गठबन्धनका उम्मेदवारलाई मतदान गर्न चार दलको अपील
सत्तारुढ गठबन्धनमा रहेका चार दलले संयुक्त अपील जारी गर्दै गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आग्रह गरेका छन्।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बिहीबार संयुक्त अपील जारी गरेका हुन्।
उनीहरूले संयुक्त अपीलमा भनेका छन्, ‘पाँच वर्षमा हुने यो आम निर्वाचनलाई राष्ट्रिय महोत्सवका रूपमा लिएर मतदानमा सहभागी भई लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारलाई अत्यधिक बहुमतले विजयी गराउनु हुन हार्दिक आह्वान गर्दछौं।’
सत्तारूढ गठबन्धनको अपील:
आगामी २०७९ मंसीर ४ गते सम्पन्न हुन लागेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन प्रचारप्रसार तीव्र गतिमा अगाडि बढिरहेकै छ। नेपाली कांग्रेसको नेतृत्वमा रहेको लोकतान्त्रिक वाम गठबन्धनका पक्षमा देशभर जनलहर आएको र नेता कार्यकर्ताहरू उत्साहित भएर सहभागी हुनुभएबाट गठबन्धनको विजय सुनिश्चित रहेको हामीले महसूस गरेका छौं। यो अभियानलाई निरन्तरता दिंदै आम मतदातालाई मतदानमा सहभागी गराउन पार्टीका साथीहरू एवं शुभेच्छुकहरूमा हार्दिक अपील गर्दछौं।
देशको संविधान, कानून, विधि र प्रक्रिया उल्लंघन गरी दुई दुई पटक गरेको प्रतिनिधि सभा विघटन र कोरोना महामारीमा परेका नागरिकलाई खोप दिलाउनु सट्टा भ्रष्टाचारमा निर्लिप्त हुँदै अनेकन् स्वेच्छाचारी र प्रतिगामी कदम चालेपछि तत्कालीन सरकार विरुद्ध २०७८ असारमा यो गठबन्धन बनाउनुपरेको विदितै छ। यो गठबन्धनको सरकार बनेपछि पनि प्रतिगमनकारी र अधिनायकवादी आक्रमणको खतरा कायम रहेका कारण स्थानीय निर्वाचन र यो आम निर्वाचनमा समेत संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिएका हुन्।
झण्डै डेढ वर्षको यो अवधिमा सरकारले स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित तवरमा निर्धारित समयमा नै स्थानीय तहको निर्वाचन सम्पन्न गराएको छ। मुलुकको विदेश नीतिमा सन्तुलन कायम गरेको छ। नागरिकलाई सत्ताको अधिनायकवादी त्रासबाट मुक्त गर्दै दैनिक जीवनयापनका स्रोतसाधनको नियमित आपूर्ति गर्दै आएको छ।
गठबन्धनका प्राथमिकताहरू अहिले पनि उत्तिकै प्रष्ट छन्। संविधानमाथि कुनै खालको आक्रमण हुन नदिने तथा विकासका पूर्वाधारहरूलाई छिटोभन्दा छिटो सम्पन्न गरी मुलुकलाई विकासशील मुलुकको दाँजोमा माथि उठाउने लक्ष्यका साथ हाम्रा सङ्कल्प, प्रतिबद्धता र घोषणापत्र सार्वजनिक भइसकेका छन्।
यो गठबन्धन प्रत्यक्ष निर्वाचनतर्फ भएकाले समानुपातिकतर्फ सबै पार्टीले आआफ्ना पक्षमा मत माग्नु स्वाभाविक हो । यसले गठबन्धनको भावनामा कुनै चोट पुर्याउँदैन। गठबन्धनको स्पष्ट बहुमतबाट नै भोलिको सरकार गठन हुने र यसले संविधानको भावना अनुरूप राजनीतिक स्थायित्व दिने हो।
यो निर्वाचनको परिणामले विघटनकारी र प्रतिगमनका पक्षधरहरूको गठबन्धनलाई उदाङ्गो पार्दै परास्त गर्नुपरेको छ। यसको अर्थ- संविधानको भावना अनुरूप लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका पक्षधर लोकतान्त्रिक वाम गठबन्धनलाई विजयी गराउनु हो। तसर्थ, पाँच वर्षमा हुने यो आम निर्वाचनलाई राष्ट्रिय महोत्सवका रूपमा लिएर मतदानमा सहभागी भई लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारलाई अत्यधिक बहुमतले विजयी गराउनुहुन हार्दिक आह्वान गर्दछौं।