अशोक राईले जित्नैपर्छ: ओली
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सुनसरी-१ का जनता समाजवादी पार्टीका उम्मेदवार अशोक राईले चुनाव जित्नै पर्ने बताएका छन्।
सुनसरीमा कात्तिक ३० गते आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले राईले चुनाव जित्नै पर्ने बताएका हुन्। “धरानमा जसपाका कार्यकर्ता छैनन्, दुई-चार जना होलान्, तर त्यहाँ एमालेले सिङ्गो जसपाका लागि भोट मागेको छ, अभियान चलाएको छ,” पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले भने, “एमालेले समर्थन गरेपछि जित्नैपर्छ अशोक राई, जिताउनैपर्छ एमालेले।”
सुनसरी-१ एमालेसँग तालमेल गरेको जसपाको भागमा परेको छ। २०७४ को निर्वाचनमा राई एमाले उम्मेदवारसँग पराजित भएका थिए।
सुनसरी-३ बाट आफ्नो पार्टीका उम्मेदवार भगवती चौधरीको जित सुनिश्चित भएको ओलीको दाबी छ। विगतमा पनि जनसमर्थन हुँदाहुँदै चौधरीलाई धाँधली गरेर हराइएको उनको भनाइ छ। नेपाली कांग्रेसका नेता विजय गच्छदारले मतपेटिका साटेर जितेको ओलीको आरोप छ।
ललिता निवासको जग्गा अनियमितता प्रकरणमा गच्छदारलाई आफूले नफसाएको उनको भनाइ थियो। अध्यक्ष ओलीले भने, “विजय गच्छदारलाई मैले फसाएको होइन, आफ्नै गलत कामले फसेका हुन्।”