रविको प्रवेशले चितवन-२ मा त्रिपक्षीय प्रतिस्पर्धा
स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको प्रवेशले चितवन-२ को चुनावी प्रतिस्पर्धा त्रिपक्षीय बनेको छ।
प्रतिनिधि सभा र प्रदेश सभाको चुनावी माहोल शुरू हुँदै गर्दा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल विरुद्ध उम्मेदवारी दिने घोषणा गरेर राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले चर्चा बटुले। मतदानको केही दिन बाँकी छँदा पनि त्यो क्रम रोकिएको छैन। कात्तिक २७ मै पनि चुनावी प्रचारमा रहेको उनको गाडीमा तोडफोड भएपछि सामाजिक सञ्जालसँगै सञ्चार माध्यममा छाए, लामिछाने।
माओवादी अध्यक्ष दाहाल त चितवन छोडेर गोरखा-२ पुगे। लामिछाने भने चितवन-२ मै उम्मेदवार बनेर चुनावी मैदानमा छन्। उनको उम्मेदवारीले यो क्षेत्रको चुनावी प्रतिस्पर्धालाई रोचक बनाएको छ।
यो क्षेत्रका सदाबहार जस्तै उम्मेदवार हुन्, नेकपा (एमाले)का नेता कृष्णभक्त पोखरेल। दुई पटक निर्वाचित भइसकेका उनी यस पटक पनि प्रतिनिधि सभा सदस्यको उम्मेदवार छन्।
त्यस्तै, सत्तारूढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठ उम्मेदवार छन्। यसअघि समानुपातिकबाट सांसद बनेका श्रेष्ठले यस पटक प्रत्यक्ष प्रतिस्पर्धा रोजेका छन्।
उनीहरूसँगै यो क्षेत्रबाट प्रतिनिधि सभा सदस्यका लागि १६ जना उम्मेदवार प्रतिस्पर्धामा छन् जसमध्ये दुई जना महिला छन्। जनसमाजवार्दी पार्टी नेपालबाट प्रभा त्रिपाठी र स्वतन्त्र उम्मेदवारका रूपमा देविका कुँवर चुनावी मैदानमा छन्।
विगत हेर्दा यो क्षेत्रमा एमाले नै बलियो छ। एमाले उम्मेदवार पोखरेल २०७४ सालको निर्वाचनमा लोकप्रिय मत सहित विजयी भएका थिए। २०७० सालको संविधानसभा निर्वाचनमा पनि उनले सहज जित हासिल गरेका थिए।
गत निर्वाचनमा पोखरेलले ४४ हजार ६७० मत पाएका थिए। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका शेषनाथ अधिकारीले २७ हजार ३१४ मत पाएका थिए। त्यसअघि २०७० सालको संविधानसभा निर्वाचनमा उनले १५ हजार ६६६ मत पाएका थिए। निकटतम प्रतिस्पर्धी कांग्रेसका भीमबहादुर श्रेष्ठले १३ हजार २४१ मत पाएका थिए।
गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनको मतका आधारमा पनि पोखरेल नै अगाडि छन्। यस क्षेत्रका स्थानीय तहका एमालेका वडाध्यक्षका उम्मेदवारले पाएको मत गठबन्धनमा रहेका पाँच वटै दलका उम्मेदवारले पाएको भन्दा बढी छ।
यो क्षेत्र चितवनको प्रमुख बजार, सदरमुकाम तथा पहाडी भूभागसम्म फैलिएको छ। मुग्लिन, नारायणगढ बजार यही क्षेत्रमा पर्छ। कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकासँगै भरतपुर महानगरका वडा नंं १, २, ३, ४, ५, ७, १०, ११, १२ र २९ यो क्षेत्रमा पर्छन्। यो क्षेत्रमा राजमार्ग र आसपासका पहाडी भेगका एक लाख २४ हजार २१५ मतदाता छन्।
स्थानीय निर्वाचनमा कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकामा एमालेले जितेको थियो। भरतपुर महानगरमा माओवादीले जितेको थियो। महानगरका २९ मध्ये १० वडा मात्रै यो क्षेत्रमा पर्छन्।
स्थानीय चुनावमा चितवन-२ मा पर्ने सबै वडामा एमाले एक्लैले प्रतिस्पर्धा गरेको थियो भने सत्तारूढ गठबन्धनबाट तालमेल भएको थियो। वडाध्यक्षका उम्मेदवारले पाएको मत हेर्दा एमालेको ३५ हजार ५४३ छ भने गठबन्धनका पाँचै दलको ३५ हजार ४७४ मत छ। त्यति वेला स्वतन्त्रले उम्मेदवारले ५३७ र अन्य साना दलका उम्मेदवारले दुई हजार ४७८ मत पाएका थिए।
