यसरी बाँडफाँड गरिन्छ समानुपातिक तर्फको सीट
‘सेन्ट लग मेथड’ को आधारमा कुन दलले कति सीट प्राप्त गर्यो भन्ने तय गर्छौं। त्यसपछि प्रत्येक दलले प्राप्त गरेका मत परिणामलाई क्रमशः १, ३, ५, ७, ९ आदि (कुल उम्मेदवार संख्या अनुसारको हुने) भाजकहरूले भाग गरिन्छ।
पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको परिणाम निर्वाचन अधिकृत वा मुख्य निर्वाचन अधिकृतको कार्यालयले घोषणा गर्छ। समानुपातिक निर्वाचन प्रणालीतर्फको अन्तिम मत परिणाम सबै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयले काठमाडौंको कान्तिपथस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाउनुपर्छ। सबै मत प्राप्त भएपछि कति मत सदर भयो भन्ने यकिन गरिन्छ। कुल सदर मतमा कुन दलले कति प्राप्त गर्यो भन्ने तालिका बनाउँछौं।
समानुपातिकतर्फ सीट पाउन दलहरूले ‘थ्रेसहोल्ड’ पार गरेकै हुनुपर्छ। प्रतिनिधि सभामा सीट प्राप्त गर्न कुनै पनि दलले कुल सदर मतको तीन वा सोभन्दा बढी प्रतिशत मत ल्याएको हुनुपर्छ।
प्रदेश सभाका लागि भने १.५ वा सोभन्दा बढी मत भए पुग्छ। ‘थ्रेसहोल्ड’ पार गरेका दलहरूको सदर मतलाई यकीन गरेर प्रतिनिधि सभातर्फको ११० र प्रदेश सभातर्फको २२० सीट बाँडफाँड हुन्छ।
'सेन्ट लग मेथड' का आधारमा कुन दलले कति सीट प्राप्त गर्यो भन्ने तय गर्छौं। प्रत्येक दलले प्राप्त गरेको मत परिणामलाई क्रमशः १, ३, ५, ७, ९ आदि (कुल उम्मेदवार संख्या अनुसारको हुने) भाजकहरूले भाग गरिन्छ। त्यसरी भाग गरी प्राप्त हुने नतीजालाई भागफल भनिन्छ। मत परिणामलाई भागफल संख्याले क्रमशः ठूलो भागफलबाट सानो भागफलसम्म बाँडफाँड गरिन्छ।
कुन दलले कति सीट प्राप्त गर्यो भन्ने जानकारी निर्वाचन आयोगले सम्बन्धित दललाई दिनेछ। सम्बन्धित दलले समावेशी समूहको प्रतिनिधित्व हुने गरी तथा संघीय र प्रादेशिक संसद्मा महिला प्रतिनिधि कम्तीमा ३३ प्रतिशत सुनिश्चित हुने गरी नाम पठाउनुपर्छ। लैङ्गिक समावेशिता सुनिश्चित गर्दा पनि अन्य समावेशी समूह छुटाउन भने पाइँदैन। प्रत्यक्ष र समानुपातिकबाट सम्बन्धित कुल कति सांसद जितेको छ, त्यसको आधारमा समावेशी समूहको संख्या निर्धारण हुन्छ। प्रत्यक्षतर्फबाट अपुग भएको समावेशी समूह समानुपातिकतर्फबाट पूर्ति गर्नुपर्ने हुन्छ।
यसरी नाम पठाउँदा आयोगमा दर्ता भएको बन्दसूचीबाट प्राथमिक क्रमको आधारमा पठाउनुपर्नेछ। अघिल्लो नाम सिफारिश नगरेर त्यसपछिको नाम पठाउन पाइँदैन। दलहरूले सिफारिश गरेर पठाएको नामबाट आयोगले विजयी भएको घोषणा गर्नेछ।
(दुवाडी निर्वाचन आयोगका सचिव हुन्।)