कितियाको फोटोले जन्माएको हिउँ चितुवा बहस
अमेरिकी फोटोग्राफर कितिया पावोलोब्स्कीले सगरमाथा क्षेत्रमा खिचेको हिउँ चितुवाको फोटो चर्चित भइरहँदा नेपालका वन्यजन्तु फोटोग्राफरहरूको पनि चर्चा चुलिएको छ।
अमेरिकी लेखक पिटर म्याथिसन सन् १९७३ मा प्राणीशास्त्री जर्ज स्यालरसँगै नेपाल आएका थिए। स्यालरको उद्देश्य शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज रहेको डोल्पो क्षेत्रमा पाइने नाउर (भरल)को अध्ययन गर्नु थियो। उनीहरूलाई हिउँ चितुवा पनि देखिएला कि भन्ने आश थियो।
नेपाल भ्रमणबारे म्याथिसन लेखेको किताब द स्नो लियोपर्ड सन् १९७८ मा प्रकाशित भयो। पश्चिमा जगत्मा चर्चित उक्त किताबमा स्यालरसँगको खोज यात्रालाई म्याथिसनले नियात्रा शैलीमा उतारेका छन्। संरक्षण कथाको भान पर्ने उनको किताब नियात्रा हो।
म्याथिसन डोल्पो आएको झण्डै ५० वर्षमा नेपालको अन्नपूर्ण क्षेत्र र सगरमाथा क्षेत्रमा हिउँ चितुवाकै खोजीमा आएकी एक अमेरिकी फोटोग्राफर अहिले चर्चामा छिन्। फोटोग्राफर कितिया पावोलोब्स्की चर्चित हुनुको कारण उनले सगरमाथा क्षेत्रको गोरेकशेपबाट खिचेको हिउँ चितुवाको फोटो हो। मुस्ताङमा पनि उनले हिलो माटोमा हिउँ चितुवाको पाइलाको फोटो खिचेकी थिइन्।
गोरेकशेपको १६ हजार ९४२ फिट (५१ सय ६४ मिटर)को उचाइमा कितिया हिउँ चितुवाको फोटो लिन सफल भएकी थिइन्। त्यस्तै, खुम्बु हिमनदीको १७ हजार १४ फिट (५१ सय ८५ मिटर) उचाइमा रहेको चट्टानमाथि हिउँ चितुवा बसेको फोटो पनि खिच्न भ्याइन्। ती फोटोहरू उनले आफ्नो बेवसाइटमा राखेकी छन्।
कितियाको फोटो चर्चित भइरहँदा नेपालका वन्यजन्तु फोटोग्राफरहरूको पनि चर्चा चुलिएको छ। नेपालमा वन्यजन्तुको फोटोग्राफीमा लगावका साथ लाग्नेहरूको संख्या बढिरहेको छ। चितुवाकै फोटो खिचेका केही फोटोग्राफरहरू झण्डै १५ वर्षदेखि त्यही काममा तल्लीन छन्।
नेपाली क्लिक
फोटोग्राफर तासी घलेले १६ वर्षअघि मनाङ क्षेत्रमा हिउँ चितुवाको फोटो खिचेका थिए। आफूले ३० पटक हिउँ चितुवा देखेकोमा २९ पटक फोटो खिच्न भ्याएको उनले बताए।
“विदेशी मिडियाको पहुँच धेरै हुन्छ, पाठक/स्रोता पनि धेरै हुन्छन्। जसले खिचे पनि यसरी नेपालको फोटो विदेशी मिडियामा आउँदा हामी सबैलाई फाइदा नै हुन्छ,” घले भन्छन्, “तर, हामी चाहिं पछि परेका छौं, हामीले चाहिं काम गरेका छैनौं, विदेशीले मात्र राम्रो काम गर्छन् भन्ने बुझाइ हुनु भएन।”
आफूले खिचेका फोटोहरूको प्रदर्शनी मंसीर दोस्रो साता काठमाडौंको विन्डहर्स ग्यालरीमा गर्ने तयारीमा घले जुटिरहेका छन्। जसमा चितुवाहरूको चित्ताकर्षक फोटोहरू पनि हुने उनले बताए।
वन्यजन्तुको फोटोग्राफीमा लागेका चुङ्बा शेर्पा पनि घलेको तर्कप्रति सहमत छन्। “हामीले खिचेका फोटो यहीं मात्र सर्कुलेट हुने गरेको थियो भने विदेशीले खिच्दा विश्वभरि पुग्यो,” उनी भन्छन्, “यही फोटोको चर्चा हुँदा नेपालीले खिचेको फोटोहरू खोजियो, त्यसलाई पनि सकारात्मक नै मान्नुपर्छ।”
शेर्पाले दुई पटकको प्रयासमा हिउँ चितुवाको फोटो खिच्न पाएको अनुभव सुनाए। “चितुवाको फोटो खिच्न मनाङ पुग्दा शुरूमा त रित्तै हात फर्कनुपर्यो। दोस्रो पटक भने क्याम्पमै रात बस्ने गरी गएँ,” उनले भने, “१२औं दिनमा बल्ल ४६ सय मिटरको उचाइमा बिहान पाँच बजेर २० मिनेट जाँदा चितुवा आयो। अनि धमाधम फोटो खिचें।”
सगरमाथा क्षेत्रमा पदयात्रा गर्ने क्रममा अर्का फोटोग्राफर खरीजंग राईले चितुवाले शिकार खाइरहेको दृश्य खिच्ने सौभाग्य पाएका थिए। “हामी पदयात्री टोलीसँग एभरेेस्ट बेस क्याम्पबाट झर्दै थियौं, पाङबोचेबाट दिबोचे पुग्नै आँट्दा चितुवाले झारल मारेर खाइरहेको देखें,” राईले भने, “झमक्कै साँझ पर्न आँटेको थियो। मसँग भएको क्यामरमा लाइट मिलाएर खिचें। आँखाले देखेभन्दा क्यामेरामा धन्न राम्रो आएछ।”
आफूले चितुवाको दुई-तीन वटा फोटो खिचेको र क्यामेराको फ्ल्यास आएतर्फ चितुवाले हेर्दा दोस्रो खिचाइमा क्यामेराको प्रकाश चितुवाको आँखामा परेर आँखा खैरो देखिएको पनि राईले बताए। “बेलुका गेस्ट हाउसमा एक जना गाइडले मैले २५ वर्ष ट्रेकिङ जाँदा कहिल्यै चितुवा देखेको थिइनँ, तिमीले देख्न पायौ, तिमी लक्की रहेछौ भन्नुभयो,” उनले पाँच वर्षअघिको घटना सम्झिए।
नेपालमा कति छन् हिउँ चितुवा?
