाचनबाटै त्यस्ता शासकहरूको उदय भएको छ। एउटा उदाहरण त अमेरिकी पूर्व राष्ट्रप्रति डोनल्ड ट्रम्प नै हुन्।
त्यसैले हाम्रा दलहरूले ढिला नगरी बुझ्नुपर्छ, लोकतन्त्र उनीहरूका लागि नागरिकका सपनासँग खेलबाड गर्ने साधन होइन न त यो ‘देखाउने दाँत’ हो। निर्वाचनको यो घडी मुलुकमा लोकतन्त्रलाई बचाइराख्ने या मर्न दिनेहरूबीचको छनोट पनि हो। र, दलहरूबाटै सङ्कटमा परेको यो लोकतन्त्र जोगाउने जिम्मेवारी फेरि पनि आम मतदाताकै हो।
दार्शनिक प्लेटो भन्छन्, ‘राजनीति निरपेक्ष हुनुको एउटा सजाय आफूभन्दा मुनिका शासकद्वारा शासित हुन अभिशप्त हुनु हो।’ त्यसैले हामीले मतदानलाई अधिकारभन्दा बढी शक्ति ठानेर विवेकपूर्वक अहिलेभन्दा योग्य र दक्ष शासक चुन्नु छ, जसको हामी हकदार छौं। अनि मात्र निर्वाचन साँचो अर्थमा लोकतन्त्रको पर्व बन्नेछ।
(हिमालको २०७९ मंसीर अङ्कबाट।)