महोत्तरीका ४ क्षेत्रमा कसको पल्ला भारी?
दलका केन्द्रीय अध्यक्ष, पूर्व मन्त्री, प्रतिनिधि सभाका पूर्व सदस्य, प्रदेश सभाका पूर्व सदस्यहरू उम्मेदवार रहेको महोत्तरीमा चुनावी प्रतिस्पर्धा रोचक बनेको छ।
महोत्तरी-१ मा पूर्व मन्त्री गिरिराजमणि पोखरेल सहित १५ जना चुनावी मैदानमा उत्रिएका छन्। यसअघि यसै क्षेत्रबाट तीन पटक जित निकालेका नेकपा (माओवादी)का नेता ६५ वर्षीय पोखरेल सत्ता गठबन्धनका उम्मेदवार हुन्। उनी चौथो पटक जित निकाल्ने ध्याउन्नमा छन्।
यस्तै, विपक्षी गठबन्धनबाट नेकपा (एमाले)का ५८ वर्षीय लक्ष्मी महतो कोइरी उम्मेदवार छन्। उनी अघिल्लो निर्वाचनमा संघीय समाजवादी फोरमबाट उम्मेदवार थिए। स्थानीय धनवीर कुशवाहाका अनुसार‚ यस पटक पोखरेललाई निकै चुनौती छ। कोइरीले सहानुभूतिको मत प्राप्त गर्ने स्थानीयहरू बताउँछन्। यही क्षेत्रमा स्वतन्त्र उम्मेदवार ४४ वर्षीय पोषणबहादुर थापाको समेत चर्चा छ। यस क्षेत्रमा ९८ हजार ४९७ मतदाता छन्।
२०७४ को चुनावमा महोत्तरी-१ बाट माओवादीका पोखरेलले २३ हजार ७७६, लक्ष्मी महतो कोइरीले १९ हजार ४९२ र कांग्रेसका सीताराम भण्डारीले नौ हजार ४७५ मत पाएका थिए।
प्रदेश सभा सदस्यका लागि महोत्तरी-१ (१)मा प्रदेश सभाका पूर्व सदस्य एमालेकी शारदादेवी थापा र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उम्मेदवार पीताम्बर महतो मुख्य प्रतिस्पर्धी हुन्। त्यस्तै, महोत्तरी-१ (२)मा जनता समाजवादी पार्टी (जसपा)का राम श्रेष्ठ महतो, नेकपा (माओवादी केन्द्र)का भरतप्रसाद साह र स्वतन्त्र उम्मेदवार विष्णुबहादुर योञ्जनबीच तीव्र प्रतिस्पर्धा हुने आकलन छ। योञ्जन गत स्थानीय निर्वाचनमा माओवादी केन्द्रबाट गौशाला नगरपालिकाको मेयरका उम्मेदवार थिए। उनको उम्मेदवारीले मधेश प्रदेशका आन्तरिक मामिला मन्त्री समेत रहेका साहलाई असर गर्न सक्ने स्थानीय अजय साह बताउँछन्।
महोत्तरी-२ मा महोत्तरीबाटै सबैभन्दा बढी केन्द्र स्तरको प्रतिनिधि र मन्त्री भइसकेका ६८ वर्षीय शरतसिंह भण्डारी सहित १७ जना चुनावी मैदानमा छन्। लोसपाका नेता भण्डारी सत्ता गठबन्धनका साझा उम्मेदवार हुन्। उनी पहिलो पटक २०३८ सालमा राष्ट्रिय पञ्चायत सदस्य निर्वाचित भएका थिए। उनी दुई पटक राष्ट्रिय पञ्चायत सदस्य, तीन पटक प्रतिनिधि सभा सदस्य, एक पटक संविधानसभा सदस्य भइसकेका छन्।
यस क्षेत्रमा विपक्षी गठबन्धनबाट एमालेका ६३ वर्षीय रामपरीक्षण यादव, तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)का ७० वर्षीय विजयकुमार सिंह र जनमत पार्टीका उम्मेदवार ५४ वर्षीय उमेशकुमार यादवको नाम समेत चर्चामा छ। यस क्षेत्रमा ९९ हजार ७०७ मतदाता छन्।
