सात लाख घरमा पुग्यो वर्ल्डलिङ्कको इन्टरनेट सेवा
वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडको इन्टरनेट सेवा जडान गर्ने घरको सङ्ख्या सात लाख नाघेको छ।
देशकै ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनीका रूपमा रहेको वर्ल्डलिङ्कले यही सोमबार राति ९ बजेर १२ मिनेटमा सात लाख पार गरेको जनाएको छ। २०५२ भदौ ३० गते स्थापना भएको वर्ल्डलिङ्कले नेपालमा इन्टरनेट सेवा दिन थालेको २७ वर्ष पूरा भएको छ।
२०७४ जेठमा एक लाख ग्राहक सङ्ख्या पुगेको वर्ल्डलिङ्कले त्यसको साढे पाँच वर्षमा थप नयाँ ६ लाख ग्राहक थपेको हो। देशभर १५० भन्दा बढी शाखा कार्यालय रहेको वर्ल्डलिङ्कमा हाल पाँच हजारभन्दा बढी कर्मचारी कार्यरत छन्।
देशका सातै प्रदेशका ७३ जिल्लामा वर्ल्डलिङ्कको इन्टरनेट सेवा पुगिसकेको छ। बाँकी रहेका दार्चुला, बैतडी, मनाङ र मुस्ताङमा समेत चाँडै नै आफ्नो सेवा विस्तार गर्ने कम्पनीले जनाएको छ।
देशको कुल इन्टरनेट ट्राफिकमध्ये ४२ प्रतिशत वर्ल्डलिङ्क मार्फत जाने गरेको छ। कम्पनीले देशका १४ हजारभन्दा बढी स्थानमा वाईफाई एक्सप्रेस मार्फत फ्री वाईफाई समेत उपलब्ध गराइरहेको छ।
नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार, एउटा इन्टरनेट कनेक्शन औसतमा ४.३ प्रयोगकर्ताले प्रयोग गर्ने गरेका छन्। त्यस आधारमा नेपालमा वर्ल्डलिङ्कको इन्टरनेट सेवा प्रयोग गर्ने ग्राहकको सङ्ख्या ३० लाख २४ हजारभन्दा बढी रहेको देखिन्छ।