‘धेरैलाई प्रभाव पर्ने गरी काम गर्न राजनीतिमा आएको हुँ’
‘घरदैलोका क्रममा मतदाताले तपाईंं जित्नुहुन्छ भनेर आशीर्वाद दिइरहेका छन्। युवा मात्रै नभएर पुरानो पुस्ताका मतदाताले पनि नयाँ उम्मेदवारलाई मत दिन्छौं भनिरहेका छन्।’
टीच फर नेपाल संस्थाका सहसंस्थापक तथा उद्यमी शिशिर खनाल राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट काठमाडौं-६ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका छन्। अमेरिकाको युनिभर्सिटी अफ विस्कन्सनबाट सार्वजनिक नीतिमा स्नातकोत्तर उनी संसद्मा विषयविज्ञ र सार्वजनिक क्षेत्रमा काम गरेका व्यक्ति प्रवेश गर्नुपर्ने बताउँछन्।
यति वेला घरदैलो अभियानमा व्यस्त खनाल मतदाताबाट पाइरहेको प्रतिक्रियाले उत्साहित देखिन्छन्। हिमालखबरको प्रस्तुति उम्मेदवार संवादमा काठमाडौं-६ का उम्मेदवार खनालसँग सागर बुढाथोकीले गरेको संवादः
शुरूआतमा स्वतन्त्र उम्मेदवारी घोषणा गर्नुभयो। पछि एकाएक राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार बन्नुभयो नि?
ठूला राजनीति दलसँग वितृष्णा उत्पन्न भएर म जस्ता धेरै युवा राजनीतिमा होमिएका छन्। कसै न कसैले विद्रोह नगरे देश सुध्रन्न भन्ने चेतका कारण शुरूमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेको थिएँ। पछि आफ्नै क्षेत्रका मतदाता र साथीभाइले दलको विकल्प बन्नका लागि दलमै आबद्ध भएर लाग्नुपर्ने सुझाव दिए। त्यो हिसाबले अहिलेको अवस्थामा मेरा लागि उपयुक्त दल राष्ट्रिय स्वतन्त्र पार्टी भयो। पार्टीबाट लड्दा दलको विकल्प बन्न सकिन्छ। मेरो लागि आउने समानुपातिक मत पनि खेर जाँदैन। त्यसैले राष्ट्रिय स्वतन्त्र पार्टी रोजेको हुँ।
यसअघि शिक्षा क्षेत्रमा सक्रिय हुनुहुन्थ्यो। एकाएक राजनीतिमा आउनुभयो। के कुराले प्रेरित गर्यो?
मेरा बुबा सरकारी कर्मचारी भएकाले उहाँको सरुवासँगै विभिन्न ठाउँमा जाने मौका पाएँ। सानै उमेरमा विभिन्न ठाउँ पुगेको हुनाले सामाजिक र राजनीतिक चेत विकास हुँदै गयो। स्कूल पढ्दा राजनीति गर्ने माहोल थिएन। त्रिचन्द्र कलेज पढ्दा राजनीतिक माहोल भए पनि त्यति वेलाको विद्यार्थी राजनीतिमा ‘मनी’ र ‘मसलवाला’ हावी थिए। विद्यार्थीको हकहितका लागि नबोल्ने राजनीतिमा लाग्नुभन्दा बरु सामाजिक काममा लाग्छु भन्ने सोचें। र, अमेरिकाबाट फर्किएपछि सामाजिक काममा लागें।
यो क्रममा स्थानीय सरकारसँग सहकार्य गरेर काम गरें। काम गर्दैगर्दा समाजसेवा गरेर मात्र समाज परिवर्तन गर्न सकिन्न रहेछ भन्ने महसूस भयो। एउटा ठूलो समुदायलाई फाइदा गर्न राजनीति नै गर्नुपर्ने रहेछ। किनकि, नागरिकले पाउने सेवा सरकारसँगै जोडिन्छ। त्यसैले राजनीतिमा कुनै न कुनै रूपमा जोडिनुपर्छ भनेर योजना बनाइरहेको थिएँ।
स्थानीय चुनावमा उम्मेदवारी दिन वैकल्पिक राजनीतिमा लागेका केही साथीसँग साढे दुई वर्षअघि छलफल पनि गरेको थिएँ। तर, त्यो वेला वैकल्पिक राजनीति धराशायी भएकाले अघि बढेन। मतदाताले युवा र स्वतन्त्र खोजिरहेको पछिल्लो स्थानीय चुनावले देखाएपछि अहिले उम्मेदवार बनेको हुँ।
सामाजिक कामबाट आफ्नो देशलाई दुई दशक योगदान गरिसकेको मान्छेलाई अहिले रहेका पार्टीमा जान ढोका बन्द जस्तै छ। तर, सत्य के हो भने, देशको नीति निर्माण र कानून बनाउन लागि हामी जस्तै विज्ञ र सार्वजनिक नीति जानेको मान्छे संसद्मा हुन जरुरी छ।
कुनै पनि क्षेत्रको विज्ञ त्यही क्षेत्रमा रहेर देशलाई योगदान दिन नसक्ने हो र?