अघिल्लो निर्वाचनमा महोत्तरी-२ मा शरतसिंह भण्डारीले ३० हजार ७२२, कांग्रेसका किरण यादवले १३ हजार ९७४ र माओवादी केन्द्रका कासिम नदाफले तीन हजार ७३२ मत ल्याएका थिए।
स्थानीय नवल यादवका अनुसार, प्रतिनिधि सभा सदस्यका उम्मेदवार भण्डारी बलियो स्थितिमा रहे पनि प्रदेश सभामा भने त्रिकोणात्मक प्रतिस्पर्धा छ। महोत्तरी-२ (१)मा जसपाका धर्मेन्द्रकमार साह तेली, लोसपाका जयनूल राइन र नेकपा (एकीकृत समाजवादी)की मञ्जुकुमारी यादवबीच मुख्य प्रतिस्पर्धा छ। राइन र यादव प्रदेश सभाका पूर्व सदस्य तथा तेली संविधानसभा सदस्य हुन्।
त्यस्तै, महोत्तरी-२ (२)मा प्रदेश सभाका पूर्व सदस्य एवं संविधानसभा सदस्य स्वतन्त्र उम्मेदवार सुरिताकुमारी साह र कांग्रेस महोत्तरी जिल्ला सभापति नागेश्वर यादवबीच मुख्य प्रतिस्पर्धा छ।
महोत्तरी-३ मा लोसपाका अध्यक्ष ८० वर्षीय महन्थ ठाकुर सहित २१ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। पूर्व मन्त्री ठाकुर यसअघि नेपाली कांग्रेसबाट २०४८, २०५१ र २०५६ मा सर्लाही-५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए। तर, २०६४ देखि भने उनी कांग्रेसबाट अलग भई मधेशीको मुद्दालाई लिएर राजनीतिमा होमिए। यसपछि भने सर्लाही छाडेर २०७० को निर्वाचनमा महोत्तरी-३ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बने। त्यहाँबाट पनि निर्वाचित भए।
२०७४ मा महन्थ ठाकुर २६ हजार ८४५ मत सहित विजयी भएका थिए। उनका प्रतिद्वन्द्वीहरू एमालेका विजयकुमार चौधरीले आठ हजार ६७६, स्वतन्त्र चन्देश्वर झाले चार हजार २० र बहुजन शक्ति पार्टीका जोगिन्द्र महताले एक हजार ८८४ मत पाएका थिए।
अहिले भने ठाकुरको आलोचना हुने गरेको छ। जलेश्वरका सरोज साह भन्छन्, “केन्द्रीय स्तरको नेतालाई प्रतिनिधि बनाए पनि महोत्तरी जिल्ला सदरमुकाम जलेश्वर र त्यस आसपासको क्षेत्रमा शिक्षा, स्वास्थ्य र शहरीकरणमा खासै उपलब्धिमूलक काम भएकाले मतदाता आक्रोशित छन् ।”
महोत्तरी-३ मा ठाकुरसँगै जसपाका हरिनारायण यादव पनि उम्मेदवार छन्। ६० वर्षीय पूर्व मन्त्री यादव २०६४ सालमा महोत्तरी-२ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए। यस्तै, सोही क्षेत्रमा तमलोपाका अध्यक्ष ६७ वर्षीय वृषेशचन्द्र लाल पनि चुनावी मैदानमा छन्। उनी राष्ट्रिय सभाका पूर्व सदस्य हुन्। यस्तै, स्वतन्त्र उम्मेदवार ५२ वर्षीय रामआधार कापरको नाम पनि चर्चामा छ । ठाकुर, यादव, लाल र कापर चारै जना पूर्व कांग्रेसी हुन्।
