नेपालद्वारा पाकिस्तान पराजित
मैत्रीपूर्ण फूटबल प्रतियोगितामा नेपालले पाकिस्तानलाई पराजित गरेको छ।
काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बुधबार साँझ भएको खेलमा नेपालले पाकिस्तानलाई १-० गोल अन्तरले पराजित गरेको हो। नेपालका लागि अञ्जन विष्टले गोल गरेका हुन्।
पहिलो हाफमा गोल रहित बराबरी भएको थियो। दोस्रो हाफको ८२औं मिनेटमा विष्टले नेपाललाई अग्रता दिलाएका हुन्।
अन्तर्राष्ट्रिय फूटबल महासंघ (फिफा)ले प्रतिबन्ध फुकुवा गरेसँगै पाकिस्तान मैत्रीपूर्ण खेल खेल्न नेपाल आएको हो।
यसअघि भएका खेलमा भने पाकिस्तानकै दबदबा रहेको थियो। नेपाल र पाकिस्तानबीच भएका १६ खेलमा पाकिस्तानले सात र नेपालले चार खेलमा जित हासिल गरेका थिए। दुई देशबीच भएका पाँच खेल बराबरीमा टुङ्गिएका थिए।