सबै व्यक्ति राजनीतिमा आउनुपर्छ भनेको होइन। तर, कसलाई कुन कुन हिसाबले देशमा योगदान गर्न मन छ भन्ने कुराले यस्तो निर्णय हुन्छ। किनकि, मलाई त सानैदेखि राजनीति गर्ने रुचि थियो, तर ढुङ्गामुढा गरेर, टायर बालेर हिंड्न मन थिएन।
मैले राजनीतिक अर्थशास्त्रमा स्नातक र सार्वजनिक नीतिमा स्नातकोत्तर गरेको छु। अमेरिकामा पढ्दा त्यहाँका प्रादेशिक सांसदहरूसँग काम गरेको अनुभव छ।
टीच फर नेपालबाट शिक्षामा राम्रै काम गर्यौं। यसरी काम गर्नुको सीमितता छ। मैले व्यक्तिगत रूपमा सात वटा जिल्लामा काम गर्दा के महसूस गरें भने सरकारले चाहेमा एकैपटक ७७ वटै जिल्लामा काम गर्न सक्छ। मैले पाँच-सात लाख विद्यार्थीका लागि काम गर्दा सरकारले सही नीति र योजना बनायो भने देशभरका ७० लाख विद्यार्थीलाई नै प्रभाव पर्ने काम एकैचोटि गर्न सक्छ। त्यसैले कुनै पनि क्षेत्रको विषयविज्ञ राजनीतिमा जाँदा आम मानिसलाई नै फाइदा पुग्छ। किनकि, त्यो व्यक्तिले पहिले गरेकोभन्दा ठूलो जमातका लागि प्रभावकारी हुने गरी काम गर्न नीति तथा योजना बनाउन सक्छ।
राजनीतिक नेतृत्वले विज्ञले दिएका सुझाव र सामाजिक मुद्दालाई आत्मसात् गरेर कार्यान्वयन गर्ने हो भने हामी जस्ता मानिस राजनीतिमा आउनुपर्ने नै थिएन। अहिलेसम्म त्यस्तो अभ्यास नभएको कारण राजनीतिमा होमिनुपरेको हो। बाटोघाटो राम्रो होस्, जागीरका लागि विदेशिनु नपरोस्, बालबच्चाले राम्रो शिक्षा पाउन, स्वास्थ्यको सर्वसुलभ पहुँच होस् भन्ने बाहेक आम मानिसका अन्य अपेक्षा छैनन्। हामीलाई सवारी लाइसेन्स बनाउन पनि चार वर्ष लाग्छ। राज्यले दिनुपर्ने सेवासुविधा दिएकै छैन। विकास निर्माण र उद्यमशील बनाउने योजनामा कसैको ध्यान गएको छैन।
हाम्रो राजनीतिक नेतृत्व अर्कै तरीकाले राजनीति गरेर शासनमा आए। कर्मचारीतन्त्रमा आएका मानिस घोकेर आए। तर, नेपाली समाज पछिल्लो २०-३० वर्षमा त एकदम जटिल भयो। यो जटिलतालाई व्यवस्थित गर्ने सीप भएका मानिस राजनीति र प्रशासन दुवैमा कम भए। त्यही कारण हामी जस्ता सार्वजनिक नीतिमा र समाजमा काम गरेका मानिस राजनीतिमा आउन बाध्य हुनुपर्यो।
चुनाव जितेपछि सरकार बनाउने भनेको ठूला दलले नै हो। साना दलका एक-दुई जनाले जित्नुले ठूलो अर्थ राख्ला र?
