क्यान्सरपीडित बालबालिकाको कहाली
उचित परामर्श नपाउँदा तनाव झेल्न नसकेर कतिपय अभिभावकले निको हुने क्यान्सरपीडित बालबच्चालाई समेत अस्पतालबाट निकालेर घर लैजाँदा रहेछन्।
बालबालिकालाई पनि क्यान्सर लाग्छ होला ? गत वर्ष कामको सिलसिलामा काभ्रे पुगेका बेला आँखाको क्यान्सर भएका एक बालक भेट्नु भन्दा पहिले मलाई यसबारे थाहै थिएन ।
ती बालकसँगको भेट मेरानिम्ति अलि अपत्यारिलो नै थियो । उनी पढ्ने विद्यालयका प्रधानाध्यापकसँग कुरा गर्दा थाहा भो– आमाबुबाले उनको उपचारका लागि सहयोग खोजिरहेका रहेछन् । त्यसबेला त्यत्तिकै भो । काम सकेर म काठमाडौं फर्कें ।
तर, पहिलो पटक क्यान्सरपीडित बालबालिकासँग साक्षात्कार भएकाले होला, मेरो मन काभ्रेतिरै दौडिरह्यो । कान्ति बाल अस्पतालमा उनको उपचार भइरहेको थाहा पाएपछि केही रकम जोरजाम गरेर उनका आमाबुबालाई भेट्न अस्पताल गएँ । अस्पतालको अन्कोलोजी वार्डमा उनी मात्र थिएनन् । छेउकै बेडमा मिर्गौलाको क्यान्सर भएका नुवाकोटका अर्का बालकलाई देखें । अरू धेरै बालबालिकाको पनि कपाल थिएन ।
अर्थात्, बालबालिकामा क्यान्सर सामान्य बनिसकेको रहेछ भन्ने मैले त्यही दिन थाहा पाएँ । कान्तिमा प्रायः विकट गाउँबाट क्यान्सरपीडित छोराछोरीको उपचार गर्न आएका अभिभावक हुँदारहेछन्, जसलाई यो रोगको कसरी उपचार हुन्छ भन्ने समेत थाहा हुँदैन । कतिपय बालबालिकाले त क्यान्सर लागेपछि अस्पतालसम्म नपुगेरै ज्यान गुमाउँदा रहेछन् ।
क्यान्सरपीडित एक–दुई जना बालबालिकालाई सहयोग गरेपछि धेरै ठाउँबाट सहयोगको आग्रह गरेर फोन आउन थाले । साथीहरूलाई सहयोगको अपील गरेर पनि मैले केही बालबालिकाका लागि सहयोग रकम जुटाएँ ।
यो एक वर्षको बीचमा त्यसरी सहयोग गरिएका बालबालिका ३८ जना पुगेछन् । हामीले सहयोग गरेका ७–८ जना क्यान्सरपीडित बालबालिकाको रोग निको पनि भयो । दुःखको कुरा, चार जनाको भने उपचार गर्दागर्दै ज्यान गयो ।
क्यान्सरपीडित धेरै बालबालिका गरीब परिवारका छन् । ज्यालामजदूरी र सामान्य खेतीपातीबाट गुजारा गरिरहेका, गरीबीको कहर भोगिरहेका यस्ता अभिभावक क्यान्सरको उपचार गर्नुपर्दा निकै तनावमा हुन्छन् । किनभने क्यान्सरको उपचार निकै महँगो छ ।
यो एक वर्षको बीचमा त्यसरी सहयोग गरिएका बालबालिका ३८ जना पुगेछन्। हामीले सहयोग गरेका ७–८ जना क्यान्सरपीडित बालबालिकाको रोग निको पनि भयो । दुःखको कुरा, चार जनाको भने उपचार गर्दागर्दै ज्यान गयो ।
त्यसमाथि अस्पतालका फार्मेसीमा अत्यावश्यक महँगा औषधि नपाइने हुँदा यो रोगको उपचारका लागि सरकारले दिने रु.१ लाख अनुदान उपयोगविहीन जस्तै छ । अस्पतालमा क्यान्सर जाँच्ने र उपचार गर्ने अत्यावश्यक उपकरण समेत छैनन् ।
धेरैजसो अभिभावक ऋण खोजेरै बालबच्चाको उपचार गर्न आउँदा रहेछन् । क्यान्सरपीडित बालबच्चाको हेरचाहमै समय जाने हुँदा उनीहरूले काम गरेर खर्च जुटाउन समेत पाउँदैनन् ।
क्यान्सर यस्तो रोग हो, जुन उपचारपछि निको हुने/नहुने टुंगो हुँदैन । ऋण खोजेर बालबच्चाको उपचार जोहो गर्ने अभिभावकमा सबभन्दा बढी यही तनाव हुन्छ । क्यान्सरको उपचार लामो समयसम्म चल्ने हुँदा प्रायः अभिभावक अस्पताल छेउछाउमै डेरा लिएर बस्दा रहेछन् । यसले उनीहरूमाथि थप आर्थिक दबाब थोपरेको छ ।
क्यान्सरको उपचार गराइरहेका बिरामीलाई चाहिएको मुख्य कुरा आर्थिक सहयोग नै हो । खर्च अभावले उपचार गर्न नसकेका यस्ता बालबच्चाका लागि एक वर्षमा रु.२२ लाख जुटाएर उपचारमा सहयोग गर्न पाउँदा मलाई केही सन्तोष मिलेको छ ।
मेरो नमीठो अनुभव के रह्यो भने दूरदराजका गाउँबाट क्यान्सरपीडित बालबच्चाको उपचार गर्न आउने अभिभावकले कान्ति बाल अस्पतालमा राम्रो परामर्श सेवा नै पाउँदा रहेनछन् । रोगको उपचार र बिरामीको हेरचाहबारे अभिभावकलाई थाहै हुन्नरहेछ । उनीहरूलाई बुझाइदिने पनि कोही नहुँदोरहेछ ।
हामीले केहीलाई बाहिरका डाक्टर मार्फत परामर्श पनि दियौं, तर सबैलाई त्यसो गर्न सम्भव हुँदो रहेनछ । राम्रो परामर्श नपाउँदा तनाव झेल्न नसकेर कतिपय अभिभावकले निको हुने बालबच्चालाई समेत फर्काएर घर लैजाँदा रहेछन् । बालबालिकालाई हुने अधिकांश क्यान्सर रोग समयमै उपचार भएमा निको हुन्छन् भनेर अभिभावकलाई बुझउन गाउँगाउँमा यसबारे जानकारी दिन आवश्यक छ ।
कान्ति बाल अस्पतालको अन्कोलोजी वार्ड निकै अव्यवस्थित र सामान्य उपकरणबाट समेत वञ्चित देखेपछि हामीले त्यसका लागि समेत सहयोग जुटाउने पहल शुरू गरेका छौं । निःस्वार्थ गरिने सहयोग भएकाले इच्छुक जोकोही व्यक्ति यसमा जोडिन सक्नुहुन्छ । बालापनमै क्यान्सरसँग जुधिरहेका अबोध बालबालिकाको ज्यान बचाउने हाम्रो प्रयास हो ।
- पोखरेल रातो बंगला फाउण्डेशनकी कार्यक्रम अधिकृत हुन् ।
पढनुहोस्– बालबालिकामा क्यान्सरको भयावह