एमाले उपाध्यक्ष पाण्डेका प्रतिस्पर्धी पौडेललाई कांग्रेसकै डर
चितवन-१ मा एमाले एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेसँग प्रतिस्पर्धा गर्न कांग्रेस उम्मेदवार विश्व पौडेललाई पार्टीभित्रकै प्रतिस्पर्धीको असन्तुष्टि चुनौती बनेको छ।
गत भदौमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेल प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्ने चर्चा हुँदा नै नेपाली कांग्रेसको चितवन जिल्ला नेतृत्वले विरोध जनाएको थियो। जबकि, कांग्रेसको चितवन-१ क्षेत्रीय कार्यसमितिले उनको नाम पनि उम्मेदवारका लागि सिफारिश गरेको थियो।
कांग्रेस क्षेत्रीय कार्यसमितिले भदौ १८ गते पौडेलसँगै ६ जनाको नाम उम्मेदवारका लागि सिफारिश गरेको थियो। जसमा राजेन्द्र बुर्लाकोटी, भीमप्रसाद थपलिया, उमेश श्रेष्ठ, तीर्थ खनियाँ र स्वर्णिम वाग्ले पनि थिए।
चितवन-१ मा उम्मेदवारी दर्तासँगै उनले स्थानीय कांग्रेस नेतृत्वको असन्तुष्टि त साम्य पारे, तर उम्मेदवारको सिफारिशमा परेका सहकर्मीको असहयोग भने अहिले पनि उस्तै छ। कांग्रेसका एक स्थानीय नेता भन्छन्, “स्थानीय नेता-कार्यकर्ता त खटिएका छन्, तर कांग्रेसकै केन्द्रका मान्छे हराउन लागेका छन्।”
उनले नाम त भन्न चाहेनन्, तर उम्मेदवारका लागि सिफारिश भएका व्यक्तिहरू नै विरोधमा लागेको बताए। पार्टीभित्रकै प्रतिस्पर्धीले असहयोग गरिरहेका वेला उनी भने नेकपा (एमाले)का बलिया उम्मेदवार सुरेन्द्र पाण्डेसँग चुनावी प्रतिस्पर्धामा छन्। त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल पनि चुनौती बनेका छन्।
चितवन-१ को क्षेत्र पहाडी भूभाग पर्छ। राप्ती, खैरहनी र रत्ननगर नगरपालिका रहेको यो क्षेत्रमा एक लाख ३९ हजार ८४५ मतदाता छन्। जहाँ १० जना स्वतन्त्र सहित १९ उम्मेदवार प्रतिनिधि सभा सदस्यका लागि प्रतिस्पर्धामा छन्।
विगतको चुनाव हेर्दा यो क्षेत्रमा एमालेको दबदबा छ। एमाले नेता पाण्डे दुई पटक यही क्षेत्रबाट विजयी भएका थिए। उनले २०७४ सालको चुनावमा वाम गठबन्धनको सहयोगमा कांग्रेसका उम्मेदवार राजेन्द्र बुर्लाकोटीलाई पराजित गरेका थिए। पाण्डेले ५१ हजार ८० मत पाएका थिए भने बुर्लाकोटीले ३५ हजार ३६० मत पाएका थिए।
स्थानीय तहको निर्वाचनका आधारमा भने गठबन्धन नै बलियो देखिन्छ। २०७४ सालको स्थानीय तहको निर्वाचनमा तीनै स्थानीय तहको प्रमुख एमालेले जितेको थियो। गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा भने तीनै स्थानीय तहमा एमाले पराजित भयो।
यो निर्वाचन क्षेत्रमा पर्ने ४२ वडामध्ये एमालले २० र कांग्रेसले १८ वडामा जित हासिल गरेका थिए। कांग्रेस र एमालेबाट एक-एक जना बागी तथा माओवादी र समाजवादीका एक-एक उम्मेदवारले जित हासिल गरेका थिए।