निकै ठूलो अर्थ राख्छ। सामान्यतया हाम्रो जस्तो संसदीय व्यवस्थामा चुनिएकामध्येबाट केही कार्यपालिकामा जान्छन्, उनीहरू सरकार बनाएर कार्यकारी काम गर्छन्। संसद्ले बनाएको कानूनको मातहतमा रहेर मात्रै कार्यपालिकाले काम गर्न पाउँछ।
संसद्को सबैभन्दा ठूलो भूमिका कानून निर्माणमा हो। कस्तो कानून बनाउने भन्ने कुरामा हरेक सांसदले आफ्नो विचार राख्न सक्छन्। जस्तो कि, कुनै एउटा गैरसरकारी विधेयक दर्ता गर्ने अधिकार सांसदसँग हुन्छ। विदेयक दर्ता भएपछि संसदीय समितिमा जान्छ। त्यसमा हरेक सांसदको भूमिका महत्त्वपूर्ण हुन्छ। सांसदहरूले आफ्नो भूमिका खेल्न नसक्दा व्यवस्थापिकाको काम थपडी बजाउने मात्र भएको छ।
संसद्ले त जनताको आवाज बोल्नुपर्ने हो, आवश्यक कानून निर्माण गर्न विधेयक दर्ता गर्नुपर्ने हो। तर, नेपालमा यस्तो अभ्यास भएको छैन। त्यसैले संसद् भनेको बहुमत भएकाहरूले थपडी बजाउने ठाउँ मात्रै हो भन्ने धारणा विकसित भएको छ।
विधेयकमा एउटा शब्द र वाक्यमा फरक पर्दा पनि देशलाई ठूलो असर पर्छ। त्यही कारण सांसदले विधेयक पढ्नुपर्छ। बुझ्नुपर्छ। तर, अधिकांश सांसद विधेयक नै पढ्दैनन् । जनताको आवाज नै बोल्दैनन्।
तपाईं जस्ता केही युवा संसद्मा पुगे पनि अहिलेभन्दा के फरक हुन सक्छ?
ठूला दलका सांसदलाई आफ्नो पार्टी अथवा नेतालाई चुनौती दिन गाह्रो छ। उनीहरूले प्रणाली अथवा संरचनाको विरुद्ध बोल्दा पनि नेताको विरुद्ध बोलेको जस्तो देखिने/बुझिने भएकाले आफ्नै पार्टीलाई खतरा भयो। सोही कारण दलका सांसद पिंजडामा राखेको सुगा जस्तै आफैं केही बोल्न नसक्ने भए।
हामी संसद्मा गएपछि सामाजिक मुद्दामा छलफल गर्न सक्छौं। जस्तो कि, मैले लामो समय शिक्षामा काम गरें। शिक्षा सर्वसुलभ बनाउन नीति बनाउन दबाब दिन सक्छु। अर्को व्यक्तिले स्वास्थ्य नीति बनाउने काम गर्ला। यसरी नै संसद्मा जनताको पक्षमा आवाज उठ्न थालियो भने ठूला दलहरूलाई पनि काम गर्नुपर्ने दबाब पर्छ।
अहिले २०२८ सालको ऐन अनुसार शिक्षा क्षेत्र चलिरहेको छ। गएको पाँच वर्षमा शिक्षा सम्बन्धी नयाँ ऐन आएन। सरकारले शिक्षालाई प्राथमिकतामा नै राखेन। यदि म संसद्मा भए शिक्षा सम्बन्धी गैरसरकारी विधेयक दर्ता गराउँथें। त्यस्तै, संघीय कर्मचारी ऐन, संघीय प्रहरी ऐन, स्वास्थ्य सम्बन्धी ऐन आएनन्। हामी जस्ता युवा संसद्मा भए दबाब दिन्थ्यौं, जनताको मुद्दामा बहस हुन्थ्यो।
संसद्ले नियम र कानून बनाउनेभन्दा पनि बाटोघाटो, पुलपुलेसा बनाउने भन्ने किसिमको आम सोचाइ छ। यस्तो अवस्थामा मतदातालाई कसरी बुझाउनुहुन्छ?
