नेपालगञ्जमा कुकर बम विस्फोट, विप्लव समूहका कार्यकर्ता गम्भीर घाइते
नेपालगञ्ज उपमहानगरपालिका १० स्थित भृकुटीनगरमा भएको बम विस्फोटमा परेर नेत्रविक्रम चन्द समूहका कार्यकर्ता घाइते भएका छन्।
कात्तिक ३० गते साँझ भएको विस्फोटमा परेर नेकपाका जिल्ला नेता डिल्ली डिसी र धर्मराज बडुवाल घाइते भएको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए। अधिकारीका अनुसार, डिसीको अवस्था गम्भीर छ।
डिसी र बडुवाल भृकुटीनगर स्थित दिवाकरविक्रम मल्लको घरमा तल्लो तलामा भाडामा बस्दै आएका थिए।
यसैबीच सोही घरमा अर्को प्रेसर कुकर बम पनि भेटिएको प्रहरीले बताएको छ। नेपाली सेनाको टोलीले घटनास्थल पुगेर बम डिस्पोज गरिएको प्रहरीले जनाएको छ। बम विस्फोटको विषयमा अनुसन्धान शुरू गरिएको एसपी अधिकारीले हिमालखबरलाई बताए।