सबै वडामा एमालेका वडाध्यक्षको मत ३९ हजार ६०६ छ भने गठबन्धनमा रहेका दलका वडाध्यक्षको मत ४६ हजार ५७७ छ।
एमाले उम्मेदवार पाण्डेय २०७० सालको संविधानसभाको चुनावमा पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए। तेस्रो पटक सांसद बन्न भने उनका लागि पूर्व सहकर्मी पनि चुनौती बनेका छन्। उनी हुन्, स्वतन्त्र पार्टीका उम्मेदवार ढकाल।
ढकाल पूर्व एमाले नेता हुन्। उनी अनेरास्ववियूमा छँदा चितवनमा लोकप्रिय थिए। स्वतन्त्र पार्टी गठन भएपछि उनले एमाले छाडेका हुन्। उनले काट्ने मतले पाण्डेलाई असर पर्ने देखिन्छ।
तथापि, पूर्व अर्थमन्त्री पाण्डेको प्रतिस्पर्धामा छन्, कांग्रेस उम्मेदवार पौडेल। राष्ट्रिय योजना आयोगको उपाध्यक्षबाट राजीनामा दिएर चुनावी मैदानमा आएका उनले शुरूआतमै जिल्ला नेतृत्वको विरोध खेप्नुपर्यो।
उनीहरू सहमतिमा आएपछि त्यसपछि राजेन्द्र बुर्लाकोटीले बागी उम्मेदवारी दिए। उनी २०७४ सालको निर्वाचनमा एमालेका पाण्डेसँग पराजित भएका थिए। यस पटक पनि आफूले टिकट पाउनुपर्ने उनको दाबी थियो।
स्थानीय स्तरबाट जति प्रयास गर्दा पनि बुर्लाकोटीले उम्मेदवारी फिर्ता लिन मानेनन्। त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवाबाट राष्ट्रिय सभामा लैजाने आश्वासन पाएपछि उनले उम्मेदवारी निष्क्रिय बनाएका छन्। बुर्लाकोटी त चुनावी प्रचारमा हिंडेका छन्, तर ‘केन्द्रबाट हराउन लागेको’ चर्चाले पौडेललाई सकस थपेको छ।
हुन पनि कांग्रेस केन्द्रबाट चुनावी प्रचारमा हिंडेका नेताहरू उनको क्षेत्रमा पुगेका छैनन्। चितवनमै आयोजित चुनावी सभामा पुगेका नेताहरूले उमेश श्रेष्ठको प्रशंसा गरे, तर उनको नाम समेत लिएनन्। यही आन्तरिक विवादबीच चुनावी प्रचारमा जुटिरेहका पौडेल चुनाव जित्नेमा आशावादी छन्। कांग्रेस र गठबन्धनमा रहेका दलका स्थानीय नेताहरूले सहयोग गरिरहेकाले आफू जित्ने उनको भनाइ छ।
एमाले विभाजन हुँदा यहाँको राजनीतिक गणित फेरिएको छ। एमालेबाट फुटेर बनेको नेकपा (एकीकृत समाजवादी) सत्तारूढ गठबन्धनमा हुँदा एमाले उम्मेदवार पाण्डेलाई चुनौती नै छ। तथापि, आफूलाई जित्नबाट कसैले रोक्न नसक्ने पाण्डेको भनाइ छ। यस क्षेत्रको जनप्रतिनिधिका रूपमा विकास निर्माणका थुप्रै काम गरेको उनी बताउँछन्। आफूले गरेको कामका आधारमा यस क्षेत्रका बासिन्दाले फेरि पनि मत दिने उनको विश्वास छ।
पूर्व अर्थमन्त्री पाण्डे र अर्थविद् पौडेलबीचको चुनावी प्रतिस्पर्धा रोचक बन्दै गएको छ। एमालेको मत जोगाउन सक्यो र स्वतन्त्र पार्टीका उम्मेदवार ढकालको प्रभाव कम गर्न सक्यो भने एमाले उम्मेदवार पाण्डेलाई सहज हुनेछ।
कांग्रेस उम्मेदवार पौडेललाई भने आफ्नै पार्टीभित्रका प्रतिस्पर्धीको असन्तुष्टि साम्य पार्न सक्दा पनि सजिलो हुने देखिन्छ। किनकि, गठबन्धनमा रहेका दलका नेता तथा कार्यकर्ताले सघाई नै रहेका छन्।