निर्वाचन नजिकिंदा काठमाडौंमा बढ्यो ट्राफिक जाम
मंसीर ४ गतेको निर्वाचन नजिकिंदै गर्दा काठमाडौं उपत्यकामा सवारी साधनको जाम बढेको छ‚ किन?
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले कात्तिक २९ गते उपत्यकाका मुख्य-मुख्य चोकहरूमा सवारी साधन केही समय पालोमा रोकिनुपर्ने सूचना जारी गर्यो। सूचनामा भनिएको छ- विशेषगरी कोटेश्वर, नयाँबानेश्वर, माइतीघर, थापाथली‚ त्रिपुरेश्वर, कालीमाटी, लैनचौर, केशरमहल, ग्वार्को, गौशाला, चाबहिल र नारायणगोपाल चोकमा सवारी साधन ट्राफिक व्यवस्थापनका क्रममा केही समय रोकिनु पर्नेछ।
पछिल्लो केही दिन यता विगतको तुलनामा उपत्यकामा ट्राफिक जाम बढेको छ। प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा मतदान गर्ने दिन नजिकिएसँगै काठमाडौं उपत्यकाका सडक व्यस्त देखिन थालेको हो।
त्यसो भए निर्वाचन र ट्राफिक जामबीच सम्बन्ध छ त? “छ”‚ काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्रप्रसाद भट्ट भन्छन्। उनका अनुसार‚ ट्राफिक प्रहरी निर्वाचनका लागि खटिंदा ट्राफिक व्यवस्थापन चुस्त हुन नसकेको हो।
उपत्यकामा कार्यरत १३ सय ट्राफिक प्रहरीलाई विभिन्न मतदान केन्द्रमा खटाइएको प्रवक्ता भट्टले जानकारी दिए। उनी भन्छन्, “सडक व्यवस्थापन गर्न १७ सय ट्राफिक प्रहरी उपत्यकामा खटिन्थे‚ अहिले ४०० मात्रै यहाँ छन्।”
उपत्यकाका अहिले हरेक चोकमा तीनदेखि चार जनासम्म म्यादी प्रहरी खटाइएको छ। म्यादी प्रहरी ट्राफिक जस्तो अनुभवी नहुने र चालकले पनि नटेर्ने हुँदा जाम बढेको एक ट्राफिक प्रहरी अधिकृत बताउँछन्।
नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक निरीक्षक टेकप्रसाद राई म्यादी प्रहरीले अपेक्षित ट्राफिक व्यवस्थापन गर्न नसक्नु अस्वाभाविक नभएको बताउँछन्। उनीहरूलाई ट्राफिक नियम सम्बन्धी अभिमुखीकरण गरेर खटाइएको राईले जानकारी दिए।
“म्यादी प्रहरीलाई १० दिनको तालीम मात्र दिइएको छ,” प्रवक्ता राई भन्छन्‚ “ट्राफिक प्रहरीको सम्पूर्ण तालीम पूरा गर्न ४५ दिन लाग्छ।”
विभिन्न नाका हुँदै उपत्यका भित्रिने र बाहिरिने सवारी साधन भने सामान्य तवरले चलिरहेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
सचेतना कक्षा स्थगित
रातो बत्ती तथा सडक लेन उल्लंघन गरेर र मदिरा पिएर सवारी साधन चलाई कारवाहीमा परेका चालकलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय‚ रामशाहपथमा सचेतना कक्षा दिइन्थ्यो। तर‚ निर्वाचनका कारण कात्तिक २७ देखि मंसीर १० गतेसम्म उक्त कक्षा स्थगित गरिएको हो।
सचेतना कक्षा मंसीर ११ गते पुनः सञ्चालन हुने उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता भट्टले जानकारी दिए। उनका अनुसार‚ रातो बत्ती तथा सडक लेन उल्लंघन गरेर र मदिरा पिएर सवारी साधन चलाई कारवाहीमा परेर जफत गरिएका कागजपत्र सचेतना कक्षा लिएपछि मात्र फिर्ता गरिन्छ।