सगरमाथा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्याय बाघ र गैंडा जस्तो हिउँ चितुवाको एक–एक गणना गर्न सम्भव नभएको बताउँदै विभिन्न तथ्याङ्क र अवस्थाको आधारमा चितुवाको संख्या अनुमान गरिने गरेको बताउँछन्।
“निकुञ्जले सन् २०१० मा गरेको अध्ययनमा सगरमाथा क्षेत्रमा चार वटा हिउँ चितुवा रहेको यकीन भएको थियो,” उनी भन्छन्, “अहिले प्रकाशित फोटोले सगरमाथामा हिउँ चितुवा छ भन्ने पुनः पुष्टि भएको छ। संख्याबारे भने यसै भन्न सकिन्न।”
निकुञ्जको अबको योजना हिउँ चितुवाको सघन अनुसन्धान र गणना गर्ने रहेको प्रमुख संरक्षण अधिकृत उपाध्याय बताउँछन्। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका इकोलोजिस्ट तथा प्रवक्ता गणेश पन्त विदेशी मिडियामा आएको हिउँ चितुवाको फोटोले नेपालको प्रवर्द्धनमा सहयोग पुग्ने आशा व्यक्त गर्छन्। फोटोले हिउँ चितुवाको अवस्थितिबारे निश्चितता भएको बताउँदै यसले चितुवाबारे अध्ययनलाई टेवा दिने उनको भनाइ छ।
“नेपालमा शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा रोड्नी ज्याक्सनहरूले गरेको चितुवाको अध्ययनमा नेपालका प्रसिद्ध प्राणीशास्त्री करनबहादुर शाह सहभागी हुनुहुन्थ्यो,” पन्तले भने, “फिल्ड अध्ययन र फोटोमा नेपालीहरू पछि छन् भन्ने होइन, तर यसरी अन्तर्राष्ट्रिय मिडियामा नेपाली वन्यजन्तुबारे सामग्री आउनु राम्रो कुरा हो। यसले सगरमाथा निकुञ्जको प्रवर्द्धनमा पनि सकारात्मक प्रभाव पार्छ।”
नेपालमा हिउँ चितुवाको संरक्षण पुस्तकका सहलेखक प्राणीशास्त्री प्राध्यापक करनबहादुर शाह आफूले २५ वर्षअघि काम गरेको अवस्था र अहिलेको अवस्थामा धेरै परिवर्तन आएको बताउँछन्। “विगतमा घरपालुवा जनावर मार्ने हिउँ चितुवाप्रति स्थानीयको नकारात्मक धारणा रहन्थ्यो। विष हालेर मार्ने गर्थे,” उनी भन्छन्, “अहिले भने स्थिति केही फेरिएको छ। संरक्षणको चेतना तल्लो तहसम्म पुगेको छ।”
अमेरिकी प्राणीशास्त्री रोड्नी ज्याक्सन र डारला हिलियार्डले चार वर्ष लगाएर गरेको अनुसन्धानमा शाह पनि त्यति नै अवधि सहभागी थिए। “त्यही अनुसन्धानमा विश्वमै पहिलो पटक चितुवालाई रेडियो कोलार लगाएर अनुसन्धान गरिएको थियो,” शाह भन्छन्।
हाल चितुवा लगायत प्राणीले बाली र वस्तुलाई क्षति गरेमा राहत दिने व्यवस्था छ। प्राध्यापक शाह वन्यजन्तुको प्रभावकारी संरक्षण गर्न स्थानीयले बेहोरेको क्षतिमा पूर्ण क्षतिपूर्ति दिनुपर्ने बताउँछन्।
कितिया पावोलोब्स्कीको चर्चित फोटोको थप जानकारी र वर्णन त समयक्रममा आउला नै। बेलायती पत्रिका द टाइम्समा पनि प्रकाशित उनको फोटोले विश्वकै ध्यान हिउँ चितुवामा केन्द्रित गरेको छ।