प्रविधिको दुरुपयोग जोखिम
प्रविधिलाई ध्वंस होइन, सिर्जनामा प्रयोग गरिनुपर्ने मान्यता झनै सान्दर्भिक बनेको छ। यी परिवर्तन र जोखिमको लेखाजोखा सहित पुस्तकले प्रविधिबारे चिन्ता र चिन्तन गर्नुपर्नेतर्फ गम्भीर बनाएको छ।
प्रविधिको विकास यात्रामा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अर्थात् कृत्रिम बुद्धिमत्ताको आविष्कार असाधारण घटना हो। समयसँगै कृत्रिम बुद्धिमत्ताले बिस्तारै व्यापकता लिइरहेको छ। करीब एक सय वर्षको अध्ययन–अनुसन्धानपछि मानिसले जस्तै सोच्न सक्ने मशीन बन्न थालेको छ, र भविष्यमा यो मानिसभन्दा बढी बुद्धिमान् हुने निश्चित छ। करीब एक सय वर्षअघि बेलायतका गणितज्ञ र कम्प्युटर वैज्ञानिक एलन ट्युरिङले ‘के मशीनले सोच्न सक्छ?’ भनी प्रश्न गर्दै कृत्रिम बुद्धिमत्ताको थालनी गरेका थिए।
इन्टरनेट क्रान्तिपछिको कालखण्ड मानव इतिहासमा रोचक छ। यही क्रममा चामत्कारिक रूपमा फड्को मारिरहेको कृत्रिम बुद्धिमत्ताको क्रान्तिले खास गरी विश्व व्यवस्थामा कसरी प्रभाव गर्छ भन्ने विषयमा अमेरिकी कूटनीतिज्ञ हेनरी किसिन्जर, गुगलको मातृ कम्पनी अल्फाबेटका कार्यकारी अध्यक्ष एरिक स्मित र कम्युटर वैज्ञानिक ड्यानियल हटनलोकरले संयुक्त रूपमा पुस्तक लेखेका छन्, दी एज अफ एआई एन्ड आवर ह्युमन फ्युचर। पुस्तकले कृत्रिम बुद्धिमत्ताबाट विश्व व्यवस्था र मानव भविष्यमा पर्ने असरबारे कूटनीतिक एवम् प्राविधिक पाटोबाट विमर्श गरिएको छ।
कृत्रिम बुद्धिमत्ताबारे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको भनाइ उल्लेख गर्नु सान्दर्भिक हुन्छ। पुटिनका अनुसार, जसले कृत्रिम बुद्धिमत्ता आविष्कार र प्रयोग सशक्त पार्छ, विश्वको शासक उही बन्छ। यही अभिव्यक्तिको आलोकमा ठूला शक्तिराष्ट्रको अवस्था हेर्दा कृत्रिम बुद्धिको क्षेत्रमा आज तीन वर्ष पछाडि रहेको चीन केही समयपश्चात् संसारकै पहिलो राष्ट्र हुनेतर्फ अग्रसर छ।
फ्रान्सेली वैज्ञानिक एवम् गणितज्ञ रेने डिकार्टको ‘म सोच्छु, त्यस कारण म छु’ भन्ने भनाइले कृत्रिम बुद्धिमत्ताको आधारभूत कुरा बुझ्न सघाउँछ। सोच्ने, भविष्यको योजना बनाउने क्षमताले नै मानवले जीव विकासक्रममा होमो सेपियन्सका रूपमा संसारलाई शासन गरेको छ। लेखकत्रयले पश्चिमी जगत्को दार्शनिक परम्पराबारे पनि लेखेका छन्। पश्चिमको आविष्कार एआईलाई लेखकहरूले पश्चिमी विज्ञान र दर्शनको सन्दर्भमा विवेचना गरेका छन्।
यो पुस्तक कुनै विशेष लेखनभन्दा पनि एआईबारे आम मानिसलाई सुसूचित गराउनु यसको अभिप्राय देखिन्छ। एआईको आविष्कारले औषधि विज्ञान, स्नायु विज्ञान, काम गर्ने शैली, ज्ञानको उत्पादन, युद्धकला, प्रविधि आदिमा क्रान्तिकारी परिवर्तन ल्याइरहेको सन्दर्भमा पुस्तक सान्दर्भिक लाग्छ। कृत्रिम बुद्धिमत्ताको तीव्र विकाससँगै कतिपय विषयमा मानिसमाथि मशीनको जितले यो उत्तर मानवको समय भएको सङ्केत गरेको छ। तर, प्रविधिको यो उन्नत चरणलाई कतिपय विकसित मुलुकहरूले दुरुपयोग गरिरहेका छन्। ठूला टेक कम्पनीहरूले नाफा कमाउन एआईको प्रयोग बढाइरहँदा ‘जासूसी पूँजीवाद’ मौलाएको छ। चीनले अल्पसंख्यक उइगर मुसलमानमाथि दमन गर्न यही प्रविधिको प्रयोग गरिरहेको छ।
प्रविधि संस्कृति बनाउँदै गएको वर्तमान समाजलाई त्यही प्रविधिबाट खतरा हुने चेतावनी वैज्ञानिक स्टिफन हकिङले दिएका थिए। प्रविधिमा विगत सय वर्षमा देखिएको परिवर्तन यसको तीव्र रफ्तारले अबको १० वर्षमै हुन सक्छ। जसले मानव जीवन र व्यवहार, राष्ट्र राष्ट्रबीचको सम्बन्धदेखि विश्व व्यवस्थाकै संरचनामा परिवर्तन ल्याउन सक्नेछ। तसर्थ, प्रविधिलाई ध्वंस होइन, सिर्जनामा प्रयोग गरिनुपर्ने मान्यता झनै सान्दर्भिक बनेको छ। यी परिवर्तन र जोखिमको लेखाजोखा सहित पुस्तकले प्रविधिबारे चिन्ता र चिन्तन गर्नुपर्नेतर्फ गम्भीर बनाएको छ।
पुस्तकः दी एज अफ एआई एन्ड आवर ह्युमन फ्युचर‚ लेखकः लेखकः हेनरी किसिन्जर, एरिक स्मित र ड्यानियल हटनलोकर‚ प्रकाशकः श्याचेटी‚ पृष्ठः २५६‚ मूल्यः भारु.७९९