यो स्वाभाविक पनि हो। पछिल्लो २०-२५ वर्ष यस्तै अभ्यास भयो। अहिले हामीकहाँ स्थानीय सरकार छ, जसले विकास निर्माणको काम गर्छ। यसको अर्थ सांसदको भूमिका केही हुन्न भनेको होइन। सांसदले ऐन बनाउने काम सँगसँगै विकास निर्माणको काममा प्रदेश र स्थानीय सरकारलाई सहयोग गर्न सक्छ।
काठमाडौं-६ बाट चुनाव जितें भने त्यो क्षेत्रको जनताको सरोकारको विषयमा काम गर्न पहल गर्ने जिम्मेवारी मेरो पनि हुन्छ। किनकि, त्यो क्षेत्रका जनताले मलाई चुनेर पठाएका हुन्। मैले प्रत्यक्ष रूपमा बाटो नबनाए पनि त्यो क्षेत्रमा बाटो बनाउन पहल गर्न सक्छु। अस्पताल नभएको ठाउँमा अस्पताल र विद्यालय नभएको ठाउँमा विद्यालय बनाउन स्रोत व्यवस्थापन गर्ने भूमिका हुन्छ। किनकि, स्थानीय तहले काम गरे पनि बजेट व्यवस्थापनका लागि सांसद पनि लाग्नुपर्छ। जनता पहिलेभन्दा जागरुक भएका छन्, सांसद र स्थानीय तहको काम कर्तव्य र अधिकारबारे बुझाउँदै जाँदा बुझ्छन्।
अहिले राजनीति चेत र सुझबुझले भन्दा पनि आफूलाई स्थापित गर्न स्वतन्त्र उम्मेदवारको भीड लागेको छ भनिन्छ, यस्तो सोच र चेत सहित आएको स्वतन्त्रको भीडले मतदातालाई आकर्षित गर्न सक्ला?
राजनीतिक पार्टीको होस् या स्वतन्त्र व्यक्ति, जो भए पनि त्यो मान्छेले समाज र देशका लागि के गर्यो भन्ने कुरा मुख्य हुन्छ। मैले विगत डेढ दशक शिक्षा क्षेत्रमा काम गरेको धेरैलाई थाहा छ। प्रमाणित नै भइसकेको छ। मेलै चुनाव जितेर यो गर्छु र त्यो गर्छु भनेर भाषण गर्नु पर्दैन, किनकि मैले पहिले नै काम गरिसकेको भएकाले मलाई सजिलो छ।
म नेपालको विकटभन्दा विकट गाउँको स्कूलमा पुगेको छु। ती स्कूलमा युवालाई परिचालन गरेको छु। विभिन्न ठाउँका ५० हजार विद्यार्थीलाई राम्रो शिक्षा दिने काम गरेको छु। मैले शिक्षामा काम गरेकै कारण बुबाआमा नभएको दुर्गमको टुहुरो बच्चा अमेरिका गएर ग्राजुएट गर्न पाइरहेको छ। संस्था बनाएर राम्रो काम गर्दागर्दै नेतृत्व हस्तान्तरण गरेर राजनीतिमा आएको छु।
मसँग नेपालमा मात्र नभएर विदेशी संस्थामा पनि काम गरेको अनुभव छ। स्थानीय तहसँग मिलेर काम गरेको छु। अध्ययन, कामको अनुभव र यसअघिको काममा सफल भएकाले चिनाउन गाह्रो पर्छ जस्तो लाग्दैन। म त पहिलेभन्दा धेरै मानिसलाई प्रभाव पर्ने गरी काम गर्न सकियोस् भनेर राजनीतिमा आएको मान्छे हुँ।
अध्ययन, विषयविज्ञ र विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थामा काम गरेको अनुभवकै आधारमा मतदाताले पत्याउलान् त? यस्तै पृष्ठभूमिबाट वैकल्पिक राजनीतिमा आएकाहरू त अहिले लाखापाखा लागिसके नि!
सन् २००० तिर अमेरिकामा स्नातक पढ्दै गर्दा बूम भन्ने ई-कमर्श व्यवसाय फस्टाएको थियो। त्यो वेला अब सबै कुरा अनलाइन जान्छ भनेर सबैले अनलाइन व्यवसायमा लगानी गरिरहेका थिए। म पनि त्यो ‘ह्विम’ मा लागेर ई-कमर्श व्यवसाय शुरू गर्छु भनेर नेपाल आएर ‘नेट नेपाली डट कम’ दर्ता गरेको थिएँ। तर, त्यो एक वर्ष पनि टिकेन।
केही समयअघि एउटा कार्यक्रममा सस्तो डिलका संस्थापकले ‘हामी समयभन्दा अलिक अगाडि भएछौं, अहिले आएको भए हामीले थोरै समयमा धेरै काम गर्थ्यौं’ भन्नुभयो। सन् २०१२ मा आएको संस्थाले समयभन्दा अघि आएको भन्छ भने मैले त झन् सन् २००० मा संस्था खोलेको थिएँ। जबकि, त्यो वेला समय नै आइसकेको थिएन। सबै कुरा समयले पनि निर्धारण गर्छ। वैकल्पिक राजनीतिमा पनि केही हदसम्म यस्तै भएको हो।
गत स्थानीय चुनावमा तीन सय हाराहारीका स्वतन्त्र मानिसले विभिन्न पदमा चुनाव जिते। समय बिस्तारै परिवर्तन भएर अब माहोल परिपक्व हुँदै छ। माहोल बन्दै गरेको वेला कोही टिक्छन्, कोही टिक्दैनन्। यो स्वाभाविक प्रक्रिया हो। यसअघि वैकल्पिक राजनीतिमा लागेकाहरू नटिके पनि उनीहरूले गरेको योगदान र माहोलको कारण त अहिले स्थानीय चुनावमा स्वतन्त्र उम्मेदवारले राम्रो मत ल्याए। यसअघिका वैकल्पिक राजनीति गर्नेहरूको कारण नै अहिलेको माहोल स्थापित भएको भन्ने कुरा भुल्नु हुँदैन।
सांसद बन्नुभयो भने के के काम गर्छु भन्ने सोच्नुभएको छ?