स्थानीय चुनाव भएयताको ६ महीनामा धेरै फेरबदल भएको छ। स्थानीय नेता तथा कार्यकर्ता एक पार्टीबाट अर्को पार्टीमा प्रवेश गरेका छन्। गठबन्धनमा रहेका दल स्थानीय तहको चुनावको वेलाभन्दा अहिले एकजुट जस्तो देखिएका छन् भने एमालेले पनि नेकपा (एकीकृत समाजवादी)मा गएका केही स्थानीय नेता तथा कार्यकर्तालाई पार्टीमा फर्काएको छ। युवा बाहुल्य रहेको स्वतन्त्र पार्टी चुनावी प्रतिस्पर्धामा आएको छ।
तथापि, एमाले उम्मेदवार पोखरेल भन्ने जित्नेमा ढुक्क छन्। चितवनमै जन्मे-हुर्केर राजनीतिमा आएका उनी जनताले आफूलाई विश्वास गर्ने बताउँछन्। फरक राजनीतिक आस्था र विचार राख्नेसँग पनि उत्तिकै परिचित उनी आफ्नो पक्षमा मत तान्न घरदैलोमा व्यस्त छन्। उनी भन्छन्, “मलाई यहाँका बासिन्दाले राम्ररी चिन्छन्, मैले गरेको काम सबैले देखेका छन्। त्यसैले सहजै जित्छु।”
कांग्रेस उम्मेदवार श्रेष्ठ पनि चुनाव जित्नेमा आशावादी छन्। प्रधानमन्त्री शेरबहादुर देउवाका विश्वासपात्र श्रेष्ठले चितवनमा शिक्षा, पर्यटन तथा स्वास्थ्य क्षेत्रमा लगानी पनि गरेका छन्। उनले अब चितवन-२ लाई औद्योगिक हब बनाउने प्रतिबद्धता गरेर घरदैलो अभियान चलाइरहेका छन्। “भाषणभन्दा कामलाई प्राथमिकता दिने आफ्नो स्वभाव भएकाले चितवनको विकासका लागि मतदाताको आशा र भरोसा टुट्न दिन्नँ,” उनी भन्छन्।
गठबन्धनमा रहेका सबै राजनीतिक दलको समन्वयले नै उम्मेदवारी दिन चितवन-२ मा आएको उनको भनाइ छ। गठबन्धनमा रहेका दलको साथले चुनाव जित्न सजिलो हुने उनको विश्वास छ। “कांग्रेस र गठबन्धनमा रहेका दलको मात्रै होइन, यो क्षेत्रका सबै मतदाताले मेरो लगाव, अनुभव र परिपक्वतालाई मत दिनेछन्,” उनी भन्छन्।
युवा र नयाँले मात्र परिवर्तन ल्याउन सम्भव रहेको भन्दै स्वतन्त्र पार्टीका उम्मेदवार लामिछाने पनि जोडतोडले प्रचारमा जुटेका छन्। उनी घरदैलोमा पुग्दा पनि मतदातासँग ‘देशलाई भ्रष्टाचारीका हातमा नदिन’ आग्रह गरिरहेका छन्।
एमाले र कांग्रेसको बलियो संगठन भएको क्षेत्रमा संगठन नै निर्माण नभएको स्वतन्त्र पार्टीका उम्मेदवार लामिछाने मत मागिरहेका छन्। परम्परागत रूपमा एमाले र कांग्रेसलाई मत दिंदै आएका यस क्षेत्रका बासिन्दाले आफूलाई मत दिने उनको विश्वास छ। “युवा र भिजन भएको उम्मेदवार भएकाले चितवन-२ का मतदाताले मलाई विजयी गराउनेछन्,” लामिछाने भन्छन्।
यी तीन प्रतिस्पर्धीबीच चौथो उम्मेदवार छिन्, देविका कुँवर। स्थानीय बासिन्दामाझ परिचित कुँवरले स्वतन्त्र उम्मेदवारी दिएकी छन्। घरदैलो अभियानमा व्यस्त उनी फरकशैलीले प्रचार गरिरहेकी छन्।
उनले आफ्नो प्रचार अभियानलाई खर्चरहित भनेकी छन्। मतदाताको घर घरमा पुग्दा उनले राम्रो प्रतिक्रिया पाइरहेको बताइन्। “यो निर्वाचन क्षेत्रको भूगोल आवश्यकता बुझेर उम्मेदवारी दिएकी हुँ,” कुँवर भन्छिन्, “मतदाताले पनि राम्रो प्रतिक्रिया दिइरहेका छन्, खुशी छु।”
उनी आफैं त चुनाव जित्ने गरीको प्रतिस्पर्धामा देखिंदैनन्, तर उनले पाउने मतले मुख्य प्रतिस्पर्धामा रहेका तीनै उम्मेदवारलाई प्रभाव पार्ने देखिन्छ। उनले काट्ने मतले हारजितमा असर पर्ने आकलन गर्न थालिएको छ।
एमाले र कांग्रेसबीच कडा प्रतिस्पर्धा हुने चितवन-२ मा लामिछानको प्रवेशले चुनावी माहोल रोचक बनेको छ। सामाजिक सञ्जाल, चुनावी सभा र भेटघाटमा देखिएको भीडलाई मतमा बदल्न भने सबै उम्मेदवारलाई सकस नै देखिन्छ।