मोहनविक्रम सिंह र गोविन्द पोखरेलबीच के भयो कुराकानी?
सत्ता गठबन्धनले प्यूठानमा जनमोर्चालाई उम्मेदवार बनाउने भएपछि असन्तुष्ट बनेका कांग्रेस नेता प्रा. गोविन्द पोखरेल र नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंहबीच मतदान हुन चार दिन बाँकी हुँदा भेटवार्ता भएको छ।
बुधबार प्यूठानको सरुमारानी गाउँपालिका–४, बडडाँडामा सिंह र पोखरेलबीच भेटवार्ता भएको हो। चुनाव प्रचारमा हिंडेका पोखरेल र बुटवल जान लागेका सिंह बीच अचानक भेट भएको हो।
कांग्रेसका एक स्थानीय नेताका अनुसार, दुवै जनाबीच सामान्य राजनीतिक कुराकानी भएको छ। भेटमा सहभागी कांग्रेस कार्यकर्ताले भने, “धेरै समय उहाँहरूबीच औपचारिक कुराकानी भयो। पोखरेलजी सकेसम्म राजनीतिक संवादबाट उम्कन खोजेको बुझिन्थ्यो।”
महामन्त्री सिंहले भने प्यूठानको चुनावी तालमेलका विषयमा छलफल भएको बताए। “प्यूठानमा गठबन्धनका उम्मेदवारलाई जिताउने विषयमा छलफल भएको छ,” सिंहले भने।
२०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसबाट पोखरेल प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका थिए। वाम गठबन्धनको समर्थनमा जनमोर्चा उम्मेदवार दुर्गा पौडेल विजयी भएकी थिइन्। पौडेलले ४७ हजार ५१४ मत पाएकी थिइन् भने पोखरेलले ३१ हजार २८६ मत पाएका थिए।
यस पटक पनि पोखरेल कांग्रेसबाट उम्मेदवारको दाबेदार थिए। तर, सत्तारूढ गठबन्धनबीच तालमेल हुँदा प्यूठान जनमोर्चाको भागमा परेको हो। जनमोर्चाले पौडेललाई नै उम्मेदवार बनाएको छ।
यसको पोखरेलले विरोध गर्दै आएका थिए। उनले सार्वजनिक रूपमै पौडेलका लागि भोट नमाग्ने बताउँदै आएका थिए। जसले जनमोर्चा उपाध्यक्ष समेत रहेकी पौडेललाई अप्ठ्यारो हुन सक्ने आकलन गर्न थालिएको थियो।
आज भने पोखरेलले मसालका महामन्त्री सिंहसँग भेटघाट गरेका हुन्। सिंह जनमोर्चा उम्मेदवार पौडेलका श्रीमान् हुन्।
महामन्त्री सिंहसँगको भेटपछि पोखरेलले ट्वीट गरेका छन्, ‘नेपाल कम्युनिष्ट पार्टी (मसाल)का महामन्त्री ८७ वर्षीय मोहनविक्रम सिंह संघ/प्रदेशको निर्वाचनमा गठबन्धनको प्रचारप्रसारका लागि दौडधूप गरिरहनुहुँदा प्यूठानको बडडाँडामा कफी पिउने क्रममा जम्का भेट भयो। निर्वाचन र गठबन्धनबारे आआफ्नो धारणा राखियो। आखिर संसदीय व्यवस्था नै सबैको मिलनबिन्दु।’
प्यूठानमा नेकपा (एमाले)बाट सूर्य थापा, जनमोर्चाबाट दुर्गा पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट होमबहादुर बुढाथोकी मगर, नेकपा (माले)बाट माधवसिं केसी, मंगोल नेशनल अर्गनाइजेशनबाट मनबहादुर पुन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट कृष्णप्रसाद पोख्रेल र दानप्रसाद सुवेदीले स्वतन्त्र उम्मेदवारी दिएका छन्।