विनोद चौधरीद्वारा मतदाता फकाउन भोजभतेर, दैनिक चार पटक मासुभात
उद्योगपति विनोद चौधरी नवलपरासी-१ का मतदाता प्रभावित पार्न एक हप्तादेखि भोजभतेर सञ्चालन गरिरहेका छन्।
नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम) निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका चौधरीले बर्दघाट नगरपालिका-७ जिमिरेभारमा भोजभतेर सञ्चालन गरेको स्थानीय बासिन्दाले बताएका छन्। स्थानीय भवानीप्रसाद पौडेलका अनुसार, विगत एक सातादेखि दैनिक एक सय जनाभन्दा बढी व्यक्तिलाई मासुभात खाने व्यवस्था उम्मेदवार चौधरीले मिलाएका हुन्। “एउटा मतदाताले दिनमा चार पटकसम्म मासुभात खाने गरेका छन्,” पौडेल भन्छन्।
स्थानीय बासिन्दासँगै राजनीतिक दलका नेता र अधिकारकर्मीले पनि भोजभतेर भइरहेको गुनासो गरेका छन्। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का नवलपरासी (पश्चिम) प्रतिनिधि नारायण पराजुली भन्छन्, “पश्चिम नवलपरासी-१ बाट कांग्रेसका उम्मेदवार विनोद चौधरीले एक सातादेखि बर्दघाट नगरपालिका-७, जिमिरेभारमा पर्ने त्रिनेत्र अध्यात्म धाममा भोजभतेर चलाएको पाइएको छ।”
निर्वाचन आचारसंहिता विपरीत भोजभतेर गरेको भन्दै जिल्ला निर्वाचन कार्यालयमा उजुरी परे पनि कारबाही नभएको उनी बताउँछन्। पराजुली भन्छन्, “उहाँ विरुद्ध जिल्ला निर्वाचन कार्यालयमा दुई वटा उजुरी परेका छन्, तर उजुरीमाथि सुनुवाइ भएको छैन।”
भोजभतेर गरेको भन्दै नेपाली कांग्रेसका उम्मेदवार चौधरी विरुद्ध उजुरी परेको निर्वाचन अधिकृतको कार्यालयले पनि जनाएकाे छ। जिल्ला निर्वाचन कार्यालय क्षेत्र नम्बर १ का सहायक मतदान अधिकृत तिलक पौडेल भने उजुरीमाथि अनुसन्धान भइरहेको प्रतिक्रिया दिए।
भोट तान्न नि:शुल्क इन्टरनेट
चौधरी समूह (सीजी)का अध्यक्ष समेत रहेका उम्मेदवार चौधरीले मतदातालाई निःशुल्क इन्टरनेट वितरण गरेको उजुरी समेत निर्वाचन कार्यालयमा परेको छ। उनले सीजीको इन्टेरनेट सेवा नि:शुल्क गराएर प्रलोभनमा पारेको स्थानीय बासिन्दाको भनाइ छ।
त्यस्तै, जिल्लाको दक्षिणी क्षेत्रमा केराबाट उत्पादन हुने खाद्यान्नको उद्योग (सीजी स्न्याक्स)को शिलान्यास गरी आफ्नो आर्थिक शक्तिबाट आम मतदातालाई प्रलोभनमा पार्न खोजेको उनीहरूको आरोप छ। यो क्षेत्र केरा उत्पादनका लागि चर्चित छ।
नागरिक समाजका अगुवा बृजराज कुशवाह चौधरीको समूहले निर्वाचन प्रचारप्रसारमा आचारसंहिता विरुद्ध हुने गरी बालबालिकाको प्रयोग गरिरहेको बताउँछन्।
जिल्ला निर्वाचन कार्यालयका मुख्य निर्वाचन अधिकृत खडानन्द तिवारी बालबालिका प्रयोग सम्बन्धी उजुरी दर्ता भएको र त्यसमाथि अनुसन्धान भइरहेको बताउँछन्। तिवारीले भने, “अनुसन्धान प्रक्रिया कहाँ पुग्यो, विस्तृत जानकारी सम्बन्धित शाखाबाट लिनुहोला।”
निर्वाचन आचारसंहिता, २०७९ अनुसार मतदातालाई प्रलोभनमा पार्ने गरी भोज खुवाउन नपाइने तथा चुनाव प्रचारप्रसारमा बालबालिकाको प्रयोगमा निषेध गरिएको छ। यस्तो गरिएको पाइएमा आयोगले कारबाही गर्न सक्नेछ।
यदि बालबालिकाको प्रयोग भएको पाइएमा निर्वाचन आयोग ऐन, २०७३ दफा २३ बमोजिम एक लाख रुपैयाँसम्म जरिवाना र उम्मेदवारी रद्दसम्म हुन सक्छ।
यो क्षेत्रबाट कांग्रेसका चौधरीसँगै राष्ट्रिय प्रजातन्त्र पार्टीका भोजराज ढकाल, नेपाल मजदूर किसान पार्टीका कृष्णगोविन्द खाइजू, जनमत पार्टीका गुलाबप्रसाद चौधरी, मौलिक जरोकिलो पार्टीका गोपाल पोखरेल र जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठीले उम्मेदवारी दिएका छन्।
त्यस्तै, नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी, नेपाल लोकतान्त्रिक पार्टीका धर्म चौधरी, राष्ट्रिय जनमुक्ति पार्टीका हफिजुल्लाह अन्सारी, बहुजन शक्ति पार्टीका काशीलाल चमार, राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेन ठकुरी उम्मेदवार छन्। यसै गरी देवी विक, कृष्णबहादुर कामू मगर, भकबहादुर कामू, सीतादेवी पौडेल, श्रीराम आचार्य, अजय शाही र सुर्जन तिवारीले स्वतन्त्र उम्मेदवारी दिएका छन्।