यस क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवार महन्थ ठाकुर र विपक्षी गठबन्धनका उम्मेदवार हरिनारायण यादवबीच मुख्य प्रतिस्पर्धा हुने स्थानीय मनोज साह बताउँछन्। ठाकुर र यादवले प्रतिनिधि सभा र प्रदेश सभामा आफ्नो गठबन्धनले जित्ने दाबी गरिरहेका छन्। महोत्तरी-३ मा ९९ हजार ९३० मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ।
प्रदेश सभा सदस्यका लागि दुवै क्षेत्रबाट सत्ता र विपक्षी गठबन्धनका उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ। महोत्तरी-३ (१)मा लोसपाका अभिराम शर्मा र जसपाका दीपेन्द्र झा मुख्य प्रतिस्पर्धी हुन्। तर, पूर्व मन्त्री शर्मा र पूर्व मुख्य न्यायाधिवक्ता झालाई भ्रष्टाचारलाई प्रोत्साहन गरेको आरोप लाग्दै आएको छ। यस क्षेत्रमा जनमत पार्टीका कुशेश्वर साह र स्वतन्त्र उम्मेदवार श्यामकिशोर चौधरीको समेत चर्चा छ।
त्यस्तै, महोत्तरी-३ (२)मा सत्ता गठबन्धनबाट उम्मेदवार रहेका लोसपाकी रानीकुमारी तिवारी र विपक्षी गठबन्धनबाट उम्मेदवार रहेका एमालेका रामदयाल मण्डल मुख्य प्रतिस्पर्धी रहेको स्थानीय जितेन्द्र पासवान बताउँछन्। तिवारी पूर्व प्रदेश सभा सदस्य र मण्डल संविधानसभा सदस्य हुन्। यस क्षेत्रमा स्वतन्त्र उम्मेदवार उज्ज्वलकुमार झा र दीपेन्द्रकुमार यादवको नाम समेत चर्चामा छ।
महोत्तरी-४ मा पनि रोचक प्रतिस्पर्धा छ। १४ जना उम्मेदवार भए पनि मुख्य प्रतिस्पर्धी भने सत्ता गठबन्धन र विपक्षी गठबन्धनका उम्मेदवार हुन्।
सत्ता गठबन्धनबाट कांग्रेसका ६३ वर्षीय महेन्द्रकुमार राय र विपक्षी गठबन्धनबाट जसपाका ५१ वर्षीय सुरेन्द्रकुमार यादव चुनावी मैदानमा छन्। २०५६ मा प्रतिनिधि सभा सदस्यमा निर्वाचित महेन्द्र पूर्व मन्त्री समेत हुन्। यस्तै, सुरेन्द्र प्रतिनिधि सभाका पूर्व सदस्य तथा पूर्व मन्त्री हुन्।
दुवै जना एउटै समुदायबाट रहेकाले यस क्षेत्रको चुनावी प्रतिस्पर्धा रोचक देखिएको छ। सत्ता गठबन्धनमा बेइमानी भए सुरेन्द्रले जित्न सक्ने स्थानीयको आकलन छ। अर्कातर्फ, अघिल्लो निर्वाचनमा पराजित भएका कारण रायले सहानुभूति मत पाएमा नतीजा फरक आउने सम्भावना उत्तिकै रहेको रोकसाना बेगमको भनाइ छ। यस क्षेत्रमा ९८ हजार ८९६ मतदाता छन्।
२०७४ मा महोत्तरी ४ बाट संघीय समाजवादी फोरमका सुरेन्द्रकुमार यादव १८ हजार ३५३ मत ल्याएर निर्वाचित भएका थिए। कांग्रेसका महेन्द्रकुमार रायले १३ हजार २५ र माओवादी केन्द्रका मो रजी हैदरले १२ हजार ९४५ भोट प्राप्त गरेका थिए।
प्रदेश सभातर्फ महोत्तरी-४ (१)मा एमालेका सरोजकुमार यादव र लोसपाका कौशलकुमार यादव मुख्य प्रतिस्पर्धी हुन्। कौशल अघिल्लो निर्वाचनमा जसपाबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए। त्यस्तै, महोत्तरी-४ (२)मा जसपाका सरोजकुमार सिंह र माओवादी केन्द्रका लालेन्द्रकुमार मण्डलबीच मुख्य प्रतिस्पर्धा छ।