देशका लागि नीति निर्माण र ऐन बनाउने ‘लबिइङ’ गर्ने र आफ्नो क्षेत्रको प्रतिनिधित्व गरेर त्यहाँका समस्या समाधान गर्ने मेरो प्राथमिकता हुन्छ। मेरा लागि सबैभन्दा महत्त्वपूर्ण काम भनेको शिक्षा हो। अहिले पनि स्कूल भर्ना भएका ७० प्रतिशत विद्यार्थीले बीचैमा छोड्छन्। मेरो निर्वाचन क्षेत्रमा हेर्ने हो भने त्रिचन्द्र, शंकरदेव र अस्कल जस्ता पुराना क्याम्पस छन्। तर, यी शैक्षिक संस्थाको दुःखलाग्दो अवस्था छ। कुनै वेला देशको नेतृत्व उत्पादन गर्ने कलेज दयनीय अवस्थामा हुनु लाजमर्दो कुरा हो। त्यसैले म मेरो क्षेत्रको र राष्ट्रिय मुद्दाको विषयमा नीति निर्माण गर्न संसद्मा बोल्नेछु।
मेरो क्षेत्रमा झोर जस्ता गाउँ छन्। त्यो ग्रामीण परिवेशमा अझै विद्यालय राम्रो छैन। गुणस्तरीय सेवा दिने अस्पताल छैन। त्यसमा केन्द्रित हुन्छु।
लैनचौर, सामाखुशी, असन, बागबजार जस्ता क्षेत्रका सांस्कृतिक सम्पदा जोगाउन काम गर्नेछु। अर्को, उद्यमशीलताको वातावरण बनाउने नीति नै छैन। जस्तो- अहिले कोही मानिससँग जग्गा छैन भने व्यवसाय गर्न ऋण नपाउने अवस्था छ। सबैसँग जग्गा पनि हुँदैन। त्यही कारण उद्यमी बन्नबाट वञ्चित छन्। म उद्यमी बन्न सहज हुने वातावरणका लागि नीति बनाउन पहल गर्नेछु।
एक वर्षअघि राष्ट्रिय योजना आयोगले युवा उद्यमीका लागि सहयोग गर्ने भनेर आवेदन माग गरेको थियो। त्यसमा मैले पनि फर्म भरेको थिएँ। तर, त्यो कार्यक्रम त्यसै रोकियो। किनभने, त्यसका लागि आवश्यक कानूनी व्यवस्था गरिएको थिएन। त्यसैले नेपाललाई उद्यमशील कसरी बनाउने भन्ने विषयमा नीति बनाउन काम गर्नेछु।
अब केही दिन मात्रै बाँकी छन्। तपाईंको पक्षमा चुनावी माहोल कस्तो बनेको छ?
घरदैलोका क्रममा मतदाताले राम्रो प्रतिक्रिया दिइरहेका छन्। तपाईं जित्नुहुन्छ भनेर आशीर्वाद दिइरहेका छन्। युवा मात्रै नभएर पुरानो पुस्ताका मतदाताले पनि नयाँ उम्मेदवारलाई मत दिन्छौं भनिरहेका छन्। समग्रमा एकदम राम्रो माहोल बनेको छ। घरदैलोका क्रममा पाइरहेका प्रतिक्रिया र समर्थनले यो क्षेत्रका मतदाताले मलाई जिताउनेछन् भन्ने विश्वास लागेको छ।
थप सामग्री: